वीरगञ्‍जमा उद्योगी-मजदुर द्वन्द्ध समाधानका लागि त्रिपक्षीय संयन्त्र गठन गरिँदै

वीरगञ्‍जमा उद्योगी-मजदुर द्वन्द्ध समाधानका लागि त्रिपक्षीय संयन्त्र गठन गरिँदै

वीरगन्जः प्रदेश २ मा उद्योगी र मजदुरबीच हुने द्वन्द्ध र समस्या, संवाद मार्फत् सामधान गर्नका लागि त्रिपक्षीय संयन्त्र गठन गरिने भएको छ ।

वीरगन्जमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ र वीरगन्ज उद्योग वाणिज्य संघको सहकार्यमा अन्तर्राष्ट्रिय श्रमिक संगठन नेपालले आयोजना गरेको छलफल कार्यक्रममा उद्योगी, कामदार र प्रदेश सरकारका प्रतिनिधि सम्मिलित संवाद त्रीपक्षीय संयन्त्र गठन गर्ने सहमति भएको हो ।

१५ सदस्यीय संवाद संयन्त्रको तदर्थ समितिको संयोजक सहित ५ जना सदस्य, सामाजिक विकास मन्त्रालयका कर्मचारी रहनेछन् । यस्तै समितिमा उद्योगी र मजदुर संगठनका ५/५ जना प्रतिधिनि, सदस्य रहनेछन् ।

यसका लागि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको प्रदेश समितिले ५-५ जना प्रतिनिधिको नाम १५ दिनभित्र पठाउनु पर्नेछ ।

प्रदेश मन्त्रालयमा संयोजक सहितका सदस्यका लागि उद्योगी र मजदुर संगठनले पहल गर्ने सहमति पनि भएको कार्यक्रममा सहभागी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेश लाठले जानकारी दिए ।

कार्यक्रममा उद्योगी र मजदुर संगठनका प्रतिनिधि मात्रै उपस्थित भएकोले संयन्त्रले पूर्णता पाउन नसकेको लाठले बताए । गठन हुने संवाद संयन्त्रले उद्योगी र मजदुरका बीचमा देखिएका समस्या समाधानका लागि संवाद गर्ने उनले बताए ।

अहिलेसम्म उद्योगहरुमा श्रमीकसँग जोडिएर आउने विवाद र समस्या, उद्योगी र मजदुर आफैँले सामधान गर्नु परेकोमा अनेकन चुनौती रहने गरेको उनले बताए ।

लाठले भने,‘कतिपय समस्या सरकारको नीति र ऐनकानुनसँग जोडिएका हुन्छन्, तर सरकार मुकदर्शक बनिदिन्छ, अनि समस्या सुल्झनुको सट्टा झन जटिल बनिदिन्छ ।'

तर अब त्रीपक्षीय संयन्त्र बन्दा उद्योगी र श्रमिक बीचमा उत्पन्न समस्या कोठामै बसेर समाधान गर्न सकिने उनले बताए ।

वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतमले उद्योगी र श्रमिकबीच बेला बेलामा समस्या आउने गरेकोले सामधानका लागि संवाद संयन्त्र आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागी मजदुर संगठनका नेताहरुले भने उद्योगी र मजदुर बीच उत्पन्न हुने विवाद र समस्या सुल्झाउन गठन गर्ने भनिएको त्रीपक्षीय संवाद संयन्त्र महत्वपूर्ण हुन सक्ने बताए ।

तर उक्त संयन्त्र क्रियाशील भएर काम गर्ने खालाको हुनुपर्नेमा उनीहरुको जोड थियो । कार्यक्रममा सहभागी नेपाल कारखाना श्रमिक संघका केन्द्रीय अध्यक्ष अमृतलाल जोशीले मजदुरका समस्या सम्बोधन गर्ने प्रतिबद्धता उद्योगीले जनाउने तर कार्यान्वयन भने नगर्ने प्रवृत्ति रहेको गुनासो गरे ।

उनले भने,‘तर अब संवाद संयन्त्रले त्यस्तो प्रवृतिको अन्त्य गर्ने अपेक्षा छ, यसका साथै यो संयन्त्रले उद्योग र मजदुरका सम्बन्धमा प्रदेश सरकारले बनाउने कानुनमा पनि भूमिका खेल्न सक्नु पर्छ ।'

अखिल नेपाल ट्रेड युनियन महासंघका बेनी प्रसाद तिमल्सिनाले समस्यालाई गम्भीर रुपमा लिएर समाधान गर्ने संयन्त्र आवश्यक देखिएकोले संवाद संयन्त्र गठनमा आफूहरु सहमत भएको बताए ।

उद्योगीहरुले विभिन्न बहानामा मजदुरलाई कामबाट निकाल्ने गरेको र उद्योगीका पनि आफ्नै खालको समस्या रहेको भन्दै तिमल्सिनाले भने,‘अब बन्ने त्रिपक्षीय संवाद संयन्त्रले त्यस्ता सबै समस्या सुल्झाउन सकारात्मक भूमिका खेल्न सक्छ ।'

अन्तर्राष्ट्रिय श्रमिक संगठन नेपालका प्रतिनिधि हरि पौडेलले औद्योगिक क्षेत्रका समस्या सामधानका लागि सहकार्यको वातावरण बनाउन उद्योगी, मजदुर र सरकार बीच छलफल गर्न सामाजिक संवाद संयन्त्र गठन गर्न लागिएको बताए ।

अहिलेको कोरोना महामारीले उद्योगी र मजदुर बीचमा अझ द्वन्द्ध बढेको भन्दै उनले भने,‘यो बेला सकरात्मक संवादको अझ धेरै आवश्यकता छ र यो संयन्त्रले दुवै पक्षका लागि वीन-वीन सिचुएसन कायम गराउन प्रभावकारी भूमिका निर्वाह गर्नेछ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.