नामथर ढाँटेर पोखरामा लागूऔषध सप्लाई
पोखरा: कास्की प्रहरीले पोखरा १ बगरका ४९ वर्षे अर्जुनकुमार गुरुङलाई असारको ३० गते पक्राउ गरेको थियो । जसबाट लागु औषध डाइजेपाम ६७०, फेनरागन ६७० र ब्रपिनर्फिन ६७४ एम्पुल बरामद भएको थियो । अर्जुनले लुकीलुकी लागुऔषध कारोबार गर्दै आएका थिए, जो पहिल्यै पनि प्रहरी नियन्त्रणमा परिसकेका व्यक्ति हुन् ।
कास्की प्रहरीका अुनसार अर्जुन लागुऔषधको पोखराका लागि थोक बिक्रेताका रुपमा काम गरिएका थिए । उनी आफ्नो परिचय नदिई नदिई खुद्रा बिक्रेतालाई लागु औषध दिन्थे । खुद्राकहाँबाट प्रयोगकर्तासम्म पुग्थ्यो । तर अर्जुन आफैंले चाहिँ कहाँबाट ल्याउँथे त ? यो प्रश्नको उत्तरको खोजी कास्की प्रहरीले जब गर्यो, पत्ता लाग्यो कि भैरहवाबाट । त्यसरी खोजी गर्दै जाँदा अर्जुनलाई लागु औषध सप्लाई गर्ने व्यक्तिलाई पक्रन प्रहरी सफल भएको छ ।
‘भैरहवा बस्ने ‘रमेश गुप्ता’ भन्ने व्यक्तिमार्फत लागु औषध खरिद गर्ने गरेको,’ कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमाल भन्छन् । त्यही सूचनाका आधारमा ‘रमेश गुप्ता’ लाई पक्राउ गरी दिन कास्की प्रहरीले रूपन्देही जिल्ला प्रहरी तथा इलाका प्रहरी कार्यालय बुटवललाई अनुरोध गरेको थियो । कास्कीले पठाएको हुलियाका आधारमा रूपन्देहीको प्रहरी टोलीले साउन २१ गते तिनै गुप्तालाई पक्रेको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर २ मैनाबगरमा लागु औषध बिक्री गर्न ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको डिसपी हमालले जनाएका छन् । उनको साथबाट लागु औषध फेनरागन ४५७, नुफिन ४६२, सेरीजेट ४७६, नाइट्रोसन ६७५ चक्की र नाइट्रोभ्याट ७० चक्की बरामद भएको छ । गुप्तासहित ३ जनालाई प्रहरीले समातेको थियो । केही महिला जो गुप्तामार्फत लागु औषध पोखरा ल्याइपुर्याउँथे, तिनीहरु पनि पक्राउ परेका हुन् । बुटवल उपमहानगरपालिका वडा नम्बर २ मैनाबगर बस्ने वर्ष ४५ की सानदेवी पुन र नवलपरासी सरवाल गाउँपालिका ४ बस्ने वर्ष ३४ की शुभादेवी हरिजन पक्राउ परेकी हुन् ।
रोचक त के भने त्यसरी रमेश गुप्ता भनेर चिनिने व्यक्ति प्रकाश बानियाँ रहेछन् । जसको खास ठेगाना सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ खजना हो । उनले नामथर ढाँटेर पोखरामा लागुऔषध सप्लाई गर्दै आएको खुलेको हो । ४५ वर्षे उनले साधारण महिलाहरुलाई ललाई फकाई पैसाको प्रलोभनमा पारेर लागुऔषध ओसारपसार गर्न लगाउँदै आएको पनि खुलेको छ । गुप्ताकहाँबाट पोखरासम्म लागुऔषध ओसारपसार गर्ने महिलाहरुलाई पछ्याउँदै जाँदा उनलाई पक्राउ गर्न प्रहरी सफल भएको थियो ।
कास्की प्रहरी प्रमुख भएर हालै आएका एसपी रमेश थापाले पोखरामा लागुऔषध बिक्री र प्रयोग नियन्त्रण गर्न यसको मूल नै रोक्ने योजना बनाएका थिए । त्यसै सिलसिलामा कास्की प्रहरीले थोक बिक्रेता अर्जुन गुरुङ हुँदै सप्लायर्स रमेश गुप्ता भनिने प्रकाश बानियाँलाई पक्रन सफल भएको हो । सर्वसाधारणलाई प्रयोग गरी बानियाँले भारतबाट लागूऔषध भित्र्याउने गरेको बुझिएको छ ।
एसपी थापा लागुऔषध दुव्र्यसनबाट पोखरालाई मुक्त गरिनुपर्ने बताउँछन् । त्यसका लागि उनले दुव्र्यसनमा फँस्न सक्ने उमेरका केटाकेटीहरुलाई अनलाइन प्रशिक्षण दिन लागेको जानकारी पनि दिए । विद्यालयहरुमार्फत अनलाइन प्रशिक्षण दिने कास्की प्रहरीको योजना हो । ‘कोही पनि लागुऔषध दुव्र्यसनमा नफस्नका लागि परिवारले सबैभन्दा धेरै ख्याल गर्नुपर्छ, सही अभिभावकत्व दिनसक्नुपर्छ ।’