त्रिविमा अझै बढेन भर्नादर: केही विभागमा प्राध्यापक भन्दा विद्यार्थी कम !
काठमाडौँ: नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीको आकर्षण अनपेक्षित रुपमा घट्दोछ ।
स्थापनाको ६२ वर्षे इतिहासमा त्रिविमा विद्यार्थी भर्नादर बढ्नुको सट्टा घट्न थालेको हो । पाठ्यक्रम समयानुकल नहुँदा, त्रिवि प्रशासनिक कामको उल्झन र विद्यार्थीको वृत्ति विकासमा पर्याप्त ध्यान नदिँदा विद्यार्थी संख्या बढ्न नसकेको बताइन्छ।
त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका अनुसार वि.सं २०७६/७७ मा चार लाख १५ हजार सात सय ७७ जना विद्यार्थी भर्ना भएका थिए । यस्तै, २०७५/०७६ मा चार लाख १५ हजार चार सय ८२ जना विद्यार्थी भर्ना भएका थिए । आर्थिक वर्ष २०७४/०७५ मा तीन लाख ९२ हजार चार सय ३० जना विद्यार्थी भर्ना भएको तथ्याकंले देखाएको छ ।
त्रिविमा भर्नादर संख्यात्मक रुपमा बढेको देखिए पनि अपेक्षित रुपमा भर्नादर बढ्न नसकेको तथ्यांकले देखाउँछ । त्रिविको हिन्दी विभागमा २०७४/०७५ मा ७ जना, २०७५/०७६ मा ५ जना विद्यार्थी भर्ना भए पनि यस वर्ष दुई जनाले मात्रै प्रवेश परीक्षाका लागि आवेदन दिएका छन् । जवकि उक्त विभागमा चार जना प्राचार्य तथा प्राध्यापक कार्यरत छन् ।
२०६९/७० मा ९३ जना विद्यार्थी भर्ना भएको त्रिविको इतिहास केन्द्रीय विभागमा यस वर्ष हालसम्म २० जनाले प्रवेश परीक्षाका लागि आवेदन दिए । २०७४/०७५ मा एक जना पनि विद्यार्थी भर्ना भएका थिएनन् । जवकि उक्त विभागमा १० जना प्राचार्य तथा प्राध्यापक कार्यरत छन् ।
यस्तै, त्रिविको राजनीतिशास्त्र केन्द्रीय विभागमा यस वर्ष भर्नाका लागि हालसम्म ८२ जनाले मात्रै आवेदन दिएका छन् । २०७५/७६ मा ९५ जनाले स्नातकोत्तर तहमा भर्ना भएका थिए । यस विभागमा ११ जना प्राध्यापक कार्यरत छन् । त्रिविको नेपाली, इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा यस वर्षका लागि हालसम्म ३६ जना विद्यार्थीले प्रवेश परीक्षाका लागि आवेदन दिएका छन् ।
यसअघि २०७४/०७५ मा २५ जना र २०७५/०७६ मा ३३ जना स्नातकोत्तर तह प्रथम वर्षमा भर्ना भएका थिए । सो विभागमा १२ जना प्राध्यापक कार्यरत रहेका छन् ।
त्रिविका एक कर्मचारीले भने, ‘विद्यार्थी कम हुँदा प्राध्यापक खाली हुनुभएको छ । उहाँहरु पत्रिका पढेर समय बिताउनुपर्छ । त्यसका लागि विद्यार्थी भर्नादर बढाउनुपर्यो । तर, के गर्नु विद्यार्थी नै छैनन् ।’
त्रिवि हिन्दी विभागका प्रमुख डा.संजिता बर्माले विद्यार्थी भर्नादर बढ्न नसकेको स्विकारीन् । उनले भनिन्, ‘विद्यार्थी भर्नादर निकै कम भयो । प्रचारप्रसारको लागि बजेट छैन । तलब शिर्षकमा मात्रै बजेट आउँछ । नेपालस्थित भारतीय दूतावासले कहिलेकाँही सहयोग गरेपछि मात्रै केही कार्यक्रम गर्छौँ ।’
शिक्षाविद् प्रा.डा. वीद्यानाथ कोइरालाले त्रिविमा विद्यार्थी संख्या घट्नुको कारण त्रिवि समयसँग चल्न नसकेको बताए । उनले भने, ‘त्रिविको पाठ्यक्रम व्यवहारिक र समयानुकुल नभएर पनि विद्यार्थीले अध्ययन गर्न रुचाउँदैनन् । शिक्षण पद्धतिमा नविनता ल्याउनुपर्छ । प्रशासनिक काममा अल्झिने भन्दा पनि नियमलाई विकेन्द्रिकरण गर्नुपर्छ । ’ त्रिविमा स्नातकोत्तर तहको प्रवेश परीक्षाका लागि शिक्षा शास्त्र शंकाय पुगेकी विद्यार्थी रवीना श्रेष्ठले भनिन्,‘यो भन्दा अघि त्रिविमा चैत बैशाखमा प्रवेश परीक्षा हुन्थ्यो । तर, साउन बितिसक्यो भदौमा बल्ल प्रवेश परीक्षा तोकिएको छ । अरु विश्वविद्यालयमा पढाइ नै हुन थालिसक्यो ।’
त्रिवि भूगोल केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. हृदयलाल कोइरालाका अनुसार विद्यार्थीको वृत्ति विकासका लागि बजेट नछुट्याउँदा समस्या भएको बताए । उनले भने, ‘विद्यार्थीको क्षमता विकासका लागि बजेट आउँदैन । तलबका लागि मात्रै बजेट आउँछ । त्यही भएर पनि समस्या भएको हो ।’ उनले विद्यार्थीका लागि आवश्यक पर्ने कम्प्युटर समेत विद्यार्थीबाट केही शुल्क उठाएर जोहो गर्नुपर्ने बाध्यता रहेको बताए । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहलले संख्यात्मक रुपमा विद्यार्थी संख्या नघटेको बताए ।