करेन्ट लागेर मृत्यु
वीरगन्ज : बाराको कलैयामा बिहीबार बिहान करेन्ट लागेर एकजना पुरुषको मृत्यु भएको छ । करेन्ट लागेर कलैया उपमहानगरपालिका १४ का ४५ वर्षीय मदनलाल जयसवालको मृत्यु भएको हो ।
बिहीबार बिहान आफ्नै घरको चापाकलमा जडान गरिएको पानी तान्ने विद्युतीय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर जयसवाल गम्भीर घाइते भएका थिए । घाइते भएका जयसवाललाई उपचारको लागि कलैयास्थित जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।