भेरीमा फलफूलका विरुवा वितरण
जाजरकोट : भेरी नगरपालिकाले किसानलाई एक लाख बढी फलफुलका विरुवा वितरण गरेको छ । किसानलाई फलफूल खेतीमा व्यवसायिक बनाउन नगरपालिकाको कृषि शाखाले अनुदानमा विभिन्न जातका फलफूलका विरुवा वितरण गरेको हो ।
चालु आवको कार्यक्रमबाट नगर कृषि शाखाले एक लाख तीन हजार ती सय फलफूलका बिरुवा वितरण गरेको छ । नगरले किसानलाई कागती, सुन्तला र जुनारका ४० हजार, ११ हजार ५ सय आँप, ६ हजार २ सय केरा, २५ हजार अलैंची र ६ हजार अंगुरका विरुवा वितरण गरेको कृषि शाखा प्रमुख अभिकारीले जानकारी दिए । हिउँदे सिजनमा ९ हजार ओखर एक हजार हलुवाबेदका विरुवा वितरण गरिएको थियो ।
नगरपालिकाका सबै वडामा किसानले व्यक्तिगत, समूहगत र संस्थागत रुपमा फलफूल खेतीथालेका छन् । अहिले नगरमा दुई सय बढी कृषि समूह र संस्था दर्ता भएको नगर कृषि शाखाका प्रमुख अधिकारी बताए । नगरको आर्थिक तथा प्राबिधिक सहयोगबाट फलफूल खेती गर्न सहज भएको नारायण जनकल्यान कृषि समूह तिलिङ्गेका अध्यक्ष धनबहादुर वलीले बताए ।
आर्थिक अनुदान र प्राविधिक सल्लाह नगरबाट पाउन थालेसंगै फलफूल खेतीतर्फ किसानको आकर्षण बढेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताए । बस्ती स्तरबाट नै व्यवसायिक फलफूल खेतीका लागि आर्थिक अनुदानका कार्यक्रममा सहयोग हुने गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत घर्तीको भनाइ छ ।