पर्सामा कोरोनाबाट मृत्यु हुने दर शून्य
वीरगन्ज : कोरोना संक्रमणको दोस्रो लहरमा पनि कोरोनाको हटस्पट बनेको पर्सा जिल्लामा कोरोना संक्रमणले हुने मृत्यु दर अहिले शून्य रहेको छ । असार सुरु भएयता पर्सामा कोरोना संक्रमणले मृत्यु दर शून्य भएको हो ।
असार १ गते यता पर्सामा कोरोना संक्रमणले एकजनाको पनि मृत्यु नभएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । पछिल्लो पटक जेठ ३१ गते पर्सामा कोरोना संक्रमणले १ जनाको मात्र मृत्यु भएको थियो ।
तर, असार १ गते देखियता भने पर्सा जिल्लामा कोरोना संक्रमणबाट एकजनाको पनि मृत्यु नभएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्याक्ति विनय श्रीवास्तवले जानकारी दिए ।
वीरगन्जका अस्पतालमा जेठ अन्तिम सातासम्म दैनिक औसतमा ३ देखि ४ जनाको मृत्यु हुँदै आएको थियो ।, तर असार शुरु भएपछि भने पर्सा जिल्लामा कोरोनाले हुने मृत्यु दर शून्यमा झरेको श्रीवास्तवले बताए ।
श्रीवास्तवका अनुसार पर्सामा जेठ ३१ गते १ जनाको, जेठ ३० गते १ जनाको , जेठ २९ गते १ जनाको , जेठ २७ गते १ जनाको र जेठ २५ गते ३ जनाको मृत्यु भएको थियो ।
कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि चैत ३० गते देखि जेठ ३१ गते सम्म वीरगन्जका विभिन्न अस्पतालमा गरी ३ सय २७ जनाले कोरोनाबाट ज्यान गुमाएका थिए।
ती मध्ये पर्सा जिल्लाका मात्रै १३७ जना हुन् । बाँकी १९० जना भने ,अन्य जिल्लामा घर भइ वीरगन्जका अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाहरु रहेको श्रीवास्तवले बताए ।
संक्रमणको पहिलो लहरमा वीरगन्जमा कोरोना संक्रमणले पर्साका ५५ जना र अन्य जिल्लाका ३१ जना गरि ८६ जनाको मृत्यु भएको थियो ।
सक्रिय संक्रमित ५२ मात्र
पर्सामा हाल सक्रिय संक्रमितको संख्या पनि निक्कै कम छ । पर्सा जिल्लामा हाल सकृय संक्रमित ५२ जना मात्र रहेका छन् । ती मध्ये अस्पतालमा ३१ जना मात्र संक्रमित उपचाररत छन् । बाँकी २१ जना संक्रमित भने आफनै घरको होम आइसोलेसनमा छन् ।
पर्साकाका विभिन्न अस्पतालमा उपचाररत ३१ जनामध्ये एचडियुमा १६ जना , आइसीयुमा १३ जना र भेन्टिलेटरमा २ जना मात्र रहेको श्रीवास्तवले जानकारी दिए । पर्सामा संक्रमण दर पनि निक्कै घटेको छ । नारायणी अस्पतालको प्रयोशगालामा दैनिक हुँदै आएको परीक्षण दर पनि निक्कै कम रहेको अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर उदयनारायण सिंहले बताए ।
असार महिना सुरु भएयता संक्रमण दर ७ प्रतिशतमा झरेको डाक्टर सिंहले बताए । असार १ गते देखि असार ३ गते सम्म ३ दिनको अवधिमा नारायणी अस्पतालको प्रयोगशालामा १८३ जनाको स्वाब नमूना परीक्षण गर्दा १४ जनामा मात्र संक्रमण भेटिएको डाक्टर सिंहले जानकारी दिए ।
ती १४ जना संक्रमितमध्ये पर्सा जिल्लाका ५ जना मात्र रहेको पनि उनले बताए । नारायणी अस्पतालको प्रयोगशालामा असार ३ गते पनि ६३ जनाको पिसिआर परिक्षण गर्दा पर्साका ३ जना सहित ७ जनामा मात्र संक्रमण पुष्टि भएको थियो ।
असार २ गते नारायणी अस्पतालको प्रयोगशालामा ५३ जनाको स्वाब परीक्षण गर्दा १ जनामा र असार १ गते ६७ जनाको परीक्षण गर्दा ६ जनामा मात्र संक्रमण पुष्टि भएको थियो ।पर्सा र वीरगन्जमा पछिल्लो केही साता यता कोरोनाको संक्रमण दर र अस्पतालमा संक्रमितको संख्या घट्दै गएको भएपनि संक्रमणको जोखिम नटरेकाले सावधानी र सतर्कता अपनाउन आवश्यक रहेको डाक्टरहरुले बताएका छन् ।
अहिले संक्रमणको दोस्रो लहर कम हुँदै गएको भएपनि तेस्रो लहर आउने संकेत देखा परिरहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अझ कडाइका साथ पालना गर्न आवश्यक भएको डाक्टरहरुको सुझाव छ ।
पर्सा जिल्लामा संक्रमण नियन्त्रण तथा रोकथामका लागि वैशाख १६ गते देखि निषेधाज्ञा जारी छ । पछिल्लो समय संक्रमण दर घट्दै गएपछि निषेधाज्ञा केहि खुकुलो पारेर असार ६ गते सम्मका लागि थपिएको छ ।
तर निषेधाज्ञा खुकुलो मात्रै गरिएको भएपनि बजारका पसल सहज अवस्थाका बेलाको जस्तो खुल्न थालेका छन् । बजारमा मानिसको चहलपहल पनि बढ्न थालेको छ । बजार र सडकमा निस्किएकाहरुले मास्क पनि लगाउन छाडेका छन् । यसले संक्रमण फेरि बढ्ने जोखिम बढाएको नारायणी अस्पतालका चिकित्सक डाक्टर उदय नारायण सिंहले बताए ।