भेरीका बालबालिका पोषण भत्ताबाट वञ्चित
जाजरकोट : सम्बन्धित निकायको गम्भीर लापरवाहीले गर्दा भेरी नगरपालिकाका नौ सय २० बालबालिकाले एक वर्षको पोषण भत्ता नपाउने भएका छन् । पोषणमा सुधार ल्याउने उद्देश्यले सरकारले ५ वर्षमुनिका बालबालिकालाई दिँदै आएको आर्थिक वर्ष ०७७/७८ को पोषण भत्ता भेरीका चारवटा वडाका बालबालिकाले नपाउने भएका हुन् । तर धेरै बालबालिका अझै पोषण भत्ता पाउने आशमा छन् ।
समयमा बैंकमा रकम जम्मा नहुँदा भेरी नगरपालिकाका ४, ८, ९ र १० का नौ सय २० बालबालिकाको पुरै एक वर्षको करिब ४७ लाख रुपैयाँ फ्रिज भएको छ । मासिक चार सयका दरले एकजना बालबालिकाले चार हजार आठ सय रुपैयाँ पाउनबाट बञ्चित भएका छन् । यसअघि सम्बन्धित वडाले बालबालिकाका अभिभावकलाई नगद बुझाउने गरेकोमा गत आवको दोस्रो चौमासिकदेखि सरकारले अनिवार्य बैक खातामा भत्ता जम्मा गर्नुपर्ने राजपत्रमा सूचना जारी गरि निर्देशन दिएको भेरी नगरपालिकाका सामाजिक सुरक्षा शाखाका पोकल व्यक्ति केदार कार्कीले बताए ।
उनका अनुसार सोही निर्देशन बमोजिम वडा समितिले बैंक आफै रोजेर खाता खोल्न प्रक्रिया थालेका थिए । भेरीका १३ वडा मध्य नेपाल बैक लिमिटेड, राष्ट्रिय बाणिज्य बैक, सिटिजन्स बैंक र एनआइसी एसिया बैकमा सामाजिक सुरक्षा भत्ता र पोषण भत्ताका लागि खाता संचालन गर्ने निर्णय गरिएको थियो ।
भेरी नगरपालिकाले गत असार २९ गते नै चेक काटेर सबै डकुमेन्टसहित रकम जम्माका लागि एनआइसी बैकमा पठाएको पोकल व्यक्ति कार्कीले बताए । आर्थिक वर्षको अन्त्यमा काटेको चेक १५ दिन भित्र नसाटिए त्यो चेक स्वतः रद्द हुने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार त्यो ४७ लाखको चेक सटाउने अन्तिम म्याद साउन १२ गते सम्म थियो । अन्तिम दिनसम्म पनि आज मात्र म्याद हो चेक सटाउनु भयो कि भएन भनेर बैंकलाई फलोअप गरेका छौं, तर बैंकले कामै गरिदिएन फोकल व्यक्ति कार्कीले भने,' बैंककै लापरवाहीले गर्दा बालबालिका भत्ता पाउनबाट बञ्चित हुनपुगे ।'
स्रोतका अनुसार बैंकले सामाजिक सुरक्षाका अन्य चेक साटेपनि पोषण भत्ताको चेक राख्ने कर्मचारीले वेवास्ता गर्दा समय घर्किएको हो । बेला घर्किसकेपछि बैंकका मेनेजरलगायतका कर्मचारी नगरपालिका र कोष तथा लेखा नियन्त्रक कार्यालय गएर हारगुहार गरेपनि केही सीप नलागेको स्रोतको दावी छ ।
यस सम्बन्धमा एनआइसी एसिया बैंक जाजरकोट शाखाका प्रबन्धक खगेन्द्र मल्ल बैंक खाता खोल्ने स्वीकृतिलगायतका सबै काम केन्द्रबाटै हुने भएकोले ढिलाइ भएको बताए ।
उनले सामाजिक सुरक्षा भत्ता र पोषण भत्तामा पहिलोपटक काम गरेकाले पनि समस्या भएको स्वीकार गरे । सामाजिक सुरक्षा भत्ताको चेक साटेपनि पोषण भत्ताको चेक साट्न ढिलाइ भएको तर पछि सिस्टमले नै चेक लिन नमानेपछि यस सम्बन्धमा के गर्ने भनेर नगरपालिका, कोलेनी र बैंकको केन्द्रीय कार्यालयमा परामर्श भइरहेको मल्लले बताए ।
कोष तथा लेखा नियन्त्रकको कार्यालयका कोष नियन्त्रक नरेश भट्टले नगरपालिका र बैंक दुवैको लापरवाहीले गर्दा समयमा चेक नसाटिएको बताए । ‘खाता खोल्न ढिलाइ हुँदा पनि नगरपालिका के हेरेर बसेको ? अनि बैंकले पनि चेक साटेर पछि खाता खोलिसकेपछि ट्रान्सफर गरेपनि हुने । बालबालिकाको रकममा दुवैपक्ष सम्वेदनशील हुनुपथ्र्यो भएनन् । यो कुरामा इग्नोर गरेको देखियो । अब त्यो रकम जम्मा हुने र पाउने सम्भावनै छैन । सबै रकम फ्रिज भैसक्यो,' कोष नियन्त्रक भट्टले भने ।
पोषण भत्ता नपाउने भन्ने सुनेपछि अभिभावक आक्रोशित भएका छन् । भत्ता आउँला र तिरौला भनेर धेरै अभिभावकले अण्डा, फलफूल, दूध लगायतका पोषणयुक्त खानेकुरा उधारोमै किनेर आफ्ना बालबालिकालाई खुवाएका थिए ।
तर बैंक र नगरपालिकाको लापरवाहीले भत्ता नपाउने निश्चितजस्तै भएपछि उनीहरु निराश भएको भेरी नगरपालिका ४ की लिला पौडेलले बताइन् । उनले धेरै अभिभावक भत्ताका लागि बैंक धाउने गरेपनि नपाएर रित्तै फर्कने गरेको बताइन् ।
२) कापीकलमको जोहोको लागि भेरी नगरपालिका १० मा गिट्टी कुट्दै बालबालिका तस्बिर : राजेन्द्र कार्की