क्यान्सर जितेका मल्ल कोरोनासँग हारे
स्याङजा : नेपाली कांग्रेस स्याङ्जाका महासमिति सदस्य, पूर्वजिल्ला कोषाध्यक्ष एवं निर्माण व्यवसायी गजिन्द्रप्रकाश मल्लको ७४ वर्षको उमेरमा निधन भएको छ। उनी स्याङजाबाट निर्वाचित गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्लका पीता हुन्। केहीदिनअघि कोरोना संक्रमण पुष्टिपछि पोखरास्थित गण्डकी मेडिकल कलेजको आइसीयूमा उपचाररत उनको मंगलबार निधन भएको हो।
उनकी श्रीमतीको सोही अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्यअवस्था सुधारोन्मुख देखिएको पारिवारिक स्रोतले जनाएको छ। निरंकुश शासन व्यवस्थाविरुद्ध नागरिकका स्वतन्त्रताका पक्षमा आवाज उठाउँदा पटकपटक जेल परेका थिए। तत्कालिन प्रतिवन्धित अवस्थामा पनि कांग्रेसको संगठन विस्तारमा उनको महत्वपूर्ण योगदान छ।
राजनीतिसँगै उनी निर्माण व्यवसायी हुन्। उनी निर्माण व्यवसायी संघ स्याङजाका संस्थापक अध्यक्ष एवं हाल केन्द्रीय सदस्य थिए। उनी २ पटकसम्म जिल्ला विकास समितिको सदस्य भए। नेपाली कांग्रेसका तर्फबाट साविक स्याङ्जा क्षेत्र नं ३ को समानुपातिक उम्मेदवार हुन् उनी।
पछिल्ला डेढ वर्षदेखि उनी शारीरिकरुपमा अस्वस्थ्य थिए। त्यतिबेला क्यान्सर र दुई साताअघि प्रोष्टेट जितेका थिए। तर, अहिले कोरोनासँग भने पराजित भए। मल्लका श्रीमती, ३ छोरा, एक छोरी र नाती नातिना छन्।
साविक सेखाम गाउँ विकास समिति हाल चापाकोट नगरपालिका ५ स्थित उनको जन्मथलो हो। प्रजातन्त्रको वहालीपछि २०४६/२०४७ पछि सपरिवार उनी पुतलीबजार नगरपालिका १ स्थित प्रगतीनगरमा बस्दै आएका थिए।
नेपाली कांग्रेसको निष्ठावान, कर्तव्यनिष्ठ एवं कर्मठ योद्धाको निधनले आफूलगायत सिंगो कांग्रेस पार्टीलाई दु:खी र अपूरणीय क्षति पुगेको स्याङजा कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार)ले प्रेस विज्ञप्तिमार्फत जानकारी गराए।
उनको स्याङ्जाको रामनदीधाम राम्दीस्थित कालीगण्की नदी किनारमा बुधबार बिहान हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको छ।