सिकाइ सामग्रीले विद्यार्थी आकर्षित
मुगु : विद्यालय छाड्नेको संख्या वृद्धि हुन थालेपछि बालबालिकका लागि विद्यालयमा शिक्षण सिकाइका सामग्री उपलब्ध हुन थालेका छन्। यही कारण जिल्लामा बालबालिकाहरू विद्यालयमा आकर्षित हुन थालेका हुन्।
सोरु गाउँपालिकाका २८ वटा विद्यालयमा कक्षा १ मा अध्ययन गर्ने बालबालिकाको पढाइका लागि बसाइ व्यवस्थापन र बालमैत्री शिक्षण सिकाइका समग्री उपलब्ध हुँदा विद्यालयमा बालबालिकाको संख्या बढ्न थालेको हो। विद्यालयमा बसाइ व्यवस्थापन तथा बालमैत्री शिक्षण सिकाइका सामग्री, कक्षाकोठा मर्मत, शौचालय निर्माण भएकाले बालबालिकाहरू विद्यालयमा आकर्षित हुन थालेको सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लले बताए।
सिकाइ सामग्रीकै अभावले प्रत्येक विद्यालयमा दुईदेखि तीन जनासम्म बालबालिका विद्यालय छोड्नेको गरेको जानकारी आउने गरेको थियो। कक्षाकोठाको बसाइ व्यवस्थापन, छात्रछात्रा शौचालय, बालमैत्री मचान र शिक्षण सिकाइका सामग्रीसहित अन्य तालिमले गर्दा गएको कात्तिक महिनाबाट बालबालिकाहरू विद्यालय छोड्ने संख्या शून्य भएको सोरु गाउँपालिका शिक्षा शाखाका प्रमुख निर्मल देवकोटाले बताए। कोभिडका कारण अहिले विद्यालयमा पढाइ भएको छैन। बसाइ व्यवस्थापन र शिक्षण सिकाइका सामग्रीकै कारणले बालबालिकाहरूलाई बहुकक्षा सञ्चालन गर्नुपर्ने बाध्यता थियो।
कात्तिक महिनादेखि ग्रामीण समुदाय संस्थाद्वारा अपांगता अधिकार तथा शिक्षा सुदृढीकरण परियोजना लागू भएपछि विद्यालयमा बसाइ व्यवस्थापन, शिक्षण सामग्री उपलब्ध गराएकाले यो वर्ष विद्यालय छोड्ने बालबालिकाहरूको संख्या शून्य रहेको कालिका मावि लिब्रुका प्रधानाध्यापक अंग बुढाले जानकारी दिए। यो वर्ष कक्षा १ का बालबालिकाहरूका लागि बसाइ व्यवस्थापन, शिक्षण सामग्री, बुक कर्नर, स्वास्थ्य सरसफाइ तथा सुरक्षा सामग्री कक्षाकोठा मर्मत गरिएको छ।