सकियो नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव
काठमाडौं : नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सोमबारबाट सकिएको छ। महोत्सव १७ देखि २० जुनसम्म भर्चुअल रुपमा सञ्चालन गरिएको थियो।
महोत्सवमा राजेशप्रसाद खत्रीले निर्देशन गरेको जुलुङ्गो (स्केरक्रो)ले लघु फिल्मतर्फको उत्कृष्ट जुरी अवार्ड जितेको छ। त्यस्तै लघु फिल्मतर्फ कै प्याट हेवुड र जेमिल मेगिनिसको चलचित्र ‘ग्रामर्सी’ले पनि अवार्ड हात पारेको छ।
त्यस्तै रामदास कदावल्लुरको फिल्म ‘मन्नु : स्प्राउट्स अफ एन्डुरेन्स’ ले स्पेसल जुरी मेन्सन अवार्ड पाएको छ। त्यस्तै सोफिया अलावीको फिल्म ‘सो ह्वाट इफ गोट्स डाइ’ ले पनि स्पेसल जुरी मेन्सन अवार्ड प्राप्त गरेको छ।
उत्कृष्ट एक्सपेरिमेन्टलको जुरी अवार्ड लोरी फेल्करकको ‘स्पोटेनस’ ले प्राप्त गरेको छ। त्यस्तै उत्कृष्ट फिचर फिल्मको जुरी अवार्ड ‘आइएम सफोकेटिङ, दिस इज माइ लास्ट फिल्म अबाउट यू’ ले हात पारेको छ। लेमोह्याङ जेरिमाया मोसेजद्धारा निर्देशित यही फिल्मले महोत्सवमा ग्रान्ड जुरी अवार्ड प्राप्त जितेको छ।
आयोजक नेपाल-अमेरिका फिल्म सोसाइटीका अध्यक्ष पूर्णसिंह बराइलीका अनुसार महोत्सवमा नेपाललगायत १४ देशका ३० वटा चलचित्र निःशुल्क रुपमा प्रदर्शन गरिएको थियो।
‘कोभिड महामारीका बाबजुद हामीले भर्चुअल्ली भएपनि फेस्टिभल सफल गराएका छौं। दर्शक, चलचित्रकर्मी र कलाका प्रेमीहरुबाट राम्रो प्रतिक्रिया मिलेको छ,’ उनले भने।
प्रदर्शन भएका चलचित्रबारे दर्शक र चलचित्र निर्माता-निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिएको महोत्सवका निर्देशक युवाकर राजकर्णिकारले बताए।
समापन कार्यक्रम तथा प्यानल छलफल सामाजिक सञ्जलमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।
महोत्सवको निर्णायक मण्डलमा रम्यता लिम्बु, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमान्ते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब थिए। कोरोना महामारीका कारण २०२० को महोत्सव स्थगित भएता पनि साउथ एसियन फिल्म फेस्टिभलहरुको नेटवर्कमा कोसाफको आयोजना भएको थियो।