‘नैतिक रूपमा हत्या गरेको अनुभूति भयो’
मुम्बई : भारतीय चलचित्र उद्योग (बलिउड) मा ‘बोल्ड’ नायिकाको छवि बनाएकी मल्लिका सेरावतले ‘मर्डर’ चलचित्रमा सुटिङ गर्दा नैतिक रूपमा हत्या गरेको अनुभूति भएको बताएकी छन्। केही समयअघि भारतीय सञ्चार माध्यमसँग मर्डरको सुटिङको प्रसंगमा कुरा गर्दै मल्लिकाले फिल्ममा ‘बोल्ड सिन’को सुटिङ गर्दा कसैले आफ्नो नैतिक रूपमा हत्या गरिरहेको अनुभूति गरेको बताएकी हुन्।
‘त्यतिबेला बोल्ड सिनको सुटिङ गर्दा निकै अप्ठ्यारो लागेको थियो। एउटै सिन पटकपटक रिटेक गर्दा कसैले मेरो नैतिकताको हत्या गरिरहेको त छैन ? भन्ने महसुस भइरहन्थ्यो’, मल्लिकाले भनेकी छन्, ‘फिल्म रिलिजपछि पनि मलाई यही चिन्ताले सताइरह्यो।’
उनले त्यतिबेला आफूले निर्वाह गरेको भूमिकाको धेरैले विरोध गरे पनि अहिले दर्शकको सोच परिवर्तन भएकोमा भने खुसी व्यक्त गरेकी छन्। ‘फिल्म रिलिज हुँदा दर्शकले गाली गर्ने हुन् कि भन्ने डर मनभित्र थियो। नभन्दै भयो पनि त्यस्तै। धेरैले मेरो अभिनयको भन्दा पनि बोल्ड सिनका विषयमा प्रतिक्रिया दिए’, मल्लिकाले भनेकी छन्, ‘अहिले बोल्ड सिन सामान्य भएको छ। अहिले दर्शकको सोच परिवर्तन भएकोमा खुसी लागेको छ। हाम्रो सिनेमा उद्योग बदलिएको छ।’
मल्लिकाले सन् २००३ मा ‘ख्वाहिस’मार्फत बलिउडमा डेब्यु गरेकी थिइन्। लिड रोलमा डेब्यु गरेकै वर्ष उनले इमरान हासमीसँग मर्डरमा काम गरेकी थिइन्। निकै ‘बोल्ड’ मानिएको यो चलचित्रको निर्देशन अनुराग बसुले गरेका थिए।
मल्लिकाले प्यार के साइड इफेक्ट्स, आपका सुरुर, वेलकम, डबल धमाललगायतका चलचित्रमा काम गरेकी छन्। यस बाहेक ज्याकी च्याङसँग ‘द मिथ’, ‘टाइम रेडर्स’, ‘पोलिटिक्स अफ लभ’लगायत अन्तर्राष्ट्रिय चलचित्रमा समेत अभिनय गरिसकेकी छन्। यसबाहेक उनले थुप्रै डिजिटल सिरिजमा पनि काम गरिसकेकी छन्। लामो समय बलिउडबाट हराएकी मल्लिका सन् २०१९ मा टेलिभिजन सो ‘बिग बोस–१३’मा देखिएकी थिइन्।