भक्तपुरका १० हजार ५९५ जनालाई कोरोनाविरुद्धको खोप दिइँदै

भक्तपुर : भक्तपुरका ६० देखि ६४ वर्ष उमेर समूहका १० हजार ५९५ जनालाई कोरोना भाइरसविरुद्धको खोप दिइँदैछ । चीन सरकारले सहयोगस्वरुप दिएको भेरोसेल खोपको पहिलो मात्रा उक्त उमेर समूहलाई दिन लागिएको हो ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार मंगलबार र बुधबार दुई सञ्चालन हुने खोप कार्यक्रममा जिल्लाका ४ नपाका उक्त संख्यालाई भेरोसेल खोप दिइनेछ । कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुरका ४ नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमि नपाका २ हजार ९१९ जनालाई भेरोसेल खोपको पहिलो मात्रा दिइने जानकारी दिए । उक्त खोप दिन मध्यपुर थिमि नपाका ९ वटै वडामा खोप केन्द्र निर्धारण गरिसकिएको छ । जसअनुसार वडा नं १ स्थित बीपी नेत्र प्रतिष्ठान, वडा नं. २ स्थित महेन्द्र आधारभूत विद्यालय, वडा नं. ३ स्थित वडा कार्यालय र वडा नं. ४ स्थित बालकुमारी स्वास्थ्य चौकीमा खोप केन्द्र तोकिएको मध्यपुर थिमि नपाले जनाएको छ ।
त्यस्तै वडा नं. ५ स्थित भुलाँखेल, वडा नं. ६ स्थित ठिमी स्वास्थ्य चौकी, वडा नं. ७ नगदेश स्वास्थ्य चौकी र वडा नं. ९ स्थित बोडे स्वास्थ्य चौकी र निकोसेरा सहरी स्वास्थ्य केन्द्रमा खोप केन्द्र निर्धारण गरिएको छ ।
मध्यपुर थिमि नपापछि भक्तपुरका २ हजार ९०२ जना ६० देखि ६४ वर्षकाले भेरोसेल खोप लगाउनेछन् । भक्तपुर नपामा पनि यहाँका १० वटै वडामा खोप केन्द्र तोकिएका छन् । उसले यसअघि भेरोसेल खोपको दोस्रो मात्रा दिन निर्धारण गरिएको खोप केन्द्रलाई नै निरन्तरता दिएको छ ।
जसअनुसार भक्तपुर नपाले वडा नं. १, २, ३, ४ र ५ का लागि क्रमशः भक्तपुर बहुमुखी क्याम्पस, जनज्योति पुस्तकालय, पद्म मावि, तालाक्व र वडा कार्यालयमा खोप केन्द्र व्यवस्थापन गरेको छ ।
त्यस्तै वडा नं. ६ देखि १० सम्मको लागि क्रमशः ख्वप कलेज, माहेश्वरी मन्दिर, ख्वप इञ्जिनियरिङ कलेज, दत्तात्रय आधारभूत विद्यालय र कमलविनायक बक्सिङ प्रशिक्षण केन्द्रमा खोप केन्द्र तोकिएका छन् ।
सूर्यविनायक नपाले भने २ हजार ७४७ जनालाई खोप दिनेछ । उसले आफ्ना १० वटा वडाका लागि ९ वटामात्रै खोप केन्द्रको व्यवस्थापन गरेको छ । नपाका अनुसार १ वडाको लागि सिरुटार स्वास्थ्य चौकी, २ वडाको लागि बालकोट स्वास्थ्य चौकी, ३ वडाको लागि नगर स्वास्थ्य केन्द्र बालकोट, ४ वडाको लागि नगरपालिका अस्पताल र ५ तथा ६ वडाको लागि कटुञ्जे स्वास्थ्य चौकीमा खोप केन्द्र तोकिएका छन् ।
त्यस्तै ७ वडाको लागि गुण्डु स्वास्थ्य चौकी, ८ वडाको लागि सिपाडोल स्वास्थ्य चौकी, ९ वडाको लागि नंखेल स्वास्थ्य चौकी र १० वडाको लागि चित्तपोल स्वास्थ्य चौकीमा खोप केन्द्र व्यवस्था गरिएको नपाका स्वास्थ्य शाखा प्रमुख बसन्त चापागाईं जानकारी दिए ।
भक्तपुरका ४ नपामध्ये सबैभन्दा कम चाँगुनारायण नपाले २ हजार २७ जना ६० देखि ६४ वर्ष उमेरकालाई खोप दिनेछ । यसको लागि उसले आफ्ना ९ वटै वडामा एकएकवटा खोप केन्द्रको व्यवस्थापन गरेको छ ।
जसअनुसार १ वडाको लागि दुवाकोट स्वास्थ्य चौकी क, २ वडाको लागि दुवाकोट स्वास्थ्य चौकी ख, ३ वडाको लागि झौखेल स्वास्थ्य चौकी, ४ वडाको लागि नगरपालिका अस्पतालमा खोप केन्द्र निर्धारण गरिएको छ ।
त्यस्तै ५ वडाको लागि छालिङ स्वास्थ्य चौकी, ६ वडाको लागि नगरकोट स्वास्थ्य चौकी, ७ वडाको लागि वागेश्वरी स्वास्थ्य चौकी, ८ वडाको लागि सुडाल स्वास्थ्य चौकी र ९ वडाको लागि ताथली स्वास्थ्य चौकीमा खोप केन्द्र तोकिएको नपाले जनाएको छ ।
४८ हजार २२ ले लगाए भेरोसेलको पूरा मात्रा
यसअघि भक्तपुरका ४८ हजार २२ जना १८ वर्षमाथिकाले चीन सरकारले नै सहयोगस्वरुप दिएको भेरोसेल खोपको पूरा मात्रा लिइसकेका छन् । जसमा भक्तपुर नपाले १६ हजार ११८, सूर्यविनायकले १२ हजार ४५०, मध्यपुर थिमिले ११ हजार ३१५ र चाँगुनारायण नपाले ८ हजार १३९ जनालाई भेरोसेल खोपको पूरा मात्रा दिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख मिजारका अनुसार भक्तपुरबाट कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र नेपाल विद्युत प्राधिकरण तथा नेपाल टेलिकमका कर्मचारी गरी ५ हजार ५७५ जनाले कोभिशिल्ड खोपको पूरा लगाइसकेका छन् ।तर कोभिशिल्ड खोपकै पहिलो मात्रा लिएका ७४ वर्ष माथिका ५ हजार ८२७ भक्तपुरवासीले दोस्रो मात्रा लगाउन नपाएको मिजार बताउँछन् ।
प्रतिक्रिया दिनुहोस !
