लोभीपापी गरुड बारेकोटमा फेला
जाजरकोट : विश्वमै दुर्लभ लोभीपापी गरुड जाजरकोटको बारेकोटमा फेला परेका छन् । जिल्लाको बारेकोट गाँउपालिका २ स्थित जीउलामा लोभीपापी गरुड फेला परेका हुन् । पंक्षी संरक्षण संघका केन्द्रीय सदस्य गोविन्द सिंहले बारेकोटमा पहिलो पटक लोभीपापी गरुड फेला पारेको बताएका छन् । यसअघि जाजरकोटको भेरी नगरपालिका, बाँकेको चिसापानी र सुर्खेत सिम्तामा लोभीपापी गरुड फेला परेका थिए ।
सामान्यतयाः ९ सय १५ मिटर भन्दा कम उचाइको भू-भागमा पाइने लोभिपापी गरुड बारेकोटमा भने एक हजार ६ सय मिटरको उचाइमा भेटिएको सिंहले बताए । धेरै उचाइमा समेत लोभिपापी गरुड भेटिन थालेपछि अध्याताहरुका लागि चासोको विषय हुन सक्ने उनको भनाइ छ । जलवायु परिवर्तनका कारण विस्तारै यो पंक्षी लेकतिर बसाइ सर्ने गरेको चराविदको भनाइ छ । बारेकोट जुम्ला सँग सिमाना जोडिएको गाँउपालिका हो ।
यो अग्ला सिमल र सालको रुखमा बस्ने, गुढ लगाउने गर्दछ । रुख फडानी गर्दा गिद्दलगायत यो पंछीलाई असर परेको छ । अर्को समस्या भनेको बालीनालीमा विषादी हालेर मुसा मार्दा यसले खाएर पनि मर्ने गरेको उनको भनाइ छ ।
मानवीय क्रियाकलापकै कारण यो दुलर्भ पंक्षी लोप हुने अवस्थामा पुगेको छ । यसले बालीनालीमा हुने किरा फटयांग्रो भ्यागुतो सर्प मुसा खाएर बालीको सुरक्षा गर्ने भएकोले किसानको साथी मानिन्छ ।
लोभीपापी गरुड ७५ देखि ९२ उचाई भएको मध्यम आकारको गरुड हो । यसको गठिलो, प्राय कालो शरीर, भुवादार सेतो घाँटी, कालो शिर तथा निर्गमस्थल र तल्लो पुच्छर ढकनी सेतो भएको हुन्छ । यसको उडानको क्रममा माथिल्ला र तल्ला पखेटा पुरै गाढा देखिन्छ । बच्चा लोभीपापी गरुड वयस्क जस्तै देखिने तर अलि फिक्का खैरो शरीर तथा पङ्खेटाहरू साथै प्वाँखहरूले ढाकिएको निधार भएको हुन्छ ।
लोभीपापी गरुड नेपालमा पाइने एक प्रकारको गरुडको प्रजाति हो । यो चरा एसियाको रैथाने प्रजाति हो । लोभीपापी गरुड एसियामा नेपाल, भारत हुँदै इण्डोनेसियासम्म तथा अफ्रिकामा पनि पाइने गर्छ । यो प्रजाति प्राय ९१५ मिटर भन्दा तलको क्षेत्रमा पाइने गर्छ । यो चराको प्राकृतिक वासस्थान खोलानाला, ओसिलोभूमि, दलदले भू-भाग तथा तालहरूको छेउछाउका घाँसेमैदानहरू हुन् ।
बारेकोटमा १६०० मिटर उचाइमा भेटिएको दुर्लभ लोभीपापी गरुड। तस्बिर : सौजन्य गोविन्द सिंह