म्याग्दीमा बाढीले घर भत्काउँदा श्रीमान-श्रीमतीको मृत्यु
बेनी : म्याग्दीको मंगला गाउँपालिका–५ छिसबाङमा बाढीले घर भत्काउँदा बुधबार बिहान दुई जनाको मृत्यु भएको छ । खहरेखोलामा आएको बाढीले थमबहादुर बुढाको घर पुर्दा त्यहाँ पसल गरी बस्ने मालिका गाउँपालिका–६ रातोढुङ्गाका खगेन्द्र रोकाका छोरा बजिन र बुहारी बिनाको मुत्यु भएको हो ।
घटनास्थलमा रहेका मालिका गाउँपालिका–६ का वडा अध्यक्ष सन्तोष सुबेदीले बाढीले घरभित्र सुतिहेको अवस्थामा पुरिएका रोका दम्पत्तीको शव फेला परेको बताए । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएका प्रहरी, मंगला र मालिका गाउँपालिकाका जनप्रतिनिधी र स्थानीयबासीहरु बेपत्ताको खोजीका साथै जोखिममा रहेका घरको व्यवस्थापनमा परिचालन भएका छन् ।
खहरेखोलाको बाढी पसेर मंगला गाउँपालिकाको छिसवाङका अन्य घरहरुमा पनि क्षति पुगेको छ । खानेपानी र सिचाई आयोजनामा पनि क्षति भएको छ । इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेलले घटनास्थल पुगेर क्षतिको विवरण संकलन, बेपत्ताको खोजी र जोखिमका घरधुरी व्यवस्थापनमा जुटेको बताए ।