वरिष्ठ कलाकार नेपालीको निधन
काठमाडौं : वरिष्ठ कलाकार उत्तम नेपाली (उत्तमप्रसाद कर्माचार्य) को ८५ वर्षको उमेरमा बुधबार निधन भएको छ । करिब तीन वर्षदेखि श्वासप्रश्वास, मुटु रोग र अल्जाइमर्सबाट पीडित नेपालीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । कलाकार नेपाली नेपालको आधुनिक अमूर्त चित्रकलाको प्रवर्तकमध्येमा मानिन्छन् ।
काठमाडौंको किलागलमा वि.सं. १९९४ वैशाखमा जन्मिएका नेपालीले लखनऊबाट चित्रकलामा स्नातक गरेका थिए । अध्ययनपछि २०१८ सालमा स्वदेश फर्केपछि उनले आधुनिक चित्रकला सुरु गरेका थिए । कलाकार नेपाली नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य पनि हुन् । उनको नेपाल, भारत, जापानलगायत विभिन्न मुलुकमा चित्रकला प्रदर्शनीसमेत आयोजना गरिएको थियो ।
उनी गीतकार, कवि र कुशल अभिनय गर्ने कलाकारका रूपमा समेत परिचित थिए । उनको ‘बिना शीर्षकको’ नामक कवितासंग्रह प्रकाशित छ । यसैगरी ‘आमा’ र ‘हिजो आज भोलि’ चलचित्रमा अभिनयसमेत गरेका थिए । उनले निजामती सेवा लामो अनुभव पनि सँगालेका थिए । नेपालीलाई राष्ट्रिय प्रतिभा पुरस्कार २०५४ र सुप्रबल जनसेवाश्री तृतीय पदक प्रदान गरिएको थियो ।