मुख्यमन्त्री नियुक्ति नपाएपछि प्रदेश प्रमुखकहाँ ३१ सांसदको धर्ना
पोखरा : प्रदेश सभाका बहुमत ३१ सांसदको समर्थनसहित दाबी गर्दासमेत मुख्यमन्त्रीको नियुक्ति नभएको भन्दै गण्डकी प्रदेश प्रमुखको निवासअघि विपक्षी सांसदहरु धर्ना बसेका छन्। कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले शुक्रबार मुख्यमन्त्रीको दाबी पेस गरेका थिए।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमतको समर्थनसहित मुख्यमन्त्रीको दाबी गर्न आउन शनिबार ३ बजेसम्मको समय दिएका थिइन्। उक्त समय सकिँदा पनि नियुक्ति नपाएको भन्दै कांग्रेस, माओवादी, जसपा र जनमोर्चाका सांसद धर्ना बसेका हुन्।
तर एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेरि मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष दाबी गरेका छन्। उनले जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समेत साथ रहेको पत्रसहित दाबी प्रस्तुत गरेका हुन्।
जनता समाजवादी पार्टीको गण्डकी प्रदेश कमिटीले गुरुङलाई आफ्ना सांसदको समर्थन रहेको पत्र दिएको छ भने जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले पनि उनैलाई समर्थन गरेका छन्। गुरुङको पार्टी एमालेसँग २७ सांसद छन् भने जनमोर्चाका ३ र जसपाका २ सांसद छन्। यद्यपि जनमोर्चाका २ र जसपाका २ सांसद हिजो नै प्रदेश प्रमुखकहाँ भौतिक उपस्थितिसहित कांग्रेस संसदीय दलका नेतालाई आफूहरुको समर्थन रहेको भनी हस्ताक्षर बुझाएका छन्।
प्रदेश प्रमुख सीताकुमारी पौडेलको आह्वान अनुसार हिजो नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभाका बहुमत ३१ सांसदको समर्थन रहेको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। उनी ३१ जना नै सशरीर प्रदेश प्रमुखकहाँ पुगेका थिए। पौडेलले अध्ययन गरी बोलाउने जवाफ दिएकी थिइन्।
प्रदेश सभामा सबैभन्दा ठूलो दल एमालेको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त गुरुङले २७ गते विश्वासको मत सम्बन्धी राखेको प्रस्ताव अस्वीकृत भएको थियो। ६० प्रदेश सभाका २७ सांसदले उनलाई मत दिए भने ३० जना विपक्षी उभिए। १ जना तटस्थ रहे। १ जना उपस्थितै भएनन्।