तीन जिल्ला, तीन विशेषता

काठमाडौं : ऐतिहासिक पाटो बाहेक गाईजात्रा भन्ने बित्तिकै व्यंग्य र हाँसोको एउटा संगम पनि बुझिन्छ। विषेशगरी हाँस्यकलाकारहरू गाईजात्राको समयमा सिर्जनात्मक तरिकाले सामाजिक तथा राजनीतिक विकृति, विसंगतिमाथि ब्यंग्य गर्ने गर्दछन्।
गाईजात्रामा सरकारको आलोचना गर्न छुट दिइन्थ्यो। सरकार जतिसुकै क्रुर भएपनि गाईजात्राको अवधिभर ब्यंग्य गर्ने अनुमति दिइन्थ्यो। ‘सरकारको काम उचित नभएको खण्डमा हाँस्यब्यंग्यको माध्यमबाट विरोध गर्न पाइन्थ्यो। तर, गाली गर्ने छुट भने थिएन’, संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग भन्छन्।
सरकारको शासन जति नै निरंकुश भए पनि उनीहरूका कार्यशैली, व्यवहार सच्याउन नौ दिन (जात्राभरी) ब्यंग्यहरू पस्किने प्रचलन थियो। सरकारले जनताको ब्यंग्य सुन्नका लागि आफना गुप्तचर तथा प्रहरीहरू खटाएको हुन्थ्यो। उनीहरूले सरकारलाई उक्त सन्देश पुर्याउँथे।
ग्वंगका अनुसार २०२२ सालभन्दा पहिला नेपालमा ३५ वटा जिल्ला थिए। ती सबै जिल्लाका प्रमुख शहरहरूमा गाईजात्राको रौनक हुन्थ्यो। नेपालमा मात्रै नभएर सिलगुढीमा समेत गाईजात्रा मनाइन्थ्यो। सबैले आ–आफ्नै परम्परा अनुसार नाचगान, प्रहसन, हाँस्यब्यंग्य गर्थे। तर, काठमाडौं उपत्यकाका तीन जिल्लामा भने फरक हिसाबले गाईजात्रा मनाउने गरिन्छ। काठमाडौंमा राजा प्रताप मल्लले आफ्नी रानीलाई वियोगबाट बाहिर निकाल्न गाईजात्रा देखाउन उर्दी जारी गरेका थिए। छोराको निधन भएपछि वियोगमा परेकी रानीलाई फकाउन नसकेपछि उनले उर्दी जारी गरेको भनाइ छ। ‘राजा आफूलाईजस्तै शोक अरुलाई पनि परेको छ भन्ने सन्देश रानीलाई दिन चाहन्थे।
त्यसैले उनले गाईजात्रा निकाल्न लगाए’, ग्वंग भन्छन्। राजाका उर्दी अनुसार मृत्यु भएकाहरूको सम्झनामा प्रत्येक घरका मान्छेले गाई निकाल्न भनिएको थियो। गाईको शरीरमा पहेँलो रंगको बस्त्र लगाउने गरिन्थ्यो। केटाहरू दारीजुँगा बनाउने र फरक खालको पहिरनमा जात्रामा निस्कन्थे। जात्राका सहभागी देखेपछि रानीलाई सान्त्वना मिलेको र बिलौना गर्न छोडेको भनाइ छ।
गाईलाई दिवंगत आत्माको स्मृतिका रुपमा सम्झने माध्यम बनाइयो। गाईलाई सिंगारपटार गरेर नगर परिक्रमा गराइन्थ्यो। तर, निश्चित मार्गमा मात्र हिंडने गरिन्थ्यो। जतापायो त्यता जात्रा लैजान मिल्दैन थियो। कोरिएको रेखा अनुसार नै गाईलाई हिंडाइन्थ्यो । गाईजात्रामा हास्यब्यंग्य गर्ने, अनौठो आकृति बनाउने, कुरुप, बिरुप बनाउने र चिन्न नसक्ने बनाएर ब्यंग्य बनाउने गरिन्थ्यो। यसमा मनोरञ्जन पनि मिसिएको हुन्छ। गाईलाई पूजा गरी पुच्छरमा जनै झुन्ड्याएर घुमाउने चलन थियो।
भक्तपुरको चलन भने अलि फरक छ। त्यहाँ बिहानैदेखि जात्रा मनाउने गरिन्छ। साना बच्चाहरू बितेका छन् भने बच्चालाई डोकोभित्र छोपेर राखिन्छ। बालक मरेको भए (केटाका)े बालिका भए (केटी) को कपडा लगाएर गाईको चित्र बनाएर छोपेर डुलाइन्छ। बयस्क पुरुषको निधन भएमा गाई बनाएर लैजाने चलन छ। उनीहरूको सम्झनामा चार वटा बाँसमा आकृति बनाइन्छ। महिला बितेको भए सारी, मखमलका ब्लाउज, खास्टो बेरिन्छ। पुरुषका लागि लबेदा सुरुवाल, भोटो सुरुवाल लगाइन्छ। पहिरन समय अनुसार परिवर्तन हुँदै आएको छ।
अर्को प्रचलन अनुसार काली माटीको बसाह (साँढे) बनाइन्छ। कलाकारहरूले जात्राको केही समय पहिला नै बसाह बनाउँछन्।
विभिन्न रंगले सिंगार्छन्। त्यसमा पाँग्रा हालेर घुमाउने गरिन्छ। किशोर–किशोरी बितेमा केटाकेटीलाई सिंगारेर घाँघर, ब्लाउज पहिराएर शीरमा मुकुट लगाइदिइन्छ । सेतो पटुका कम्मरमा बाँधिन्छ। भुईंमा लतारिने गरी पटुकाको टुप्पो घिसारिन्छ। छाता ओढाएर जात्रामा निकालिन्छ। समय अनुसार प्रचलनमा रहेको बाजा बजाइन्छ। गीतको बोल भने फरक हुन्छ। घिन्ताङ घिसिङ्ग नाच देखाइन्छ।
उपत्यकाका तीन वटै जिल्लामा फरक तरिकाले गाईजात्रा मनाइन्छ। भक्तपुरमा सुमती जितामित्र भन्ने राजाका पालादेखि जात्रा मनाउने चलन छ। राजपरिवारमा पनि कसैको मृत्यु भएमा रामायण बनाउने चलन छ। उनीहरूको जीवनलीला तथा महत्वपूर्ण विषय लेखेर गीतको लय हालिन्छ। त्यो चलन अहिले पनि यथावत छ। लैंंगिक अल्पसंख्यक समुदायले पनि गाईजात्रालाई धुमधामसँग मनाउने गर्छन् । दिवंगत भएका आफ्ना इष्टमित्रको सम्झनामा उनीहरुले प्रत्येक वर्ष जात्रा मनाउने गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
