साढे ८ करोडको मेसिन मर्मत नहुँदा जीर्ण, ५ करोड खर्चेर नयाँ खरिद
वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालले साढे ८ करोडको सिटि स्क्यान मेसिन मर्मत गर्नुको सट्टा ५ करोड खर्च गरेर नयाँ सिटि स्क्यान मेसिन खरिद गर्न थालेको छ । स्वास्थ्य सेवा विभागले २०७३ सालमा अस्पताललाइ उपलब्ध गराएको झण्डै साढे आठ करोड रुपैयाँ मुल्यको सिटि स्क्यान मेसिन २ वर्षदेखि बिग्रिएर थन्क्याइएको छ । अस्पतालले आफूसँग भएको मेसिन मर्मत गरेर सञ्चालनमा ल्याउनुको सट्टा ५ करोड रुपैयाँमा अर्को नयाँ सिटि स्क्यान खरिद गर्न थालेको हो ।
स्वास्थ्य सेवा विभागले २०७३ सालमा नारायणी अस्पताललाइ झण्डै साढे आठ करोड रुपैयाँ मुल्यको सिटि स्क्यान मेसिन उपलब्ध गराएको थियो । उक्त मेसिन ३ वर्षसम्म राम्रै चलेको थियो । तर २०७६ वैशाखमा मेसिन बिग्रीएपछि अस्पतालले मर्मतका लागि चासो देखाएन ।
मेसिन बिग्रिएपछि त्यतिबेला स्वास्थ्य विभागबाट आएका प्राविधिक टोलीले मर्मतामा १२ लाख रुपैयाँ खर्च लाग्ने स्टिमेट दिएको थियो । तर त्यसबेला त्यति रकम अस्पतालसँग नभएको भन्दै अस्पताल प्रशासनले मेसिन मर्मत गरेन ।
अहिले उक्त मेसिन मर्मतका लागि ५० लाख रुपैयाँ खर्च लाग्ने प्राविधिकले बताएका छन् । तर, अस्पताल प्रशासनले ५० लाख रुपैयाँ खर्च गरेर भएकै मेसिन सन्चालनमा ल्याउनुको सट्टा ५ करोडामा अर्को नयाँ मेसिन खरिद गर्न थालेको हो ।
स्वास्थ्य मन्त्रालयलेबाट आएको ४ करोड ९७ लाखको बजेटबाट ४ करोड ९१ लाख रुपैयामा नयाँ सिटिस्क्यान मेसिन खरिद गर्न लागिएको अस्पतालका निमित्त मेसु डाक्टर वीरेन्द्रबहादुर प्रधानले बताए ।
उनले भने,‘ ५० लाख रुपैयाँ खर्च गरेर बनाउँदा पनि मेसिन धेरै दिन नटिक्ने ,बारम्बार फल्ट आइरहने कुरा प्राविधिकले बताए, त्यसैले पुरोनो मेसिनमा ५० लाख खर्च गर्नुको सट्टा अर्को नयाँ मेसिन खरिद गर्न थालेका हौं ।'
टेण्डर स्वीकृत भएको काठमाडौंका सप्लायर्स लुम्बिनी हेल्थ केयर प्रालीले असोज पहिलो सातासम्म नयाँ सिटि स्क्यान मेसिन अस्पताललाई उपलब्ध गराउने बताएको प्रधानले जानकारी दिए ।
अस्पतालमा बिग्रिएर थन्किएको पुरानो मेसिन १६ स्लाइसको मात्र भएको तर बजारमा अहिले नयाँ मोडेलका मेसिन आइसकेकाले अस्पतालले ६४ स्लाइसको मेसिन खरिद गर्न लागेको प्रधानले बताए ।
जटिल अवस्थाका कोभिड संक्रमितको उपचारमा छातीको सिटिस्क्यान गर्नै पर्ने भएका कारण अस्पताललाइ सिटिस्क्यान मेसिन अतिआवश्यक भएको प्रधानले बताए । नयाँ मेसिन अस्पतालमा आएपछि पुरानो मेसिन स्वास्थ्य सेवा विभागमा फर्काइ दिने जानकारी पनि उनले दिए ।
नारायणी अस्पतालमा मेसिन बिग्रिएकै समयदेखि अर्थात् दुई वर्षदेखि सिटि स्क्यान सेवा बन्द छ । मेसिन बिग्रिएर थन्किए पछि अस्पतालको सिटि स्क्यान विभागमा २०७६ वैशाखदेखि ताल्चा लगाइएको छ । जसका कारण उपचारका लागि अस्पतालमा आउने सिटिस्क्यान गराउनु पर्ने बिरामी , बजारका निजी अस्पतालमा चर्को शुल्क तिरेर सेवा लिन बाध्य छन् ।
अस्पताल प्रशासनले बिग्रिएको सिटि स्क्यान मेसिन समयमै मर्मत सम्भार नगरेका कारण अहिले काम नलाग्ने अवस्थामा पुगेको सिटि स्क्यान विभागका टेक्नोलोजिष्ट (प्राविधीक) प्रदीप साहले बताए ।
उनले भने ,‘ सुरुमा मेसिनको सफ्ट वेयरमा फल्ट आयो , तर त्यस बेला मर्मतका लागि अस्पतालले चाँसो लिएन, पछि युपिएसमा पनि समास्या देखियो जसका कारण मेसिन स्टार्ट हुनै छाड्यो ।'
साहले थपे त्यसबेला मेसिन मर्मत गर्न १२ लाख रुपैयाँ मात्रै खर्च लाग्ने प्राविधिकले बताएका थिए तर अस्पताल त्यति रकम खर्च गर्न असमर्थ भयो , अहिले त्यहि मेसिन मर्मत गर्न ५० लाख खर्च लाग्ने भएको छ ।
त्यहि बेला मेसिन मर्मत गरि दिएको भए अहिले ५ करोड खर्चेर अर्को नयाँ मेसिन खरिद गर्नुपर्ने अवस्था नआउने साहले बताए ।