मौलाउँदै गाँजा

मौलाउँदै गाँजा

उदयपुर : ताप्ली गाउँपालिकाका ५ वटै वडामा प्रायः गाँजा खेती हुने गरेको छ। ती स्थानहरूमा आम्दानीको मुख्य स्रोतका रूपमा गाँजा खेतीलाई लिइन्छ। ताप्लि गाउँपालिकाको वडा नं १ ओख्ले, वडा नं ५ को कटहरे, रुपाटार मादले, थुम्की, बाछगाउँ, लेखगाउँ, धपेनी गाँजाको उर्वर क्षेत्र मानिन्छ। प्रहरीले यस क्षेत्रबाट बर्सेनि गाँजा फुल्ने समयमा काटेर आगो लगाई नष्ट गर्ने गरेको छ। 

बर्सेनि प्रहरीले फाँड्दासमेत स्थानीयले खेती लगाउन छोडेका छैनन्। अहिलेसम्म गाँजा खेती लगाउने कसैलाई पनि प्रहरीले पक्राउ गरेको छैन। अधिकांश ऐलानी जग्गामा बाहिरबाट आएका व्यापारीले लगाउने र टिप्ने समयमा टिपेर लैजाने गरेको स्थानीय बताउँछन्। 

खेती गर्नेलाई कारबाही नगर्दा गाँजा खेती मौलाएको गाँजा खेती नगरेका स्थानीय बताउँछन्। उनीहरू भन्छन्, ‘प्रहरी आउँछ यसो फाँडेको जस्तो गर्छ, फर्किएर जान्छ, त्यसपछि फर्किएर आउँदैन। आधाभन्दा बढी नफाँडी छोडेर जान्छ।’ नाम नबताउने शर्तमा उनीहरू भन्छन्, ‘मिलेमत्तोमा नै व्यवसाय मौलाएको छ।’

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भीमबहादुर दाहालले अनुसन्धानका क्रममा धेरै बाहिरका व्यापारीले खेती गर्ने गरेका कारण कारबाहीमा समस्या भएको बताए। संख्यात्मक हिसावले गाँजा खेती गर्नेभन्दा पनि सेवनकर्ता कारबाहीमा पर्ने गरेको उनले बताए।

गाँजा खेती गरेका अधिकांशको काठमाडौं, विराटनगर, इटहरी जस्ता प्रमुख सहरमा जग्गाजमिन र घर रहेको स्थानीय बताउँछन्। आम्दानीको स्रोत नभएको त्यस ठाउँमा सामान्य व्यक्ति पनि करोडपति भएको स्थानीयको भनाइ छ। त्यसो त निजी जग्गामा पनि उत्तिकै गाँजा खेती गरिन्छ। बर्सेनि नष्ट गर्नुभन्दा पनि गाँजा खेती लगाउन नदिनुनै उपयुक्त हुने गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापा बताउँछन्। उनी भन्छन्, ‘रातमाटे डाँडा छन्, गाँजा जस्तो अरू कुनै खेती हुँदैनन् र विकल्प पनि दिन नसक्दा स्थानीयको गाँजामा आकर्षण बढेको हो।’ जोखिमको खेती भएपनि थोरै मेहनत र प्रहरीको आँखा छल्न पाए मनग्ये आम्दानी हुने भएकाले पनि बाहिरका व्यापारीको अग्रसरतामा गाँजा खेती फस्टाएको उनी बताउँछन्। 

अध्यक्ष थापाले गाँजाको विकल्पका लागि गाउँपालिकाले कृषि क्षेत्रमा प्रोत्साहन गर्ने गरी कार्यक्रम ल्याउन लागेको बताए। उनले भूगोल, भू–बनोट र किसानको आवश्यकतालाई मध्यनजर गरी प्राविधिकको रायमा वैकल्पिक खेतीका लागि सहयोग गरिने बताए। 

गाँजाको लतमा विद्यार्थी
ताप्लि गाउँपालिकामा हुने गाँजा खेतीका कारण विद्यार्थी पनि त्यसको लतबाट अछुतो रहन सकेका छैनन्। ताप्लिमा ६ वटा माध्यमिक विद्यालय गरी ४१ वटा विद्यालय रहेका छन्। अधिकांश विद्यालयका बालबालिका गाँजा सेवनमा पर्दा उनीहरूको दिमाग मात्र नभई स्वास्थ्यमासमेत असर पुगेको प्रअ रोहितसिंह ठकुरी बताउँछन्। 

खासगरी गाँजा खेतीको उर्वर क्षेत्र मानिने ताप्ली गाउँपालिकामा गाँजा सेवनकै कारण बालबालिकाले पढाइ छोडेको र कुलतमा लागेका उदाहरणहरू प्रशस्तै छन्। माध्यमिक विद्यालय कटहरेका प्रधानाध्यापक रोहितसिंह ठकुरी भन्छन्, ‘घर–घरमा गाँजा छ, कतिलाई सम्झाउनु, कतिलाई रोक्नु, एक÷दुई पटक सम्झायो पुनः त्यस्तै आदतमा पुग्छन्।’

विद्यालय समयमा गाँजा सेवन र ओसारपसार पूर्ण नियन्त्रणमा लिए पनि त्यसपछिको समय अभिभावककै लापरबाहीले विद्यार्थी बिग्रने गरेको मावि पीपलभन्ज्याङका प्रअ कृष्णबहादुर ज्युठकुरी बताउँछन्। सन्तानको भविष्यका लागि अभिभावक आफैं सचेत हुनुपर्नेमा आम्दानीको मुख्य स्रोत भनेकै गाँजा भन्दै लगाउने गरेका कारण समस्या बढेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.