जनता आवासको रकम भुक्तानी नपाउँदा ऋणको भारी
जाजरकोट : सरकारले गरिबलाई जनता आवास कार्यक्रममार्फत घर बनाउन लगाएर पैसा नदिएपछि उनीहरु थप ऋणको भारी बोक्न बाध्य छन् । घर बनाएको एक वर्ष बितिसक्दा पनि रकम भुक्तानी नदिएपछि जनता आवास कार्यक्रममा छनोटमा परेका विपन्न परिवार समस्यामा परेका हुन् ।
‘साहु ऋण गरेर जेनतेन घर बनायौँ तर सरकारले दिने भनेको रकम दिएन । ऋणको ब्याज बढेको बढ्यौँ छ’, भेरी नगरपालिका १३ कुदुकी विमला विकले भनिन्, ‘साहु काढेर घर बनाएँ तर रकम भुक्तानीका लागि कार्यालय धाउँदा धाउँदा वर्ष दिन बित्यो अझै पाइएको छैन । साहुले पैसा मागेको माग्यै छन् । आफूसँग पैसा छैन कसरी तिरुँ ?’
उनले पहिलो र दोस्रो किस्ता गरेर एक लाख ८४ हजार आठ सय रुपैयाँ भुक्तानी पाएकी छन् । उनले तेस्रो र अन्तिम किस्ता बापत पाउनु पर्ने एक लाख ५१ हजार दुई सय रुपैयाँ पाउन सकेकी छैनन् ।
भेरी नगरपालिका ४ बोहराकी सरस्वती मल्लले पनि जनता आवास कार्यक्रमले दिने भनेको तेस्रो र अन्तिम किस्ताको रकम नपाएको गुनासो गरिन् । घर थिएन । सरकारले घर बनाइदिने भयो भनेर हामी निकै खुसी भएका थियौँ तर सबै रकम भुक्तानी नदिँदा आफूहरु समस्यामा परेको गुनासो गर्दै भनिन्, ‘कार्यालयले देला र तिरौला भनेर छिमेकीसँग ब्याज तिर्ने गरेर लिएको ऋण अहिलेसम्म तिर्न सकिएको छैन । ब्याज बढेको बढ्यै छ । अहिलेसम्म रकम भुक्तानी पाएका छैनौँ ।’
उनीहरु जस्तै गत आर्थिक वर्षमा जनता आवास कार्यक्रममार्फत घर बनाएका जाजरकोटका सबै एक सय ७३ परिवारको हालत र अवस्था उस्तै छ । सुरुमा संघीय सरकारले सहरी विकास मन्त्रालयमार्फत सुरु गरेको यो कार्यक्रमपछि प्रदेश मातहतको भौतिक पुर्वाधार विकास मन्त्रालयको जिम्मा लगाएपछि कार्यक्रम अलपत्र परेको हो ।
प्रदेश सरकारले बजेट विनियोजन नगर्दा विपन्न वर्गले रकम भुक्तानी पाउन नसकेका हुन् । आर्थिक वर्ष ०६६/६७ मा पूर्वाधार विकास कार्यालयमार्फत घरबारविहीन विपन्न दुई सय परिवारका घर बनाउने भनेर जनता आवास कार्यक्रम सुुरु गरिएको हो ।
कार्यालयका अनुसार त्यसमध्ये २७ परिवार सम्झौता गर्न नआएपछि एक सय ७३ परिवारले घर बनाउन सम्झौता गरेका थिए । सम्झौता गरेका सबै परिवारले घर निर्माण सम्पन्न गरिसकेको कार्यालय प्रमुख इन्जिनियर प्रविण कार्कीले बताए ।
उनका अनुसार १० परिवारले अहिलेसम्म कुनै रकम भुक्तानी लिएका छैनन् । एक सय ६३ परिवारले पहिलो र ६५ परिवारले दोस्रो किस्ता वापतको रकम भुक्तानी लिइसकेका छन् । उनले सबैलाई भुक्तानी दिन करिब साढे तीन करोड रुपैयाँ आवश्यक पर्ने बताए।
पहिलो किस्ता बापत ८४ हजार, दोस्रो किस्ता एक लाख ८ सय, तेस्रो किस्ता एक लाख १७ हजार ६ सय र अन्तिम किस्ता ३३ हजार ६ सय गरेर जम्मा तीन लाख ३६ हजार भुक्तानी दिने गरी सम्झौता भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
जनता आवास कार्यक्रमको नाममा जनतालाई थप ऋणको भारी बोकाउने काम भएको बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए । रकम भुक्तानीका लागि सम्बन्धित निकायमा अनुरोध गर्दा पनि सुनुवाइ नभएको उनले बताए ।