घरमै पुगेर नागरिकता

बाजुरा : बाजुराको त्रिवेणी नगरपालिका–४ का ४१ वर्षीया टेक साउदलाई सोमबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिइएको छ। अपांगता भएका साउदलाई सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले घरमै पुगेर नागरिकताको प्रमाणपत्र दिएका हुन्।
अपांगता भएका टेक साउद हिँड्डुल गर्न नसक्ने भएकाले आफूले घरमै पुगेर नागरिकता वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए। अपांगता भएका छोरालाई घरमै सहायक सीडीओे पुगेर नागरिकता प्रदान गरेकोमा निकै खुसी लागेको टेकका बुवा धनजिते साउदले बताए। उनले भने, ‘सानैदेखि पारिवारिक समस्याका कारण कामको सिलसिलामा छोरो भारत गएको थियो, पहिलो भेरियन्टको कोरोना महामारीका कारण छोरा घर आएको हो। पहिला भारतमै बढी जाने भएकोले नागरिकता बनाउन पाएन।’
पाँच महिना पहिले जंगलमा घाँस काट्न गएको समयमा रूख ढलेर टेक साउदको ढाड भाँचिएको थियो। शारीरिक रूपमा अशक्त भएपछि वर्षात्मा बोकेर सदरमुकाम लिन गाह्रो भएकाले सबै काजजातहरू जिल्ला प्रशासन कार्यालयमा इमेल गरेपछि सहायक प्रमुुख जिल्ला अधिकारीले घरमै आएर नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेको त्रिवेणी नगरपालिकाका–३ का वडाध्यक्ष मीनबहादुर भण्डारीले बताए।
साउद अशक्त भएर घरबाहिर निस्किने अवस्था नभएको र यातायात बढी पहिरोका कारण बन्द भएकाले आफू नागरिकता लिएर साउदको घरमै आएको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताए। ‘कर्मचारी जनताका सेवक हुन्, दुःखी पीडितको सेवा गर्नु पनि आफ्नो जिम्मेवारी हो,’ सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भने।
टेक साउदका एक छोरा एक छोरी श्रीमती र बूढा आमाबुवा छन्। विवाह दर्ता र श्रीमतीको नागरिकता पनि बनेको छैन। अब वडा कार्यालयमा विवाह दर्ता गरेर श्रीमतीको नागरिकता बनाउन पहलमा लागेको वडाध्यक्ष भण्डारीले बताए।
प्रतिक्रिया दिनुहोस !
