गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस नेता पोखरेलको दाबी
पोखरा : गण्डकीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुखकहाँ दाबी पेस गरेका छन्।
माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा तथा एकजना स्वतन्त्र सांसदको हस्ताक्षरसहित उनी प्रदेश प्रमुखकहाँ गएका हुन्।
पोखरेलले जनमार्चाका २, जसपाका २, माओवादीका ११, कांग्रेसका १५ र एक स्वतन्त्रको समर्थन आफूलाई रहेको दाबीसहित मुख्यमन्त्रीमा आफूलाई नियुक्त गर्न दाबी पेस गरेका हुन्। ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन्। मनाङका राजीव गुरुङ एकमात्र स्वतन्त्र सांसद हुन्।
पोखरेललाई मुख्यमन्त्री बनाउने दाबीमा जनमोर्चाका सांसद कृष्ण थापा भने सहभागी छैनन्। उनलाई पार्टीले कारबाही गरेको पत्र शुक्रबारै प्रदेश सभामा सभामुख नेत्रनाथ अधिकारीले पढेर सुनाएका थिए। यसअघि पनि जनमोर्चाले थापालाई २० जेठमा कारबाही गरेको भन्दै सभामुखले सांसद पदबाट उनी मुक्त भएको जानकारी सभालाई गराएका थिए। त्यसविरुद्ध थापाले हालेको रिटमा सर्वोच्चले उनलाई पुनर्बहालीको अन्तरिम आदेश गरेको छ। उक्त मुद्दाको अन्तिम किनारा लागेको छैन।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राखेको विश्वासको मत प्रदेश सभामा बिहीबार असफल भएको थियो। उनको पक्षमा २७ र विपक्षमा ३० मत परेको थियो। शुक्रबार प्रदेश सभाले उक्त जानकारी प्रदेश प्रमुखलाई गराएको थियो। प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्ति गर्ने प्रयोजनका निम्ति २९ गते ३ बजेभित्र आउन प्रदेश सभा सदस्यका नाममा आह्वान गरेकी थिइन्।