मनकला हत्या प्रकरणः आरोपी दुई नाबालकलाई अनुसन्धानका लागि ५ दिन म्याद थपियो
जाजरकोट: रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका वडा नं. ४ की २६ वर्षीया मनकला खत्री खड्काको हत्या आरोपमा पक्राउ परेका दुई नाबालकमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप भएको छ ।
जिल्ला अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । अनुसन्धानका लागि प्रहरीले समय माग गरे अनुसार अदालतले हत्या आरोपमा पक्राउ परेका नाबालक दुई दाजु भाईलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी ध्रुवकुमार श्रेष्ठले बताए ।
वस्तु भाउलाई घाँस हाल्न गोठ गएकी मनकलाको सोमबार साँझ अचानक शव फेला परेको थियो । उक्त हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मनकलाका माइला जेठाजु केशरबहादुर खड्काका दुई नाबालक छोरालाई पक्राउ गरेको छ ।
सुरुमा जेठाजु केशरलाई पक्राउ गरिए पनि उनको घटनामा संलग्नता नदेखिएको भन्दै प्रहरीले रिहा गरिसकेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले हत्या गरेको स्वीकारेको र घटनामा प्रयोग भएको खुर्पा र मनकलाले लगाएका गरगहना पक्राउ परेका नाबालकको घरबाट बरामद गरिएको प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो ।
केही समय पहिले हत्यामा संलग्न भनिएका भतीजहरुलाई काकीले चोरीको आरोप लगाएकी थिइन् । उनीहरुले व्यक्तिगत इगोका कारण हत्या गरेको स्वीकार गरेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी गराए ।
हत्या आरोपमा मनकलाका जेठाजुका १५ वर्षीय र ११ वर्षीय छोरालाई प्रहरी पक्राउ गरेको छ । उनीहरु विरुद्ध कर्तव्य ज्यान तथा डाँका सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । तर हत्यामा संलग्न भनिएका दुवै १८ वर्ष मुनिका भएकोले धेरै कानूनी जटिलता रहेको प्रहरीको भनाइ छ ।