वर्षाले पहिरैपहिरो : मध्य पहाडी राजमार्ग बिहानैदेखि अवरुद्ध
सिन्धुली : वर्षाका कारण सिन्धुलीस्थित बीपी राजमार्ग र मध्य पहाडी लोकमार्ग अवरुद्ध भएका छन् । ठाँउठाँउमा खसेको पहिरोले मध्य पहाडी लोकमार्गअन्तर्गत सिन्धुली जिल्लाको खुर्कोट–घुर्मी खण्ड अवरुद्ध भएको हो। यस्तै बीपी राजमार्गको खनियाखर्क–खुर्कोट खण्ड पनि अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।
प्रहरी निरीक्षक बुद्धिमणी नेपालका अनुसार मध्य पहाडि लोकमार्गको गोलन्जोर गाउँपालिकाअन्तर्गत हैबार, कालिआँप, खुकुरेटार, कुँडुले र च्याकुटारमा सडक अवरुद्ध भएको हो ।
‘मध्यपहाडी लोकमार्गमा पाँच ठाँउमा गएको पहिरो गएको छ। च्याकुटार र कालीआँपमा गएको ठूलो छ । हैबार र कुखुरेटारमा पनि पहिरो बग्न सुरु भएको र वर्षा समेत कम नभएको हुँदा पन्छाउन सकिएको छैन,’ उनले भने ।
सडक खुलाउन आइतबार बिहानैदेखि जेसिबीसहित खटिएको प्रहरी टोली पानी नरोकिएपछि त्यतिकै फर्किएको छ । च्याकुटारमा ठूलो ढुंगा सडकमा बसेकाले लोकमार्ग नै ठप्प भएको छ।
मध्यपहाडी लोकमार्गअन्तरगत खुर्कोट–घुर्मी खण्ड अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्ला खोटाङ, ओखलढुंगा, सोलुखुम्बुबाट राजधानी काठमाडौं आवतजावत गर्ने सवारी साधन अलपत्र परेका छन् । मध्य पहाडि लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तरगत ६१ किलोमिटर सिन्धुलीमा पर्दछ ।
उता बीपी राजमार्गअन्तरगत गोलन्जोर गाँउपालिका–७ कानढुंग्रीमा अवरुद्ध सडक जेसिबी लगाएर सूचारु गरिने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोजकुमार लामाले जानकारी दिए ।