दुई उपप्राध्यापक बर्खास्त
सुर्खेत : मध्यपश्चिम विश्वविद्यालयले दुई जना उपप्राध्यापकलाई कारबाही गरेको छ। परीक्षा नै नलिएर विद्यार्थीलाई पास गराएको र परीक्षा अगाडि नै प्रश्नपत्र बाहिर ल्याएको भन्दै उनीहरूलाई कारबाही गरिएको हो। दुवै जनालाई जागिरबाटै बर्खास्त गरिएको विश्वविद्यालयले जनाएको छ।
कारबाहीमा परेका दुवै जना विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अध्यापनरत थिए। विश्वविद्यालयले मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरूलाई बर्खास्त गरिएको जानकारी दिएको हो। विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ संकायको स्नातकोत्तर तहका कार्यक्रम निर्देशक एवं उपप्राध्यापक विश्वनाथ यादव र स्कुल अफ लतर्फ अध्यापनरत उपप्राध्यापक सुजन पन्तलाई बर्खास्त गरिएको बताए। यादव स्थायी हुन् भने पन्त करारमा कार्यरत थिए।
अनियमितता गरेको पुष्टि भएपछि उनीहरूलाई भविष्यमा समेत विश्वविद्यालय सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय विश्वविद्यालयको कार्यकारी परिषद्ले गरेको छ। परीक्षामा अनियमितताको आरोप लागेपछि यसबारे छानबिन समिति गठन गरेर अध्ययन गरिएको थियो। दीपबहादुर रावलको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनको आधारमा उनीहरूलाई बर्खास्त गरिएको विश्वविद्यालयले जनाएको छ। छानबिन समितिका अनुसार उपप्राध्यापक यादवले परीक्षा नै नलिएर विद्यार्थीलाई पास गराएको पाइएको छ। यस्तै पन्तले भने परीक्षा अगावै प्र्रश्नपत्र बाहिर ल्याएको पाइएको हो।
निर्देशक यादवले विद्यार्थीको आन्तरिक मूल्यांकनको नम्बर विषय शिक्षकले पठाएको नभई आफैंले मनलाग्दी रूपमा पठाएको र आर्थिक प्रलोभनमा परी यस्तो काम गरेको निष्कर्ष छानबिन समितिले निकालेको थियो। यस्तै करारमा नियुक्त स्कुल अफ ल का उपप्राध्यापक पन्तले कानुन संकायतर्फको परीक्षाको प्रश्नपत्र बाहिर ल्याएको पुष्टि भएसँगै उनलाई पनि कारबाही गरिएको हो। छानबिन समितिले दोषी देखिएको प्रतिवेदन बुझाएसँगै उनीहरू दुवै जनालाई स्पष्टीकरण सोधिएको थियो। तर त्यसबाट पनि चित्तबुझ्दो जवाफ नआएपछि पदबाटै बर्खास्त गर्ने निर्णय भएको विश्वविद्यालयले जनाएको हो।