पर्वतमा निषेधाज्ञा जेठ १५ सम्म लम्बियो
कुश्मा : कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय पर्वतले लागू गरेको निषेधाज्ञा थप एक हप्ता लम्बिएको छ । जिल्लाको कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिस अनुसार जेठ १५ गते सम्म निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्रीले जानकारी दिइन् ।
राष्ट्रिय गौरवका आयोजना र सार्वजनिक विकास निर्माणका आयोजनाहरुको काम भने निषेधाज्ञामा नरोकिने भएको छ । अत्यावश्यक सेवा २४ सै घण्टा खुल्ला हुने भएपनि बजार पसल दिनको २ घण्टा मात्रै खुल्ला हुने भएको छ । बिहान ७ देखि ९ बजेसम्म पसलहरु खोल्न पाईने भएको छ । अत्यावश्यक सेवाका सरकारी कार्यालय बाहेक सबै बन्द गरिने भएको छ ।
बैँक तथा वित्तिय संस्था समेत निषेधाज्ञामा बन्द गरिएको छ । सर्वसाधारणलाई घरबाहिर नडुल्न, स्वास्थ्यका मापदण्ड पालना गर्न, भौतिक दुरी कायम गर्न प्रशासनले अनुरोध गरेको छ । पर्वतमा दिनदिनै कोरानो संक्रमण बढ्दो क्रममा छ ।
विद्यालय, सिनेमा, सार्वजनिक समारोह, विवाह, व्रतबन्ध, चौरासी पूजा सबै रोकिएको छ । मठमन्दिर, गुम्वा, मस्जिदमा हुने प्रार्थना, पूजापाठहरु निषेधाज्ञा अवधिमा बन्द रहेका छन् ।
जिल्लामा मध्यपहाडी लोकमार्ग, कालीगण्डकी लोकमार्ग र मोदी लेखनाथ विद्युत प्रसारण आयोनजाको निर्माण कार्य भइरहेको छ । यी मध्ये दुई वटा गौरबका आयोजनाका सडकहरुको निर्माण कार्य तीव्र गतिमा छ ।
मुख्य गरी मध्यपहाडी लोकमार्गमा निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ । उता, कालीगण्डकी लोकमार्गमा पनि निर्माणको काम भइरहेको छ । यी सवै आयोजनाहरुमा काम नरोकिने भएको प्रजिअ खत्रीले बताइन् ।
यसैगरी जिल्लामा विभिन्न सडकहरुमा पूर्वाधार विकास कार्यालयले पनि सडक निर्माणको काम भने स्थानीय तह र अन्य कार्यालयहरु मार्फत पनि पूर्वाधार विकासको काम भइरहेको छ । सबै आयोजनाहरुमा पूर्वाधार निर्माणको कामलाई गति दिने गरी समन्वय गरिने प्रशासन कार्यालयले उल्लेख गरेको छ ।