विराटनगरमा बाढीको विपद न्युनीकरणको तयारी वडास्तरबाटै
विराटनगर: २०७४ साउन २८मा अविरल वर्षासँगै आएको बाढीबाट मोरङका अधिकांश स्थानीय नराम्ररी प्रभावित भए ।
१९ स्थानीय तह भन्दा बढी प्रदेश १को एक मात्र महानगरपालिका विराटनगरमा क्षति भएको थियो । विराटनगर महानगरपालिकामा ५ हजार ४ सय ३६ वटा घर पूर्ण रुपमा क्षति भएका थिए ।
ठूलो धनजनको क्षति भएको मोरङमा बाढीबाट झण्डै दुई दर्जनको मृत्यु भएको थियो । अचानक आएको बाढीले ठूलो क्षति भएको भन्दै यस पटक वडा स्तरमा नै जिल्ला विपद व्यवस्थापन समितिले सम्भावित विपद न्युनीकरण गर्ने तयारी गरेको छ ।
विराटनगर महानगरपालिकाले यस पटक वडा स्तरमा नै बाढी र डुवानबाट जोगाउन स्वयंसेवक दस्ता गठन गरेको छ । दुई दिने तालिम दिएर महानगरपालिकाले बाढी प्रभावित क्षेत्रको कार्यजोजना बनाएर उद्धारको कार्य गर्ने तयारीमा जुटेको विपद व्यवस्थापन समितिका सम्पर्क व्यक्ति राजेन्द्र प्रधानले जानकारी दिए ।
उनका अनुसार प्रत्येक वडामा १५सदस्य स्वयंसेवक टोली बनाएर शसस्त्र प्रहरीको सहयोगमा तालिम दिएर तैनाथ गरिने गरी तालिम समेत सुरु गरेको बताए । तालिमपछि पीडितको उद्धार गर्न सहज हुने उनको विश्वास छ ।
जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाका अनुसार स्थानीय तहको वडा स्तरमा विपदबाट नै न्युनीकरण गर्ने नीति अपनाइएको छ । जिल्ला विपद व्यवस्थापन समितिले आवश्यक सामग्री खरिद गरेर तयारी अवस्थामा रहेको उनले बताए । बाढी प्रभावित क्षेत्रमा जनताको सुरक्षाको लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको उनको भना थियो ।
नेपाली सेना र शसस्त्रको २ नम्बर गणमा तयारी अवस्थामा बोट राखिएको जनाएको छ । उक्त बोटको एक पटकमा १५ जनालाई उद्दार गर्ने क्षमता छ । त्यस्तै विराटनगरका सरकारी अस्पताल सँगै निजी अस्पताललाई समेत विपद आएको बेला जनस्तरमा पुगेर सेवा दिन समितिले परिचालन गर्ने बताइएको छ ।
यता स्थानीय तहहरुले समेत स्थानीय तहमा विपन्न न्युनीकरण गर्न काममा लागेका छन् । स्थानीय तहका प्रमुखहरुले पैनी सहित ढललाई सफा गर्ने कामलाई प्राथमिकतामा राखेका छन् ।
विराटनगर महानगरपालिकाले समेत कार्ययोजना बनाएर नै पैनीहरुको वर्षाअघि नै सफा गर्ने काममा लागेको जनाएको छ। खोला किनार र पानी पस्ने सम्भावित स्थानहरुको मेयरले अनुगमन नै गरेर तत्काल मर्मत संभार साथै नालाहरु सफा गर्ने निर्देशन दिएका छन्।
साथै वडास्तरमा समेत महानगरले समिति बनाएर काम अघि बढाएको छ । २०७४सालमा आएको बाढीले पुर्याएको क्षति अवको दिन हुन नदिन सबै तयारी गरेको मेयर पराजुलीले बताए ।
उता वडास्तरको विपद व्यवस्थापनका अक्ष्यक्षले वडाध्यक्षहरुले आफूहरुसँग कुनै समन्वय नगरेर महानगरले काम अघि बढाएको भन्दै गुनासो गरेका छन् । बाढीबाट सबै भन्दा बढी प्रभावित हुने विराटनगर महानगरपालिकाको वडा नम्बर ६का वडाध्यक्ष विजय कामतले आफुसँग कुनै सल्लाह नगरेर महानगरका कर्मचारीहरुले काम अघि बढाएको बताए । सबै भन्दा ठूलो वडा र केशलीया खोलाले बढी बाढीले क्षति पुर्याउने क्षेत्रमा कसरी बाढीको विपदबाट जोगाउने बारे हालसम्म कुनै समन्वय नगरेको उनको गुनासो छ ।