क्वाँटी संस्कृति : सर्दी फाल्ने पनि, पोषिलो पनि
काठमाडौं : आज जनैपूर्णिमा अर्थात् क्वाँटी खाने दिन। हिन्दूधर्माबलम्बीहरूले धुमधामका साथ मनाउँदैछन्। हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व जनैपूर्णिमा, रक्षा बन्धन, ऋषितपर्णी, क्वाँटी खाने दिन र संस्कृत दिवसका रुपमा मनाइँदै आएको छ। यसदिनमा खासगरी ब्रतबन्ध संस्कार गरिसकेका (तागाधारी) हरूले जनै धारण गर्दछन्। नयाँ जनै फेर्नुअघि नदी तथा खोलानालामा गइ स्नान गर्ने चलन छ।
आजकै दिनमा दिदी-बहिनीले आफ्ना दाजु-भाइको हातमा राखी बाँधेर दीर्घआयुको कामना गर्छन्। गच्छेअनुसार उपहार आदानप्रदान गर्छन्। यो प्रचलन पहिला तराईमा मात्र समिति थियो। तर पछिल्ला दिनमा समाजमा हुने देखासिकी, पर्वको रमाइलो र आत्मीय पक्षको आकर्षणले सबै समुदायमा राखी बाँध्ने चलन बढ्न थालेको छ।
जनै फेर्ने गरिएकाले यस दिनलाई जनैपूर्णिमा भनिएको हो। यस दिन पुरोहितबाट वैदिक मन्त्रका साथ मन्त्रिएको जनै र रक्षा धारण गरिन्छ। जनै र रक्षा धारण गरेमा नकारात्मक तत्वहरूबाट बच्न सकिने धार्मिक विश्वास छ। वैदिक परम्पराअनुसार जनैलाई ज्ञानको धागो समेत मानिन्छ। यस्तै आज बाँधिएको डोरो लक्ष्मी पूजाका दिन गाईको पुच्छरमा बाँधेमा मृत्युपछि वैतरणी पार भइन्छ भन्ने जनविश्वास छ।
आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ। तागाधारीहरूले जनै फेर्नुअघि सप्त ऋषि र पितृहरूलाई तपर्ण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी भनिएको हो।
जनैपूर्णिको अवसरमा मुलुकका विभिन्न धार्मिक स्थानमा मेला लाग्ने गर्छ। काठमाडौंको पशुपति र गोकर्णेश्वर,रसुवाको गोसाइकुँण्ड,सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, ललितपुरको कुम्भेश्वर, कर्णालीको छायाँनाथ, बाजुराको बूढीनन्दा र बडिमालिका,बझाङको सुर्मासरोवरलगायत विभिन्न धार्मिक स्थालमा मेला लाग्ने गर्छ। यो वर्ष भने कोरोनाका कारण भेला र मेला अर्थात् बढी भीडभाड हुने ठाउँमा प्रतिवन्ध लगाइएको छ।
क्वाँटीको सांस्कृतिक पक्ष के छ ?
हरेक चाडपर्वका आ-आफ्नै मौलिकता छन्। हामीकहाँ पर्वपिच्छे विशेष परिकार पाक्ने गर्छन्। जस्तै: दसैंमा मासु,तिहारमा सेल रोटी, माघेसंक्रान्तिमा चाखु, असारमा दही चिउरा, साउनमा खीरको आफ्नै महत्व छ। यस्तै क्वाँटी पनि चाडविशेष एउटा परिकार हो। टुसा पलाएको गेडागुडीलाई पकाएर बनाएको खान्की हो क्वाँटी। यसलाई नेवारी भाषामा 'क्वाति' भनिन्छ। 'क्वा' को अर्थ तातो र 'ति' को अर्थ झोल अर्थात् तातो झोल। खासमा नेवारी समुदायमा प्रचलित यो परिकार पछिल्लो समय सबै वर्ग समुदायको भान्सामा पाक्ने गरेको छ। यसमा नौ थरी गेडागुडी मिसाएको हुन्छ। मास,मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भटमास, मकै, बकुल्लाको मिश्रण यसमा हुन्छ।
खासमा क्वाँटीको सम्बन्ध कृषिकर्म गर्नेहरूसँग जोडिएको बताउँछन् संस्कृविद् डा. गोविन्द टन्डन। वर्षात्को समयमा खेतिपाती गर्नेहरूले थप पोषिलो आहारको आवश्यक हुने भएकाले क्वाँटी खाने प्रचलन रहेको उनको बुझाइ छ।
यतिबेला वर्षायामको खनजोत सकिसकेको हुन्छ। खेतिपाती गर्नेहरू थकित र गलित भएका हुन्छन्। वर्षासँगै काम गर्नुपर्ने भएकाले शरीरमा चिसो पनि गाढिएको हुन्छ। कम्जोर शरीर फूर्तिलो र चिसोबाट बच्न क्वाँटी खाने गरेको हो। आफ्नै खेतवारीमा उत्पादन गेडागुडी मिसाएर पकाएको क्वाँटी खानु स्वास्थ्यका लागि फाइदा हुने उनले बताए। उनका अनुसार अर्कोतिर जनैपूर्णिमाका दिनदेखि जाडो समय सुरु हुने भएकाले चिसोमा शरीरलाई स्फूर्तिलो र बलियो बनाउन क्वाँटी खाने गरेको हो।
प्राचीनकालदेखि तिथी, पर्व र उपासनाको विशेष महत्व रहेको पाइन्छ। यस्ता संस्कारले मानव समुदायलाई एउटै शुत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेलेका हुन्छन्। चाडवाडले मानिसमा सामाजिक भावनाको विकास हुनेगर्छ।
के भन्छन् पोषणविद् ?
टुसा पलाएका गेडागुडी स्वास्थ्यका लागि फाइदाजनक हुने स्वास्थ्यविज्ञहरू बताउँछन्। यस्ता गुडागुडीमा शक्ति र स्वाद दुवै पाइने हुँदा सबै उमेर समूहका लागि फाइदाजनक मानिन्छ।
पोषणविद् डा. अरुणा उप्रेतीका अनुसार क्वाँटी बालबालिकाहरू र भर्खरै बिरामीबाट उठेका व्यक्तिहरूका लागि राम्रो खुराक हो । भिजाएर राखेका गेडागुडीमा टुसा उम्रेपछि १० गुणा बढी खनिज, भिटामिनलगायत अन्य तत्वहरू बढ्छन्। त्यसैले क्वाँटी सबै उमेर समूहकालाई फाइदाजनक छ। क्वाँटी वर्ष दिनमा एक पटक मात्र नभइ हप्तामा २,४ पटक खानुपर्ने डा.उप्रेतीको सल्लाह छ।
डा.उप्रेतीका अनुसार यस्ता परिकारले विशेषगरी बालबालिकाहरूलाई कुपोषणबाट बचाउन सकिन्छ। कोरोना बिरामीका लागि क्वाँटीको झोल अमृतसमान हुने डा. अरुणाको बुझाइ छ। शाकाहारी बिरामीलाई क्वाँटी उत्तम परिकार हुने उनको सल्लाह छ।
पेटसम्बन्धी र युरिक एसिडको समस्या भएकाहरूले क्वाँटी नखादा राम्रो हुने डा. अरुणाको सल्लाह छ। टुसा पलाएको गुडागुडीलाई दाल,तरकारी,सलाद र अन्य परिकारमा मिसाएर खान सकिने डा. अरुणाको सल्लाह छ।
क्वाँटी पकाउने कसरी त ?
क्वाँटी पकाउने आ-आफ्नै तौरतरिका छन्। कसैले क्वाँटीलाई मासुमा मिसाएर पकाउँछन् भने कसैले क्वाँटी मात्र पकाउने गर्छन्। स्वादिलोका लागि मासुमा मिसाएर पकाएको क्वाँटी मिठो त पक्कै होला। तर, प्रशस्त मात्रामा पौष्टिक तत्व हुने भएकाले गेडागुडी मात्र पकाउँदा स्वास्थ्यका लागि फाइदा नै हुन्छ। खाना जिब्रोका लागि नभइ स्वास्थ्यका लागि खानुपर्छ।
यहाँ क्वाँटी पकाउने सजिलो तरिकाबारे जानकारी दिइएको छ। गेडागुडीलाई पानीले सफा गर्ने। कतिजनालाई पकाउने हो सोअनुसार प्रेसर कुकरमा राख्ने। गेडागुडी भिज्नेगरी पानी राख्ने। त्यसमा थोरै नुन र बेसार राख्ने। यसो गर्दा गेडागुडी पाक्ने क्रममा पानी बाहिर आउने डर हुँदैन। अब ग्यास वा आगोमा कुकर बसाल्ने। कुकरमा ४/५ सिटी लागिसकेपछि बन्द गरिदिने। त्यसपछि एउटा कराइमा तेल राख्ने। त्यसमा अलिकति जिरा राख्ने। विस्तारै तेजपत्ता, एक दुईवटा रातो खुर्सानी राख्ने। त्यसपछि मसिनो गरी काटेको प्याज राख्ने। प्याज हल्का रातो भएपछि त्यसमा लसुन र अदुवाको पेष्ट राख्ने। त्यसपछि गुलभेडा राख्ने। आवश्यकताअनुसार नुन, बेसार र थोरै गरम मसला थप्ने ।
सबै मरमसला पाकिसकेपछि क्वाँटी राख्ने। झोल बढी चाहिन्छ भने पानी थप्दा पनि हुन्छ। अब यसलाई राम्रोसँग पकाउने। पाकीसकेपछि हरियो धनियाँ राख्ने। क्वाँटी तयारी भयो। अब पस्किने पालो तपाईंको।