पोखरा विश्वविद्यालयले दीक्षित नगर्दा हजारौं विद्यार्थी मर्कामा
पोखरा : यमुना क्षेत्रीले पोखरा विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायबाट स्नातक सकेको ३ वर्ष पुग्यो। उनले उत्तीर्णको लब्धांकपत्र पनि पाइसकिन्। तर, दीक्षित हुन पाएकी छैनन्। उनी उत्तीर्ण भएयता विश्वविद्यालयले दीक्षान्त समारोह नै गरेको छैन। उनका सबै साथीहरूको हालत पनि उही छ। अझ स्नातक सकेर विदेश जान खोजेका साथीहरूको बिजोग भएको उनी बताउँछिन्।
‘विदेशको विश्वविद्यालयमा छात्रवृत्ति आवेदन दिएको छु,’ क्षेत्रीले भनिन्, ‘त्यहाँ त दीक्षान्त भएको प्रमाणपत्र पनि चाहिँदो रहेछ।’ त्यत्तिका कारण आफ्ना थुप्रै साथीहरू थप अध्ययनका लागि विदेश जान नपाएको उनले सुनाइन्। ‘पढेर त सकियो तर कन्भोकेसन (दीक्षान्त) नहुँदा खुसी हुन नसकिँदो रहेछ,’ उनले भनिन्, ‘के नपुगे जस्तो र पूर्ण नभएको जस्तो भएको छ।’ दीक्षान्त नभएकै कारण हजारौं विद्यार्थी मर्कामा परेका क्षेत्रीले सुनाइन्।
सुनील तिमिल्सिनाले पनि पोविविबाटै एमबीए सकेका हुन्। उनले पनि दीक्षान्त समारोहमा भाग लिन पाएका छैनन्। ‘दीक्षान्त नहुनु भनेको त विद्यार्थीले पहिचान नपाउनु हो,’ उनले भने। धेरै विद्यार्थीले दीक्षान्त नभएकै कारण थप अध्ययनका लागि विदेश जान नपाएको गुनासो आफूहरूलाई आइरहेको पोविवि स्ववियुका संस्थापक सभापतिसमेत रहेका तिमिल्सिना बताउँछन्। ‘कोभिड भएकैले कतिपय देशमा जान नमिलेर मात्रै हो, नत्र धेरै विद्यार्थीको ठूलो दबाब छ दीक्षान्त गर्नुपर्छ भनेर’, उनले भने। प्रतीक्षा गैरे पनि जनसंख्या, लैंगिक तथा विकासमा स्नातकोत्तर गरेर दीक्षान्तबिनै बसिरहेकी छन्। उनले भाइबहिनीहरूको दीक्षान्त हुने बेलासम्म पनि आफूहरूलाई अवसर नआएको भन्दै दुखेसो पोखिन्।
विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याल भने आफ्नो ध्यान दीक्षान्त गर्नमै रहेको बताउँछन्। ‘दसैंपछि वा फागुनसम्ममा दीक्षान्त गछौं,’ उनले भने। विश्वविद्यालयले दीक्षान्त नगरेको २ वर्ष पूरा भइसकेको छ। अर्यालले २ वटा दीक्षान्त एकैचोटी २ दिन भए पनि गर्ने योजनामा आफूहरू रहेको बताएका छन्। कोभिड–१९ को कारण पनि दीक्षान्त समारोह गर्न कठिन भएको उनको भनाइ छ। तर, त्रिभुवन र काठमाडौं विश्वविद्यालयले भने भर्चुअल्ली भए पनि दीक्षान्त समारोह गरिसकेका छन्।
दीक्षान्त समारोहका लागि धेरै तयारी गर्नुपर्ने हुँदा पनि ढिला हुन गएको उपकुलपति प्राडा अर्यालले बताए। तर उनी स्वयं उपकुलपति भएर आएको पनि १ वर्ष हुन लागेको छ। उनी २०७७ असोज १४ गते पोविविमा उपकुलपति नियुक्त भएका हुन्। २०७६ अघिसम्म भने पोविविको दीक्षान्त समारोह निरन्तर भइरहेको थियो। तत्कालीन उपकुलपति प्राडा चिरञ्जीवी शर्माको कार्यकाल सकिएको झन्डै १ वर्षपछि मात्रै पोविविले उपकुलपति अर्याल पाएको थियो। अर्यालले २०७८ वैशाख ६ गतेमात्रै डा. दीपक भण्डारीलाई रजिस्टार नियुक्त गरेका थिए।
पोविविमा उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि विद्यार्थीले आन्दोलनै समेत गर्नुपरेको थियो। तत्कालीन कुलपति तथा प्रधानमन्त्री केपी ओलीका पालामा उनकै पार्टी र सत्ता साझेदार माओवादीबीच भागबन्डामा कुरा नमिल्दा पोविविले लामो समय उपकुलपति लगायत पदाधिकारी पाएको थिएन। पछि ओलीले माओवादीको सट्टा कांग्रेसको भागमा पोविवि पारेर अर्यालको नियुक्ति गरेका थिए।