प्रविधिमैत्री बन्दै स्याङ्जा अदालत
स्याङजा : स्याङजा कारागारमा रहेका एक कैदी राम थापा (नाम परिवर्तन) को पेशी बुधबारका लागि तोकिएको थियो। नियमतः उनी सो दिन अदालतमा उपस्थित हुनुपथ्र्यो। तर, उनलाई अदालतसम्म जानु परेन। उनले कारागार शाखाबाटै आफ्नो उपस्थिति जनाए। कारागार शाखामा भएको इन्टरनेटको प्रविधि उपयोग गर्दै उनले आफनो पेशी लिए।
उनी जस्तै कारागार शाखामा रहेका धेरैजना कैदीवन्दीको पेशीका दिनचर्या यसरी नै बित्ने गरेका छन्। अदालत र कारागार शाखाको दुरी करिब सय मीटर पनि टाढा छैन। तर, संक्रमणका कारण उपस्थित सहज नभएको कारागार शाखा प्रमुख चुडामणी भण्डारी भन्छन्।
अदालतको प्रविधिमैत्री कार्यप्रति उनी पनि खुशी छन्। ‘क्षमताभन्दा तेब्बरको संख्यामा रहेका कैदीबन्दी एकजनामा पनि संक्रमणले छोयो भने सबैजना संक्रमित बन्न सक्छन, ' उनले भने, ‘भर्चुअल विधिको उपयोगले हुनसक्ने खतराको संभावनालाई न्यूनिकरण गरेको छ।’
कोरोना भाइरस संक्रमणका कारण अदालत प्रविधिमैत्री बन्न आवश्यक भएको जिल्ला न्यायाधीश बसन्तराज पौडेलले बताए। तीव्रत्तररुपमा फैलिएको कोरोना संक्रमण न्यूनिकरण गर्न यो विधि उपयुक्त हो।
यसैगरी, जिल्लाको आधा भू-भाग हेर्ने जिम्मेवारी पाएको वडा कार्यालय वालिङ्ले पनि आरोपितलाई भर्चुअल माध्यमबाटै उपस्थिति गराउने गरेको छ। सदरमुकामबाट करिब २७ किलोमीटर दक्षिणतर्फ वालिङ पर्छ।
भर्चुअल माध्यमबाटै आरोपितसँग बयान लिने, म्याद थप, बकपत्र जस्ता काम हुने गरेका छन्। अनुसन्धानमा रहेका आरोपितलाई पटकपटक म्याद थपका लागि लिएर आउनु पर्ने काममा सहज बनेको छ।
यसरी भर्चुअल विधिका प्रयोगले टाढाबाट आउँदा जाँदाको समयको बचत गराएको छ। यातायात खर्च कटौती भएको छ। आरोपितलाई लिएर यहाँसम्म आउदा लाग्ने ४/५ जना सुरक्षाकर्मीको समय बचत भएको छ। साथै उनीहरुलाई अन्यत्र काममा खटाउन सकिने भएको छ। त्यसो त, काममा छिटो छरितो र प्रविधिको प्रयोगमा पोख्त हुन सिकाएको छ।
स्याङ्जा अदालत प्रबिधिमैत्री बनेको छ। कोरोना भाइरस संक्रमणका कारण उपस्थित हुन असहज बनेका बेला अदालतले यस्तो विधि अपनाएको हो। कोरोना संक्रमणले धेरै नकारात्मक प्रभाव पारेका बेला केही सकारात्मक काम पनि सिकाएको छ भन्छन् अर्का न्यायाधीश सूर्य थापा।
यसैगरी, दुईजना न्यायाधीश रहेको अदालतले मोबाइल एसएमएसलाई पनि उपयोग गर्दै आएको छ। मुद्धा दर्तावालाले दिएको मोबाइल नम्बरका आधारमा उनीहरुलाई खबर दिएर मुद्धाका बारेमा स्मरण गराउने गरिएको श्रेस्तेदार विश्वप्रसाद रेग्मीले जानकारी गराए।
कोरोना संक्रमणका कारण बाहिर निस्कन नपाइएका बेला सूचना प्रविधिको प्रयोग र पहुँच ह्वात्तै बढेको छ। जिल्लामा निषेधाज्ञासँगै सुरु भएको भर्चुअल प्रविधिको उपयोग गर्न थालेको सूचना शाखा प्रमुख श्रीकृष्ण तिमिल्सीना बताउँछन्। उनका अनुसार वैशाखदेखि शुक्रबारसम्म झण्डै एक सय भन्दा बढी मुद्धामा ३ सय पटक भन्दा बढी भर्चुअल उपस्थिति गराइएको छ।
अदालतले मुद्धाका आरोपितलाई पहिलो पटक अदालतमा उपस्थित गराएपछि दोस्रो, तेस्रो, चौथो पटकसम्म म्याद थप गर्दा भर्चुअल विधि उपयोग गर्ने गरेको छ।