उदयपुरमा एक बृद्धको हत्या
उदयपुर : आफ्नै घरको कामदारले खुकुरी प्रहार गरी उदयपुरमा एक बृद्धको हत्या गरेका छन् । बुधबार बिहान सामान्य विवादमा त्रियुगा नगरपालिका -१३ पोर्ताहका ४५ वर्षीय मेमोरी भनिने किसान सदाले खुकुरी प्रहार गर्दा त्रिनपा-८ उत्तराईटोलका ६५ वर्षीय बृद्ध महिकर चौधरीको ज्यान गएको हो ।
घटना लगत्तै प्रहरीले सदालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए । उनलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको उनले बताए ।
सदा केही वर्ष यता चौधरीको घरमा बसेर काम गर्दै आएका थिए । सामान्य विवादमा नै खुकुरी प्रहार किन गरियो भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी गौतमले बताए ।