बैंक नहुँदा सदरमुकाम धाउन बाध्य
जाजरकोट : जुनीचाँदे गाउँपालिकामा एउटा पनि बैंक स्थापना नहुँदा सेवाग्राही सदरमुकाम धाउन बाध्य छन्। विभिन्न आयोजनाको रकम निकासा, कर्मचारी तलब भत्ता, सामाजिक सुरक्षा भत्ता लगायतका रकमको चेक साट्न जिल्ला सदरमुकाम खलंगा जानुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ।
सबै सेवा सुविधा गाउँमै उपलब्ध गराउने भनेर संघीय संरचना अन्र्तगत स्थानीय सरकारको अवधारण अघि सारिए पनि जाजरकोट दुर्गम यो गाउँपालिकामा अझै स्थानीयले गाउँमै सिंहदरबार आएको अनुभुति गर्न नपाएको जुनीचाँदे १ का विरेन्द्र शाहीले बताए।
सामान्य बैकिङ्ग कारोवारका लागि पनि दुई दिन पैदलै हिँडेर सदरमुकाम धाउनु पर्ने बाध्यता रहेको उनको भनाइ छ। ‘भर्खर ट्याक खोलेका सडक वर्षातका कारण बन्द छन्। दुई दिन पैदल हिँडेर सदरमुकाम गएर चेक साट्नु पर्ने बाध्यता छ’, उनले भने, ‘स्थानीय सरकारको पहिलो कार्यकाल सकिन लाग्दा पनि नागरिकले सास्ती पाउन छोडेका छैनन्।’
प्रशासनिक केन्द्रको टुङ्गो नलागेका कारण सदरमुकामबाटै सेवा दिँदै आएको गाउँपालिकाले सरकारले अस्थायी केन्द्र तोकेको जुनीचाँदेको मजकोट परालेबाट केन्द्रिकृत सेवा प्रवाह गर्न थालेको ८ महिना बितेको छ तर अहिलेसम्म बैंक स्थापना नहुँदा जुनीचाँदेवासी चेक सटाउन खलंगा आउन बाध्य छन्।
स्थानीय तहको निर्वाचन सम्पन्न भएको साढे तीन वर्षपछि जुनीचाँदेको परालेबाट सेवा दिन थालेका छौं तर बैंक नहुँदा बैंकिक कारोवारका लागि सदरमुकाम धाउनुको विकल्प छैन। खाता खोल्न र सामान्य भुक्तानीका लागि पनि सदरमुकाम नै जानु पर्छ कार्यबाहक अध्यक्ष शिवा आचार्यले भनिन्, ‘हालसम्म जिल्ला सदरमुकाम खलंगाबाट सेवा दिनुपर्ने हाम्रो कुनै रहर नभएर बाध्यता थियो, प्रशासनीक केन्द्रको विवाद सर्वोच्च अदालतमा पुगेको छ, तत्काल कार्यसम्पादनका लागि सरकारले राजपत्रमा प्रकाशित गरेको स्थान परालेबाट अस्थायी रुपमा भएपनि सेवा प्रवाह गर्न खोजीरहेका छौं। तर बैक नहुँदा फेरी पनि हामी समस्यामै छौँ।’
सुरक्षाको कारण बैंक पराले जान मानिरहेको छैन। अस्थायी रुपमा भए पनि केन्द्रिकृत तरिकाले परालेबाटै सबै सेवाहरु प्रवाह गर्न अस्थायी प्रहरी पोष्ट स्थापनाको प्रकृयालाई अगाडि बढाए पनि सुनुवाइ नभएको कावा अध्यक्ष आचार्यको भनाइ छ। गाउँपालिकाको केन्द्र सानाखोला गर्ने कि लुहादह राख्ने विवाद सर्वोच्च अदालतमा करीब चार वर्षदेखि थाती छ। ६ महिना भित्र केन्द्र तोके सामान्य बहुमतले निर्णय गर्न सकिने प्रावधान छ। जुनीचाँदे गाउँपालिकाको केन्द्र ६ महिना भित्र तोक्न नसक्दा विवाद बल्झिएको थियो।
गाँउपालिका अध्यक्ष लगायतले लुहादह केन्द्र बनाउने दुई तिहाई बहुमतले निर्णय गरेको दाबी गरिरहँदा सानाखोला केन्द्र हुनुपर्छ भन्नेहरुले किर्ते हस्ताक्षर गरेर बहुमत पुरयाईएको हुँदा निर्णय बदर गर्न माग गदै सर्वोच्चमा मुद्दा दायर गरेका थिए। फैसला नहुँदा केन्द्र विवाद कायमै छ। केन्द्र विवादले लामो समय देखि सदरमुकामबाटै गाउँपालिकाको प्रशासनिक कार्य हुँदै आएको थियो।