राउटेको कोरोना परीक्षण : ‘सबैको रिपोर्ट नेगेटिभ’
दैलेख : कर्णालीका जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका नागरिकको कोरोना संक्रमण परीक्षण गरिएको छ। कोरोना संक्रमण फैलनसक्ने सम्भावना देखिएकाले उनिहरुको संक्रमण परीक्षण गरिएको हो। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी भए पनि राउटेले पालना गर्दैनन्।
उनीहरुलाई खाद्यान्नको जोहो गर्न अहिले पनि विभिन्न र गाउँ र बजार डुलिरहनुपर्ने बाध्यता छ। कोरोना संक्रमणको आशंकमा राउटेको परीक्षण गरिएको हो।
सुर्खेतको गुर्भाकोट नगरपालिका-११ आपसोती जनैघाटस्थित भेरी नदी किनारमा बसोबास गर्दैै आएका राउटेमध्ये ११ जनाको कोरोना परीक्षण गरिएको हो। राउटेलाई स्थायी बासिन्दाको सरकारी प्रमाणपत्र दिएको गुराँस गाउँपालिकाका स्वाथ्यकर्मीको टोलीले बस्तीमै पुगेर कोरोना परीक्षण गरेको हो।
अघिल्लो साता मात्रै राउटे युवा शिवराज शाहीको निधनपछि राउटे समुदायमा पनि कोरोना संक्रमण फैलिएको आशंका गरिएको थियो। राउटे समुदायमा हुने हरेक गतिविधिमा अगुवाई गर्दै आएका शिवराज २०७६ जेठ ५ देखि ११ गतेसम्म सञ्चालन भएको काठको निर्माण सम्बन्धी तालिममा सक्रियता पूर्वक सहभागी थिए।
राउटे समुदायका अगुवा समेत रहेका शिवराजको मृत्युपछि सामाजिक विकास मन्त्रालय, गुर्भाकोट नगरपालिका, सोसेक दैलेख र गुराँस गाउँपालिकाको संयुक्त प्रयासमा परीक्षण गरिएको हो। एन्टिजेट विधिबाट कोरोना परीक्षण गराएका सबैको रिपोर्ट नेगेटिभ आएको गुराँस गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक निराजन विष्टले जानकारी दिए।
४६ परिवारलाई खाद्यन्न
राउटेको कोरोना परीक्षणसँगै खाद्यान्नसमेत सहयोग गरिएको छ। सोसेक दैलेखले खाद्यान्न सहयोग गरेको हो। निषेधाज्ञाको समयमा राउटेलाई खाद्यान्नको अभाव नहोस् भन्ने उदेश्यले खाद्यान्न सहयोग गरिएको हो।
अहिले राउटे बस्तीमा ४६ परिवारका एक सय ४३ संख्या छ। प्रतिपरिवार एक बोरो चामल, तेल, दाल र खुर्सानी वितरण गरिएको सोसेक दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले जानकारी दिए। खाद्यन्नसहित राउटे नागरिकहरुलाई कोरोना संक्रमणबाट बच्नका लागि स्वास्थ्य सामग्री मास्क, सेनीटाइजरसमेत वितरण गरिएको संस्थापक अध्यक्ष थापाले बताए।
राउटे नागरिकलाई खाद्यान्न वितरण गरिँदै। तस्बिर : हिक्मतबहादुर नेपाली।