श्रृंगारमा सखीहरू
सखीफूललोढ चलु फूल बरिया,
मिथिलामा मधुमासको रमणीय महिना सुरु भएसँगै नवविवाहित जोडीहरूको मनमोहकपर्व मधुश्रावणी पनि मनाइँदै छ। श्रावण कृष्ण पञ्चमीको दिनदेखि सुरु भई श्रावण शुक्ल तृतीयासम्म मनाइने यो १३ दिवसीय पर्वको रौनक अहिले मिथिलाञ्चलका गाउँ, सहर सबैतिर हेर्न सकिन्छ।
नवविवाहित महिलाहरूले बेहुलीझैं श्रृंगार गरेर प्रत्येक साँझ झुण्ड बनाइ टोल, मन्दिर र बगैंचाहरूमा फूललोढी (फूल टिप्ने) गर्दै, गीत गाउँदै हिँड्ने दृश्यले मिथिलाको संस्कृतिलाई उजागर गर्छ नै। पर्वको महत्वलाई पनि वर्णन गर्छ।
फूललोढीका बेला गाइने गीतहरूमा नवदम्पतीको प्रेम, विश्वास र सामिप्यताको सन्देशहरू हुन्छ। नवजोडीका लागि यो उत्सवसरह नै हो। आमोद–प्रमोद, हास–परिहास र उन्मादले भरिएको यो पर्व नवविवाहित जोडीका लागि गृहस्थ जीवनमा प्रवेश गर्ने सुन्दर अवसरका रूपमा रहेको छ।
प्रेम, उन्माद र विशिष्ट संस्कृतिका रूपमा रहेको यो पर्व मैथिल समुदायका ब्राह्मण, कायस्थ र सोनार जातिले मनाउने चलन छ। सामाजिक, सांस्कृतिक परम्परामा आधारित यस पर्वमा मैथिल नववधुले श्रीमान्को घरबाट पठाएको फरिया, घोघट लगाएरै १३ दिनसम्म पूजापाठ गर्ने गर्छिन्। पूजाको सुरुआतमा माटो र गाईको गोबरबाट कलात्मक नाग, नागिनको मूर्ति बनाई पर्वको शुभारम्भ गरिन्छ। सांस्कृतिक अनुष्ठानको रूपमा रहेको यस पर्वको प्रारम्भमा पहिलो दिन व्रत लिनेले पवित्र स्नान गरी चोखोनितो बनेपछि व्रत संकल्प गर्छन्। व्रतअवधिभर मन चोखो राखी पवित्र सात्विक भोजन गर्नुपर्ने विधान छ।
व्रतमा प्रत्येक दिन सूर्यास्तपूर्व नववधु पूर्णश्रृंगार गरी सखीहरूसँगै फूललोढी गर्ने र साँझ टिपेर ल्याएको फूल भोलिपल्ट बिहान शिव, पार्वती र विषहरालाई अर्पण गर्ने परम्परा छ। ससुरालीबाट पठाइएको अन्न र चोखो परिकार मात्रै खाने र प्रत्येक दिन गौरी तथा नागनागिनको पूजा गरी शिव, पार्वती र नागसँग सम्बन्धित कथा नववरवधुलाई सुनाउने गरिन्छ। माता गौरीलाई दाम्पत्य जीवनको संरक्षिका र नागलाई नारीको पतिका रूपमा मानिएकाले यस पर्वमा गौरी तथा नागनागिनको विशेष पूजाआराधना गर्ने गरिएको संस्कृतिविद् डा. राजेन्द्र विमल बताउँछन्।
मधुश्रावणी व्रतको सुरुआत
माता गौरी दाम्पत्य जीवनलाई सुखी बनाउने मात्र होइन, मनकामना पूर्ण गर्ने देवीको रूपमा मानिएकी हुन्। वाल्मीकि रामायणका अनुसार मिथिलाकी राजकुमारी सीताले गौरी पूजन निरन्तर गरेकै कारण भगवान् रामजस्ता पति पाएको उल्लेख छ।
यो पर्व कहिलेदेखि सुरु भएको भन्न सकिने तथ्य नरहे पनि शिवमहापुराणमा उल्लेख भएअनुसार मधुश्रावणी नाम गरेकी नवविवाहिताले पतिलाई कुष्ठरोग भएको व्यथा शिवलाई सुनाएकी थिइन्। शिवले तिनलाई यस प्रकारको व्रत गर्न सुझाव दिए। सोही व्रत गरेपछि उनका पति निको भई स्वस्थ्य जीवन बिताउन थाले। सोही कारण पनि मधुश्रावणी मनाउँदै आएको पाइन्छ।
यस पर्वमा प्रत्येक दिन नववधुलाई भिन्न कथाहरू सुनाउने गरिन्छ। जसमा मैनामञ्चमी, विषहरी, बिहुला, मनसा, मंगलागौरी, पृथ्वीजन्म, समुद्र मन्थन, सतीका कथाहरू छन्। मधुश्रावणी पर्वको एक कथाअनुसार एकपटक भगवान् शिव, माता पार्वतीसँग जलक्रिडा गरिरहेका थिए। सोही समयमा भगवान् शिवको वीर्य स्खलन भयो। शिवले सो वीर्य रूखको पातमा राखे। सोही वीर्यबाट पाँचकन्याको जन्म भयो। ती पाँच कन्याको नाम जया, विषहर, शामिलबारी, देव र दोतली राखियो।
ती कन्याहरूको जन्म भएपछि भगवान् शिव त्यहाँबाट कैलाश फर्किए। तर, उनी बेला–बेलामा छोरीहरूलाई भेट्न आउँथे। सो क्रम धेरै दिनसम्म चलिरह्यो। माता पार्वतीलाई भगवान् शिवमाथि शंका लाग्यो। उनी एक दिन शिवको पछि लागिन्। भगवान् शिव तलाउमा आफ्ना सर्परूपी छोरीहरूसँग खेलिरहेको देख्दा पार्वती क्रोधित भइन्।
उनले ती सर्पकन्याहरूलाई मार्ने प्रयास गरिन्। तर, भगवान् शिवले पार्वतीलाई रोक्दै ती सर्पकन्याहरूको उत्पत्तिको वास्तविकता सुनाए। पार्वतीले श्रीमान्को कुरा सुनेपछि ती कन्याहरूलाई मारिनन्। त्यसपछि महादेवले भने, ‘साउन महिनामा जो कोही सर्पको पूजा गर्छ, उसलाई सर्पबाट भय हुँदैन।’ यसै कारण पनि मधुश्रावणीमा विषहरा र सर्पको पूजा गर्ने परम्परा छ।
दाम्पत्य जीवनलाई सुखमय बनाउने प्रशिक्षण
सखी हे सावन के बुनझिसी...
पियासँग खेलबपचिसीना...
दाम्पत्य जीवनमा आइपर्ने कठिनाइहरूलाई कसरी समाधान गर्ने र वैवाहिक जीवनलाई कसरी सुखमय बनाउने भन्ने विषयमा प्रशिक्षण दिने गरिन्छ। विभिन्न देवी देउताको जीवनमा आएका सुखद् र दुःखद् घटनाहरूलाई कथाको माध्यमबाट सुनाएर नवजोडीको दाम्पत्य जीवनलाई सुखमय बनाउने उद्देश्यले एक प्रकारको प्रशिक्षण वा तालिम दिनु नै यस पर्वको विशेषता रहेको संस्कृतिविद् प्राध्यापक परमेश्वर कापडी बताउँछन्।
पर्वमा कतिपय कथा शिवपार्वतीको वैवाहिक, रोमाञ्चक प्रसंग र ठठ्यौलीले भरिएका कारण नारी जीवनमा पतिप्रतिको स्नेह, सौहार्दतालाई प्रगाढ बनाउन यस पर्वले प्रेरित गर्ने गरेको संस्कृतिविद्को बुझाइ छ। साउनको मनमोहक महिनामा प्रगाढ प्रणय सम्बन्धलाई अपिल गर्ने भावना जागृत हुने गर्दछ। यस्तो बेला मानव विवाहिता जोडीबीच प्रेमरागदेखि भावनात्मक एकता गराउनु यस पर्वको मनमोहक पक्ष हो।
टेमीको यथार्थ
मधुश्रावणी पर्वका विभिन्न रोमाञ्चक र मनोरञ्जनात्मक पाटो भए पनि यस पर्वअन्तर्गत नववधुसँग गरिने ‘टेमी’ विधिले निकै चर्चा परिचर्चा पाउँदै आएको छ।
यस विधिकै कारण यस पर्वलाई कतिपयले गलत विश्लेषण गरेर महिला हिंसाको रूपमा पनि व्याख्या गरेको पाइन्छ। पर्वको १२औं दिन साँझ पूजाअर्चनापछि व्रतालुलाई ‘टेमी’ दिने गरिन्छ। श्रीमान्को घरबाट पानको पात र दियोको बत्ती टेमी दिनका लागि पठाइन्छ।
दियोमा बालिने बत्तीको लप्कोले व्रतालुको देब्रे गोडाको घुँडामा डाम्ने विधिलाई ‘टेमी’ भन्ने गरिन्छ। टेमी दिनुका पछाडि विभिन्न मिथकहरू छन्। ‘टेमी’ दिएको ठाउँमा फोका उठे भने त्यसले पति–पत्नीबीचको प्रेमसम्बन्ध प्रगाढ हुने जनविश्वास छ।
त्यसैगरी यसरी डाम्दा हुने पीडाजतिकै दाम्पत्य जीवनमा पर्न सक्ने दुःख, कष्ट पीडा खप्ने क्षमता नववधुमा होस् भनेर पनि यसलाई अथ्र्याइएको छ। तर, यो विधि अव्यावहारिक, अन्धविश्वासी र रुढीवादी रहेको भन्दै पछिल्लो समय यस विधिलाई परिस्कृत गर्दै लगिएको छ।
नयाँ पुस्तामा यस प्रकारको कुरीतिको स्थान नरहेकाले पर्वमा व्रतालुलाई बत्तीको लप्काले डाम्नुको साटो ‘शीतलटेमी’ अर्थात् चन्दनको लेप लगाउने परम्पराको विस्तार भएको छ।
‘हामीले पनि छोरी, बुहारीहरूलाई चन्दनको लेप लगाएर शीतल टेमी नै दिन लगायौं’, मैथिली भाषा अभियानी पुनम झा भन्छिन्, ‘प्रेम र समन्वयको यस पर्वमा यदि केही कुरा परिष्कृत गरेर यसलाई अझ बढी अपनत्वका साथ मनाउन सकिन्छ भने त्यसतर्फ सम्पूर्ण मैथिलवासीले पहल गर्नुपर्छ।’