तेस्रो लहरको तयारी
लकडाउनमा पनि संक्रमित निस्फिक्री गाउँघर, जंगल, धारापँधेरा घुमिरहेका छन्। गाडी चल्न मात्र रोक छ भीड, भेला, भोजभतेरमा रोक छैन। काफल पाक्ने समय र यार्सागुम्बा टिप्ने समय भएकाले सयौंको संख्यामा जंगल जंगलमा छन्। बाग्लुङको बलेवा क्षेत्रमा वैशाखमा मात्र दुई दर्जन विवाहका भोज भए। त्यस्तै ८४ पुजा, रुद्री, सत्यनारायण, पोखरी र वरपीपल बिहे पनि भए।
गोरखा, तनहुँ, पर्वतका विभिन्न स्थानमा समेत जन्ती आउने र जाने पनि निषेधाज्ञालाई तोड्दै प्रशस्तै भए। देशभर नै २५ भन्दा बढी जम्मा पारेकोमा पक्राउ गरिए पनि जात्रा र भोजभतेर रोकिएनन्। जलजलामा भोज खाएका ६ जनाको मृत्यु भइसकेको छ जसमा चार जना एकै घरका छन्। लकडाउन, भीड, भोजभतेरले नै गाउँ र घरघरमा कोरोना लगेको छ। लकडाउन भए पनि आवागमन तथा जमघटमा ५९ प्रतिशतले मात्र कम भएको छ।
भेन्टिलेटर नचाहिने गम्भीर निमोनिया भएकामध्ये ८० प्रतिशत र भेन्टिलेटरमा रहेका २० प्रतिशतसम्म निको भइरहेका छन्। बिरामीको उमेर नहेरी लक्षण हेर्दै छातीको एक्सरे रिर्पाेटमा दाग देखिए उपचार प्रक्रिया सुरु गर्नुपर्छ।
हेल्पलेस हुँदै हेल्थवर्कर्स
युद्धमा खटिएका सिपाही अर्थात् महामारीमा स्वास्थ्यकर्मीहरू बिरामीको जीवन र मृत्युबीचको लडाईंको प्रत्यक्षदर्शी बन्नुपर्दा स्वास्थ्यकर्मीलाई अत्यास लाग्छ। बिरामीको ज्यान जोगाउन नसकेकोमा केही धुरुधुरु रुन्छन् पनि। अस्पतालका यस्ता दृश्यले स्वास्थ्यकर्मीलाई कमजोर, निराश र हतोत्साहित बनाउँछ। हरेक कोशिस गर्दागर्दै फलको आस नकारात्मक आउँदा दुःखी हुन्छन्। त्यसैमा कोभिडले युवा जमातलाई नै समस्या र मृत्यु दिँदा थप चिन्ता बढाएको छ। कोभिड महामारीका बेला बिरामीलाई भर्ना लिन नसकेको, आफैंलाई संक्रमण सर्ला कि बिरामीको छटपटी, बिरामीको मृत्यु र आफ्नो पेसा र भविष्यप्रतिको पीरले चिन्ता बढेको छ। हेल्पलेसले तनाव, चिन्ता, अनिद्रा, डिप्रेसनका लक्षण बढ्दै छन्। काम गर्ने क्षमतामा प्रश्न उठने यो पेसामा योग्य छैन कि भन्ने विचार बढ्दैछ। त्यसो त पहिलो चरणको कोभिडबाट पनि नेपालमा ४० प्रतिशत स्वास्थ्यकर्मीमा एन्जाइटी, डिप्रेसन र धेरैमा पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर थियो।
कोभिडको दोस्रो लहर
दोस्रो लहरले छोटो समयमै पहिलोले भन्दा बढी तीब्रता लिएको छ। संक्रमणमा मात्र नभई अस्पताल भर्ना हुने र मृत्यु हुनेको ग्राफ पनि अप्रत्याशित रूपमा छ। कोरोनाले आफूलाई पूर्ण तयार र थप शक्तिशाली बनाई भारतमा विध्वंश मच्चाउँदै नेपालमा प्रवेश गरिसकेको छ। पहिलो निसानामा नेपालगन्ज परी कोरोनासँग लड्ने सिपाही—स्वास्थ्यकर्मी मात्र होइन हतियारको औषधि, अक्सिजन समेतको अभाव देशभर नै उदागीएको छ।
पहिलो लहरमा संक्रमित युवा नै बढी भए पनि अस्पताल भर्ना र मृत्यु ६० वर्षमाथिका दीर्घरोगीको थियो भने अहिलेको भर्ना विशेषत ३० देखि ५० वर्षका युवा जमातको छ र स्वाभाविक मृत्यु पनि। निषेधाज्ञा सुरु हुन पहिले नै कोरोना परिवारभित्र पसिसकेको देखिन्छ जबकि पहिलोमा लकडाउनपछि बिस्तारै उचाई लिएको र लकडाउन सकिएपछि बिस्तारै परिवारभित्र प्रवेश गरेको थियो। पहिलोमा सदस्यहरू धेरैजसो संक्रमित देखिँदैनथे भने हाल बढी संक्रामक भाइरसका कारण अधिकांश सदस्यहरू संक्रमित देखिन्छन्। तसर्थ परिवारका सदस्यबीच पनि धेरै समयसँगै नबिताउन तथा एक अर्कासँग कुरा गर्दा मास्कको प्रयोग गर्न जरुरी छ।
तेस्रो लहरमा बालबालिका
कोरोना नेगेटिभ देखिएका काठमाडौंका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बाल अस्पतालको पीआईसीयुमा भर्ना भए। तैपनि पुनः पीसीआर गर्दा पोजेटिभ देखियो। उपचारकै क्रममा चैत्र २८ गते मृत्यु भयो। पाँच दिनसम्म १०४ डिग्री ज्वरो, झाडाबान्ता र खोकी लागे कतिपयमा निला दागहरू, नाक र मुखबाट रगतलाई सामान्य र मौसमी रुघाखोकी भन्दै लापरवाह नगरी कोरोना हुनसक्छ भन्दै शंका गर्न जरुरी छ।
तेस्रो लहर छिट्टै अक्टोबर/नोभेम्बरमा आई डिसेम्बरमा जान सक्ने भएकाले अहिलेदेखि नै तयारी नगरे दोस्रोजस्तै सम्हाल्न सक्दैनौं। कोरोनाको पहिलो लहरमा दुई प्रतिशत कम, दोस्रो लहरमा १० प्रतिशत बढी बालबालिकाको हिस्सा छ। पहिलो लहरमा बुढापाका, दोस्रो लहरमा युवा बढी प्रभावित भएजस्तै तेस्रो लहरमा खोप नलगाएका र बालबालिका बढी प्रभावित हुने भएकाले त्यसको रोकथाममा घर, समुदाय र विद्यालयमा ध्यान दिन, जिल्ला तथा केन्द्रिय अस्पतालमा बालबालिकाका लागि शैया एचडीयु र आईसीयु स्थापना तथा दक्ष जनशक्ति तयार गर्न ढिलो भइसकेको छ।
राजनीतिक, सामाजिक र आर्थिकलगायत सबै क्षेत्रले संयम तोडेर दोस्रो लहर ल्याएजस्तै दोस्रो लहर कम भएर सामान्यतर्फ जान थालेपछि विद्यालय खुल्दा संक्रमणको समस्या निम्तिन्छ। खोपको पहुँचता पनि पुगेको हुँदैन। समुदायमा सबै वा ६० प्रतिशतलाई खोप दिँदा पनि बच्चा जोगिन्छन्। बच्चामा इम्युनिटी त्यसै पनि कम हुन्छ, हालसम्म बच्चामा कुनै खोप छैन। कोभ्याक्सिन खोप दुईदेखि १८ वर्षकोमा क्लिनिकल ट्रायल चल्दैछ। तथापि फाइजरको खोप १२ देखि १५ वर्ष उमेरसम्मका लागि सुरु भयो जुन नेपालमा तत्कालै आउने सम्भावना देखिँदैन।
बेलैमा उपचार पाए सबै निको
मृत्यु भएका अधिकांश संक्रमित लक्षण देखिँदादेखिँदै पनि ढिलो गरी स्वास्थ्यकर्मी तथा अस्पतालको सम्पर्कमा पुग्नेहरू छन्। समयमै उपचार पाएका कोरोना भाइरस संक्रमितहरू जुनसुकै प्रकारका निमोनिया भएका के जेष्ठनागरिक के दीर्घरोगी अधिकांश निको भइरहेका छन्। सास फेर्न गाह्रो भए, ज्वरो सय डिग्री बढी भइरहे, अक्सिजनको मात्रा ९२ प्रतिशतभन्दा कम भए वा धेरै तलमाथि भइरहे तुरुन्त चिकित्सकीय सल्लाह जरुरत पर्दछ।
आज पनि संक्रमितमध्ये ८० प्रतिशत बढीमा सामान्य लक्षण छ र घरमै उपचार सम्भव छ। १५ प्रतिशत मध्यमस्तरका छन् र अस्पताल आवश्यक पर्छ। पाँच प्रतिशतलाई आईसीयुमा भर्ना गर्ने खालका देखिएका छन्। सामान्य समस्या भएकाहरू अनावश्यक औषधि र उपचार प्रक्रियामा नअल्झी स्वास्थ्यकर्मीको सल्लाहबमोजिम घरमै प्रशस्त तातो झोलिलो खाना खाए राम्रो निद्रा र तनावरहित अवस्थामा बसे निको हुन्छन्। निको हुन सामान्य निमोनिया भएकाले घरमै चिकित्सकीय सहयोग पाए पाँचदेखि सात दिन, मध्यमस्तरको निमोनिया भए ८ देखि १० दिन र गम्भीर निमोनिया भएकामध्ये ६० प्रतिशतमा १० देखि १२ दिनमा तथा अन्य ४० प्रतिशतलाई तीनदेखि पाँच साता लाग्दछ।
भेन्टिलेटर नचाहिने गम्भीर निमोनिया भएकामध्ये ८० प्रतिशत र भेन्टिलेटरमा रहेका २० प्रतिशतसम्म निको भइरहेका छन्। बिरामीको उमेर नहेरी लक्षण हेर्दै छातीको एक्सरे रिर्पाेटमा दाग देखिए उपचार प्रक्रिया सुरु गर्नुपर्छ। ढिलो अस्पताल जाने तथा घरमै अक्सिजन लिनेहरूमा जटिलता र मृत्यु छ। अन्तमा, स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा भर्ना गर्न नसकिने सरकारले जनायो। सरकारले हात उठाउनु जति गैरजिम्मेवारी थियो। त्यत्ति नै आपत्तिजनक थियोे। जोगिने आफैं हो भन्दाभन्दै संक्रमित भइहाले सरकार छ भन्ने ढाडसको जरुरी छ, संकटका बेला सरकारले दायित्वप्रति पीठ फर्काउन मिल्दैन। जतिसुकै अँध्यारोका बीचमा पनि उज्यालो देखाउनु पर्छ।
(बुढाथोकी नेपाल चिकित्सक संघका कोषाध्यक्ष हुन्।)