एमाले कलहले कर्णालीमा संसद्‍ बन्धक

एमाले कलहले कर्णालीमा संसद्‍ बन्धक

सुर्खेत : कर्णालीमा नेकपा (एमाले) को आन्तरिक कलहका कारण संसद्‍ नै बन्धक बनेको छ। असार १ गते बजेट प्रस्तुत भएयता संसद्‍ बैठक चल्न सकेको छैन। लगातार एमालेको अवरोध हुँदा संसद्‍मा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल पनि प्रभावित बनेको हो।

कर्णालीमा एमालेको अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल पक्षबीच तीव्र विवाद छ। विवादका कारण एमालेले संसद्‍मा एकल बहुमत हुँदा पनि सरकारको नेतृत्व गर्न सकेको छैन। आन्तरिक विवादका कारण अध्यक्ष ओली पक्ष प्रतिपक्षमा छ भने नेपाल पक्ष सरकारमा छ। एउटै पार्टी सत्ता र प्रतिपक्षमा भएकै कारण चुलिएको एमालेभित्रको विवादले संसद्‍ नै बन्धक बन्न पुगेको हो।

एमालेको ओली पक्षले लगातार बैठकमा अवरोध गर्दै आएको छ। गत वैशाखमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोरक्रस गरेर एमालेको नेपाल पक्षका सांसदले विश्वासको मत दिएका थिए। त्यसपछि फ्लोर क्रस गरेका चार सांसद कारबाहीमा परेका थिए। तर सर्वोच्च अदालतले पदमुक्त गरिएका चारै जनालाई सांसदमा पुनर्वहाली गरेपछि एमालेभित्रको विवाद थप पेचिलो बनेको हो। फ्लोरक्रस गरेका नेपाल पक्षमा तीन जना सांसद हाल मन्त्री बनेका छन्।

सरकारमा सहभागी एमालेका तीन सांसदले मन्त्रीबाट राजीनामा दिनुपर्ने अडान ओली पक्षको छ। अदालतले पुनर्वहाली गरेका उनीहरु एमाले संसदीय दलको सदस्य भएकाले सरकारबाट फिर्ता हुनुपर्ने एमाले संसदीय दलका नेता यामलाल कँडेल बताउँछन्। 

एमाले हाल सरकारमा सहभागि नभएको भन्दै उनले एमालेका तीन सांसद मन्त्रीबाट फिर्ता नहुँदासम्म संसद्‍ चल्न नदिने बताए। फ्लोरक्रस गरेका सांसद अदालतको आदेशपछि एमालेका भएको भन्दै उनले संसद्‍भित्र एमाले दुई हुन नसक्ने बताए। 

सरकारमा सहभागी नेपाल पक्षका अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई राजीनामा गराएर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कसरतमा एमालेको यो पक्ष लागेको छ। तर नेपाल पक्ष भने तत्काल सरकारबाट फिर्ता हुने पक्षमा छैन। 

नेपाल पक्षले एमाले सरकारमै रहेको दाबी गर्दै आएको छ। एमालेभित्रको यही विवादको असर संसद्‍ र बजेटमाथि परेको हो। असार १ गतेपछि ६ वटा बैठक स्थगित भएका छन्। 

असार ४, ६, ८, ११, १३ र १८ गतेका संसद्‍ बैठक चल्न सकेनन्। जसमध्ये ४, ६ र ८ गते सूचना टाँसेर बैठक स्थगित भएको थियो भने ११, १३ र १८ गतेका बैठक एमालेको ओली पक्षका सांसदले विरोध जनाएपछि स्थगित भएका हुन्। बैठकमा बजेटमाथिको छलफल हुने कार्यसूची छ। तर एमालेकै कारण संसद्‍मा बजेटमाथि छलफल हुन सकेको छैन।

अर्को बैठक विहीबार दिउँसो २ बजेका लागि बोलाइएको छ। संसद्‍मा हाल कायम रहेका ३९ सांसद मध्ये एमालेका सभामुखसहित २० सांसद छन्। यो संख्या एमालेको एकल बहुमत हो। कर्णालीमा एमाले एक हुँदा अरु दलले सरकार गठन गर्न सक्ने अवस्था छैन। तर आफै विभाजित हुँदा एमाले आफ्नो एकल सरकार गठन गर्न असफल बनेको छ। 

यता सत्तापक्षले भने आन्तरिक विवादका कारण एमालेले संसद्‍ नै बन्धक बनाउनु दुःखद् भएको जनाएको छ। आन्तरिक मामिला तथा कानून मन्त्री सीताकुमारी नेपालीले एमालेले बजेट अधिवेशन सञ्चालन गर्न सहयोग गर्नुपर्ने बताइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.