बालविवाहको आरोपमा बेहुलासहित ३ पक्राउ
वीरगन्ज : पर्सा प्रहरीले बालविवाह गर्ने र गराउनेमा संलग्न बेहुलासहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेहुला, बेहुलाका बुवा र बेहुलीका बुवा रहेका छन्।
बाराको प्रसौनी गाउँपालिका— ५ बेलहियाका महेश सहनीकी १७ वर्षीया छोरीसँग पर्साको पकाहामैनपुर गाउँपालिका—१ धोरेका ठग सहनीका २४ वर्षीय छोरा विशाल सहनीको असार १९ गते धोरेस्थित भुटनदेवी मन्दिरमा बिहे भएको थियो।
नेपालको प्रचलित कानुनअनुसार उमेर नै नपुगी १७ वर्षीया बालिकाको बिहे गरिएको भन्दै गाउँलेले प्रहरीमा मौखिक उजुरी दिएका थिए। त्यही उजुरीको आधारमा बिहे भएको ११ दिनपछि बुधबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बेहुला विशाल, उनका बुवा ठग र बेहुलीका बुवा महेशलाई पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
बिहे असार १९ गते नै भएको भए पनि प्रहरीकोमा उजुरी ढिला गरी आएकाले बुधबार तीन जनालाई नियन्त्रणमा लिइएको खनालले बताए। उमेर नपुगी गरिने विवाह स्वतः रद्द हुने भएकाले बेहुलीलाई बेहुलाको घरबाट उद्धार गरी परिवारजनको जिम्मा लगाइएको खनालले जानकारी दिए। प्रहरी हिरासतमा राखिएका तीनै जनाविरुद्ध पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी मुलुकी अपराध संहिताको दफा १७३ विपरीत विवाहसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको खनालले जानकारी दिए।
पर्सा प्रहरीले यसअघि फागुन १५ गते पनि बालविवाह गर्ने बेहुला र उनका बुवालाई बिहे भएको २५ दिनपछि पक्राउ गरेको थियो। माघ १९ गते पर्साको वीरगन्ज महानगरपालिका— १६ नगवाका १९ वर्षीय बेहुला र त्यही वडाको लक्ष्मीनारायण टोलकी १७ वर्षीया बालिकाबीच बिहे भएको थियो। बालविवाह गर्ने १९ वर्षीय बेहुला र उनका ४६ वर्षीय बुवालाई प्रहरीले फागुन १९ गते पक्राउ गरी मुलुकी अपराध संहिताको दफा १७३ विपरीत विवाहसम्बन्धी कसुरमा मुद्दा चलाएको थियो।
जिल्लाका विभिन्न स्थानमा अझै पनि २० वर्ष उमेर पूरा नभएका युवायुवतीको वालविवाह गर्ने तथा अभिभावकले गराउने गरेको भन्ने जानकारी आइरहेकाले यस सम्बन्धमा प्रहरीको गम्भीर ध्यानाकर्षण भएको प्रहरी नायब उपरीक्षक खनालले बताए। त्यसैले कहीँ पनि कसैले वालविवाह गर्न लागेको, गरिरहेको वा बालविवाह भइसकेको भए पनि प्रहरी कार्यालयमा उजुरी वा खबर गर्न आग्रह गरिएको पर्साका प्रहरी प्रवक्ता खनालले जानकारी दिए।