लेनदेनको विवादमा कुटपिटबाट जाजरकोटमा एकको मृत्यु
जाजरकोट: जाजरकोटको कुशे गाउँपालिका ८ स्थित जिन्तालामा स्थानीय युवाहरुको कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
स्थानीय युवाहरूले आपसी लेनदेनको विषयमा कुटपिट गर्दा घाइते भएका कुशे गाउँपालिका ८ जिन्तालाका ३५ वर्षीय इन्द्रबहादुर सिंहको शनिवार बिहान घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक खुमानन्द पाण्डेका अनुसार एक सामुदायिक संस्थाको रकम सम्बन्धमा विवाद हुँदा उनीहरु बीच झगडा भएको हो । शुक्रवार पधेरीखोला सामुदायिक संस्थाका सदस्य र पदाधिकारी भेला भएको थियो । छलफलपछि अन्य सदस्यहरु आ आफ्ना घर फर्के पनि केही युवाहरु बेलुका जिन्तालमै कुखुरा काटेर रमाइलो गर्न बसेका थिए ।
विमल संस्थाका अध्यक्ष हुन् भने मृतक इन्द्र सचिव हुन् । खाजा नास्ता खाने क्रममा उनीहरुबीच संस्थाको रकमका विषयमा केही समय विवाद भयो । विवादपछि विमल एक्कासी आक्रोशमा आएर चिर्पटले इन्द्रको टाउकोमा हिर्काएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको निरीक्षक पाण्डेले बताए ।
गम्भीर घाइते भएका उनलाई अन्य साथीहरुले घरमा पुर्याइदिएको तर शनिवार बिहान २ बजे उनको ज्यान गएको पाण्डेले बताए । समयमा उपचारको व्यवस्था गर्न सकेको भए उनको ज्यान जोगाउन सकिने प्रहरीको भनाइ छ । प्रहरीले कुटपिटमा संलग्न विमललाई आइतबार बिहान भेरी नगरपालिका २ बाहुनथानाबाट पक्राउ गरेको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनले कुटपिट गरेको स्वीकार गरेको प्रहरी निरीक्षक पाण्डेले बताए । घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षक शिवकुमार श्रेत्रीको कमान्डमा एक टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ । सदरमुकामबाट घटनास्थल एक दिनको दूरी करिव १५ कोष टाढा पर्छ । मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याइँदैछ ।