वर्षाले ग्रामीण सडक अवरुद्ध

वर्षाले ग्रामीण सडक अवरुद्ध

उदयपुर  : पहाडी क्षेत्रमा लगातारको वर्षाले सडक अवरुद्ध भएका छन् । पानी नरोकिँदा उदयपुरको ग्रामिण भेग रौतामाई, ताप्लि र लिम्चुङबुङ गाउँपालिकाका केन्द्र र सदरमुकाम आवतजावत गर्ने सडक अवरुद्ध भएका हुन् ।

वर्षासँगै झरेको पहिरोले रौतामाई गाउँपालिकाको केन्द्र भुट्टार, ताप्लिको रुपाटार र लिम्चुङबुङको वरहा पुग्ने सडक अवरुद्ध भएको छ । गाउँपालिकालाई सदरमुकाम गाईघाट र कटारी बजारसँग जोड्ने सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको रुपाटारका शेरजङ ठकुरीले बताए । 

त्यसैगरी राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी लोकमार्गको गाईघाट–कटारी खण्डको ठाउँ–ठाउँमा पहिरोपछि सडक अवरुद्ध भएको छ । सगरमाथा लोकमार्गको गाईघाट–दिक्तेल, सिद्धिचरण लोकमार्गको मिर्चैया–घुर्मि सडकखण्डमा पहिरो गएपछि यातायातका साधनहरु पहिरो पन्छाउँदै मुस्किलले आवतजावत गरिरहेका छन् ।

अवरुद्ध सडक सञ्चालनका लागि गाउँपालिकाले प्रयास जारी राखेपनि बर्षा नरोकिएकाले सूचारु गर्न नसकिएको ताप्लि गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले बताए । उनले भने, ‘आवागमन सूचारु गर्न आज पहिरो पन्छाएर सफा गर्यो, रातभर पानी पर्छ, भोली उस्तै हुन्छ, लगानी व्यर्थ भइरहेको छ ।
 
‘पानी नरोकिएकाले सडक मर्मतका लागि केहि दिन पर्ख र हेरको रणनीतिमा छौं, उनले भने, ‘दुई/तीन दिन पानी रोकिएर घाम लाग्यो भने मर्मत सुरु गर्छौ ।'  सडक नियमित सूचारु गर्न पालिकाको स्काभेटर तयारी अवस्थामा रहेपनि पानी नरोकिएका कारण समस्या भएको उनको भनाइ छ ।

सडक अवरुद्ध भएसँगै दुर्गमका लागि खाद्यन्नलगायत दैनिक उपभोग्य सामग्रीको ढुवानीमासमेत समस्या भएको स्थानीयको भनाइ छ । उदयपुरगढी गाउँपालिका केन्द्र जोड्ने नेपालटार–गढी सडक बाहेक अन्य ग्रामीण सडकहरु अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

सिद्धिचरण लोकर्मागको ठाउँ–ठाउँमा सडक अवरुद्ध हुँदा खोटाङ, सोलु र ओखलढुङ्गाका लागि सवारी आवगमनमा कठिन भएको छ । पहिरो जानेक्रम बढेसँगै माथिल्लो पहाडी क्षेत्रमा सवारी साधन सञ्चालन गर्न गार्हो कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । 

निर्माणधीन मदन भण्डारी लोकर्मागमा करिब एकदर्जन खोलामा पुल निर्माण सकिएको  छैन। ग्रामीण भेगमा मापदण्ड विपरित जथाभावी खनिएका सडकमा पहिरो गएपछि पैदलयात्रीलाई समेत यात्रामा कठिनाइ भएको छ । 

गाडी नचलेपछि पैदलयात्राबाट माझखर्क हिँडेका लाक्पा शेर्पा भन्छन्, ‘यातायातका साधन चलेपछि पैदलयात्रा गरिने गाउँघरका गोरेटा बाटोहरु सबै मेटिए सडकबाट हिँड्दा कतिबेला पहिरोले पुर्ला भन्ने पीर छ ।'

भेल बाढीले एक महिनादेखि यातायातका साधन रोकिँदा माथिल्लो भेगमा खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको छ । ‘पहिला जस्तो ढाकर, खच्चरमा बोकेर खाद्यन्य आपूर्ति गर्ने अवस्था छैन,’ रौतामाई गाँउपालिका १ का वडाध्यक्ष रुद्र कार्कीले भने, ‘सडक सूचारु नहुँदा सहरबाट खाद्यन्नलगायतका सामग्री ढुवानी गरेर ल्याउन सक्ने अवश्था छैन्, केहि दिन भित्रमा सूचारु गर्न नसक्ने हो भने अनिकाल हुनसक्छ ।

मापदण्ड विपरित हचुवाका भरमा मेसिन लगाएर निर्माण गरिएका दुर्गमका दर्जनौं कच्ची सडकका कारण यातायातका साधन मात्र अवरुद्ध छैनन् बस्ती नै पहिरोको उच्च जोखिममा छन् ।  वातावरणीय प्रभाव मुल्यांकन (इआइए) नै नगरी स्थानीय तहले हचुवाको भरमा सडक निर्माण गरेको स्थानीयको आरोप छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.