सशस्त्र प्रहरीको काँडेतारभित्र पशु अस्पताल !
जाजरकोट : आफ्नै भवन र फराकिलो जग्गा हुँदाहुँदै पनि पशु अस्पताल तथा पशु सेवा कार्यालय सशस्त्र प्रहरीको काँडेतारभित्र खुम्चिएर बस्नु परेको छ। जनतासँग प्रत्यक्ष सम्पर्क र सम्बन्ध रहने कार्यालय दुई वर्षदेखि सशस्त्र प्रहरी बलको काँडेतारभित्र गुम्सिएर बस्नु पर्ने बाध्यता आइलागेको हो। भवन र ठाउँ अभावमा पशु अस्पताल संचालनमा आउन सकेको छैन।
सदरमुकामस्थित थाप्लेमा कार्यालयको नाममा सात रोपणी जमिन छ। उक्त जमिनमा पाँच वटा भवन छन्। अरु सबै सशस्त्रले प्रयोग गर्न थालेपछि बाँकी रहेको एउटा भवनमा गुम्सिएर बस्नु परेको कार्यालयको भनाई छ। संघिय संरचना अन्र्तगत कार्यालयहरुको पुर्नसंरचना गर्ने क्रममा २०७४ सालमा जिल्ला पशु सेवा कार्यालय जाजरकोट खारेज गरेर पश्चिम रुकुमस्थित पशुपंक्षी विज्ञ केन्द्रमा गाभिएको थियो। तर सम्पर्क कार्यालयको नाममा केही कामकाज सोही अफिसबाट भइरहेको थियो।
२०७४ सालमा सरकारले जाजरकोटमा सशस्त्र प्रहरी बलको गुल्म स्थापना गर्ने निर्णय गरिएको थियो। केही समय जिल्लाका अन्य ठाँउमा बसेपनि उपयुक्त ठाँउ नपाएको सशस्त्रलाई तत्कालिन जिल्ला सुरक्षा समिति र राजनैतिक दलको सहमतिमा तत्कालिन जिल्ला पशु सेवा कार्यालयमा बसाल्ने निर्णय गरिएपछि २०७६ असार देखि सशस्त्र प्रहरी बस्न थालेको हो। पुनः पशुपंक्षी सम्बन्धि कार्यालय जिल्लामा रहुनपर्ने आवाज उठेको र प्रदेश सरकारले समेत आवश्यकता महसुस गरेपछि पशु चिकित्सकको दरबन्दीसहित पशु अस्पताल तथा पशु सेवा कार्यालय स्थापना गर्ने निर्णय गरिएको थियो। उक्त निर्णयपछि २०७६ साउनदेखि नै कार्यालय सञ्चालनमा आयो।
‘उता सशस्त्रको कार्यालय स्थापना भैसकेको थियो भने पशु अस्पताल तथा पशु सेवा कार्यालय आफ्नो घर जग्गा छोडेर अन्यत्र जाने कुरै भएन सँगसँगै बस्दै गयौ। तर साह्रै गाह्रो भैरहेको छ’ पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख जरबहादुर भक्रीले भने। सुरक्षा पोष्ट बाहिर भित्र कार्यालय भएकोले सेवाग्राही र कार्यालयका कर्मचारी दुवैलाई समस्या भइरहेको छ। ‘अहिलेसम्म पशु अस्पताल समेत स्थापना गर्न सकेका छैनौँ। पशुचौपायाको उपचार बाटोमै गर्ने गरेका छौँ, धेरै समस्या भयो’ उनले भने, ‘निकासका लागि धेरै ठाँउ पहल गर्यौ तर सुनुवाई भएन। दुवै अफिस एकै ठाँउ हुँदैन तत्काल विकल्प खोज्नु पर्छ।’
त्यसो त सशस्त्र प्रहरी गुल्म पनि सरकारी संस्था हो। राज्यले जहाँ व्यवस्था गर्छ त्यही बस्ने हो। त्यतिबेला अफिस खालि थियो। सुरक्षाको दृष्टिकोणले पनि उपयुक्त देखिएपछि त्यहाँ बस्यो।
‘अहिले सशस्त्रलाई पनि दुवै कार्यालय सँगै बस्नुपर्छ अफ्ठयारो लागि रहेको छ। एक सय ५० जना सशस्त्र प्रहरीलाई स्वभाविक रुपमा फराकिलो ठाँउ चाहिन्छ। तर अर्को कार्यालयसँग मिलेर बस्नु पर्दा धेरै गाह्रो भइरहेको छ’ सशस्त्र प्रहरी गुल्मका प्रमुख डिएस्पी नरेश भण्डारीले भने।
‘जिल्ला सुरक्षा समिति र राजनैतिक दलको सहमतिमै बसेका हौ। जहाँ व्यवस्था हुन्छ त्यही बस्छौ। केही ठाँउहरु हेर्ने काम भएपनि सुरक्षाको दृष्ट्रिकोणले उपयुक्त नभएपछि गएका छैनौँ। केही समय अघि राजनैतिक दल, स्थानिय सरकारका प्रमुख, सुरक्षा निकाय सहितको जुम बैठकबाट पशु कार्यालयलाई अन्य ठाँउमा सारेर अहिले बसिरहेको पशु सेवा कार्यालयकै जग्गामा सशस्त्रलाई बसाल्ने निर्णय भएको छ।’ डिएसपी भण्डारीले भने, ‘यसबारेमा सम्बन्धित निकायमा आवश्यक जानकारी र पहल भइरहेको छ के निकास आउँछ त्यही गछौँ।’