तेस्रो भेरियन्टको कोरोना रोकथामको तयारीमा जाजरकोट
जाजरकोट : कोरोना महामारीको संभावित तेस्रो लहरबाट बच्न जाजरकोटमा प्रतिकार्ययोजना तयार गरिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हरिप्रसाद देवकोटको नेतृत्वमा बनेको कार्यदलले प्रतिकार्य योजना तयार गरेको हो । स्वास्थ्य मन्त्रालयले असोजपछि तेस्रो लहर आउन सक्ने भन्दै सचेत गराएको छ ।
जिल्लामै हालसम्म पिसिआर मेसिन नभएकाले परीक्षणमा निकै ढिलाइ र सास्ती खेप्नु परेको उल्लेख गदै तीन महिनाभित्र पिसिआर मेसिन खरिद गर्ने, तीन महिना भित्र अक्सिजन प्लान्ट स्थापना गर्ने, जिल्लाका चार स्थानमा तत्काल औषधीको बफर स्टक गर्ने, जिल्ला अस्पतालमा अलपत्र परेको भेन्टिलेटर सेवा सुचारु गर्न एक महिनाभित्र विशेषज्ञ जनशक्तिको व्यविस्थापन गर्ने, अस्पतालमा बालरोग विशेषज्ञलगायतका पदहरुमा तत्काल पदपूर्ति गर्न पहल गर्ने, जनचेतनामुलक प्रचारप्रसार गर्ने, लकडाउनको पालना गराउने, वडाध्यक्षको संयोजकत्वमा ५ सदस्यीय निगरानी समुह मार्फत महामारी नियन्त्रणमा सघाउने प्रतिकार्य योजनामा उल्लेख छ ।
साथै सवारी साधनलाई बेलाबेला सेनिटाइज गर्ने, ६ महिना भित्र सवै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने ब्यवस्था मिलाउने, संस्थागतत आइसोलसन बनाइ तयारी अवस्थामा राख्ने, कोरोना संक्रमितलाई मनोपरामर्श सेवा प्रदान गर्ने, जिल्लामै ब्लड बैक नभएको हुँदा दुई महिना भित्र ब्लड बैकको स्थापना गर्ने, सबै स्वास्थ्य संस्थामा अक्सिजन सिलिन्डर, अक्सिमिटर र अक्सिजन कन्सन्टेटर स्थापना गर्ने कार्ययोजनामा समेटिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए ।
पहिलो र दोस्रो लहरको कोभिडको सामना गरिसकेको र धेरै कुरा अनुभव भएकोले सोही आधारमा संभावित तेस्रो लहरबाट बच्न चाल्नु पर्ने कदम बारे कार्ययोजनामा समेटिएको प्रजिअ देवकोटाले बताए । प्रतिकार्ययोजना कार्यान्वयनका लागि वडादेखि स्थानिय सरकार हुँदै प्रदेश सरकार र संघिय सरकारले दायित्व लिनु पर्ने कुराहरु छन् ।
त्यस्तै स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वास्थ्य संस्था, रेडक्रस, उद्योग बाणिज्य संघ, संचारमाध्याम लगायतले गर्नुपर्ने र खेल्नुपर्ने भुमिका बारे किटानका साथ जिम्मेवारी बाँडफाँड गरिएको प्रजिअ देवकोटाले बताए । प्रतिकार्ययोजना निर्माणमा प्रहरी, सेना, सशस्त्र प्रहरी, रेडक्रस, स्वास्थ्य कार्यालय, नगरपालिका लगायतको संलग्नता रहेको थियो । स्वास्थ्य मन्त्रालयले असोज १५ मा कोरोनाको तेस्रो लहर आउन सक्ने र मंसिरमा संक्रमण पुनः बढ्न सक्ने प्रक्षेपण गरेको अवस्थामा जाजरकोटले पूर्वतयारी थालेको हो ।