रहेनन् ‘ट्राजेटी किङ’
मुम्बई : भारतीय चलचित्र उद्योग (बलिउड) का दिग्गज कलाकार दिलीप कुमारको निधन भएको छ । ‘ट्राजेटी किङ’ का नामले परिचित दिलीप कुमारको बुधबार बिहान ९८ वर्षको उमेरमा निधन भएको हो ।
दिलीप कुमारले बुधबार बिहान ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा अन्तिम सास फेरेको अस्पतालले जनाएको छ । उनको बुधबार साँझ जुहुमा अन्तिम संस्कार गरिएको थियो । सोमबार मात्र उनकी पत्नी सायरा बानुले दिलीप कुमारको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी दिएकी थिइन् । त्यसको दुई दिनपछि दिलीप कुमारले अन्तिम सास फेरेका थिए । विगत लामो समयदेखि बिरामी रहँदै आएका दिलीप कुमारलाई पछिल्लो महिना मात्र दुई पटक अस्पताल भर्ना गरिएको थियो ।
दिलीप कुमारको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कंग्रेस आईका अध्यक्ष राहुल गान्धीलगायत राजनीतिज्ञ, मुख्यमन्त्री, मन्त्री र बलिउड कलाकारले दुःख व्यक्त गरेका छन् ।
आफ्नो पाँच दशक लामो फिल्मी करियरमा उनले ‘कोहिनूर’, ‘मुगल ए आजम’, ‘देवदास’, ‘नयाँ दौर’लगायत थुप्रै चलचित्रमा अभिनय गरेका थिए । पछिल्लो पटक उनी सन् १९९८ मा रिलिज भएको चलचित्र ‘किल्ला’मा देखिएका थिए । दिलीप कुमारले करिब पाँच दशकको करियरमा ६० वटा जति फिल्ममा काम गरे । थोरै होऊन् तर राम्रा होऊन् भनेर उनले केही फिल्ममा अभिनय गर्न अस्वीकारसमेत गरेका थिए ।
सहिद, मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर, मुगल–ए–आजम, गंगा–जमुना, राम और श्याम, कर्मालगायत उनका यादगार चलचित्र मानिन्छ । उनको अन्तिम फिल्म किला हो, जुन १९९८ मा सार्वजनिक भएको थियो । चलचित्रहरूमा भावुक र गम्भीर भूमिका निर्वाह गरेकै कारण उनलाई ‘ट्राजेटी किङ’को उपनाम दिइएको थियो ।
दिलीप कुमारले आठ फिल्मफेयर अवार्ड जितेका छन् । सबैभन्दा धेरै अवार्ड जित्ने कलाकारको रूपमा दिलीप कुमार सबैभन्दा अगाडि छन् । उनी १९९१ मा पद्म भूषण र २०१५ मा पद्म विभूषणबाट सम्मानित भएका थिए । उनले सन् १९९४ मा दादा साहेब फाल्के अवार्ड पाएका थिए । २००० देखि २००६ सम्म उनी राज्यसभा सदस्य पनि बनेका थिए । उनलाई पाकिस्तानले सन् १९९८ मा सर्वश्रेष्ठ नागरिक सम्मान ‘निशान ए इम्तियाज’बाट पनि सम्मानित गरेको थियो । केही समय अघि मात्र पाकिस्तान सरकारले दिलीप कुमारको पुख्र्यौली घरलाई संग्रहालय बनाउने घोषणा गरेको थियो । पाकिस्तानी सरकारको निर्णयलाई दिलीप कुमार र उनको परिवारले स्वागत गरेको थियो । भारतीय सुपर स्टार दिलीप कुमार केही समय पाकिस्तानको सो घरमा बसेका थिए ।
दिलीप कुमारले सन् १९६६ मा सायरा बानुसँग विवाह गरेका थिए । सायरा पनि बलिउड अभिनेत्री नै हुन् । उनी दिलीप कुमारभन्दा २२ वर्ष कान्छी छिन् । त्यसअघि दिलीप कुमारले आसमा साहिबासँग विवाह गरेका थिए । उनीहरूको सम्बन्ध सन् १९८३ मा रहेको थियो । त्यसपछि उनी छुट्टिएका थिए ।