मान्छेले भागवत पढ्यो, भाव पढेन

मान्छेले भागवत पढ्यो, भाव पढेन

बोल्दाबोल्दै एक्सेल हाइपकेपावा भक्कानिए। हातले आँखा छोपेर आँसु दबाए। केही बेर अवाक् भए। र, रसिला आँखासहितको अनुहार मतिर फर्काए। ‘आई एम भेरी सरी’, मैले दुःख व्यक्त गरें। किनकि, मेरो प्रश्नले उनी रोएका थिए। 

तर, मेरो प्रश्न त्यस्तो नराम्रो थिएन। केवल सोधेको थिएँ, ‘तपाईं निरन्तर नेपाल बस्ने निर्णयमा कसरी पुग्नुभयो ?’ 

उनले घटना सुनाए, जुनचाहिँ वास्तवमा दुःखद थियो– 

सन्  १९९० मा म नेपाल आएँ। जर्मनीमा मेरा एक साथी थिए डा. माइकल फ्र्यांक। साथी मात्र होइन, म उनको टिममा पारामेडिकका रूपमा काम गर्थें। 

७० हजार तस्बिरलाई ओझेलमा पार्दै प्रथम हुँदा पाएको प्रमाणपत्र लाल दासको साथमा देखाउँदै एक्सेल हाइपकेपावा।

न्युरो सर्जन माइकल फ्र्यांक स्वयंसेवक विशेषज्ञका रूपमा बीर अस्पतालमा काम गर्न थाले। उनको साथ छाड्न नसकेर म पनि नेपाल आएँ। म भने कार्पेटको निर्यात (व्यापार), पदयात्रा, फोटोग्राफीतिर बढी भुलिएँ। 

करिब १० वर्ष बसेर मंगोलिया गए। उनीसँगको आत्मीयताले मलाई पनि उतै तान्यो। सन् २००१ मा इबोलाविरुद्ध चिकित्सहीय सहयोग सहयोग मित्र माइकल युगान्डा पुगेका थिए, विमान दुर्घटनामा त्यहीं बिते।

जुन साथीका लागि देश फेरी–फेरी उनी साथ दिइरहेका थिए, उनलाई सदाका लागि बिदा गर्नु असह्य थियो। हो, त्यही घटनाको वृत्तान्त सुनाउँदा विक्षिप्त भए एक्सेल। 

‘उसको ९ महिनाको बच्चा थियो’, सुँकसुँक गर्दै सुनाए, ‘विचरा, सम्झिँदा पनि मन काटिएर आउँछ !’ 

मंगोलियामा डा. माइकल नभएपछि एक्सेलले त्यहाँ आफ्नो पनि औचित्य देखेनन्। ‘र, फर्किएर नेपालै आएँ, जहाँ मेरा धेरै प्यारा साथीहरू बनिसकेका थिए’, उनले भने, ‘जसले उसको न्यास्रो मेटाउन मद्दत गर्थे।’ 

हुँदा–हुँदा उनका लागि नेपाल आफ्नै घरसरह बन्यो। त्यसबीच अर्को शिक्षा पूरा गरेका थिए, पाइलटको। नेपाल, इन्डोनेसिया, पपुवा न्युगिनीलगायत देशमा केही वर्ष जहाज उडाए। 

‘फेरि नेपाली जनता र यहाँका हिमालले ताने’, उनी भन्छन्, ‘यस्तो लाग्छ– नेपालजस्तो सुन्दर देश संसारमै छैन।’ त्यही भएर उनले भर्खरै सोलुखुम्बुको उच्च भागमा घर बनाएका छन्। 

एक्सेल फोटोग्राफीमा पनि मुस्कान–मुहार खिच्न माहिर छन्। उनको सोख बनेको छ– ‘स्माइलिङ पोर्टेट।’ 

सन् २०१८ मा उनी घुम्दै पशुपति पुगे। विदेशीलाई छिर्न नदिने प्रहरीका आँखा छल्दै आर्यघाटको पुल तरे। श्लेशमान्तक वनको उकालोछेउ राममन्दिर आश्रममा एक बाबा अचानक नजरमा परे।

हड्डीबाट हाँस्न रुचाउने बाबा लाल दासका अनुहार क्यामेरामा कैद गरे। धेरै क्लिक। घरमा गएर हेरे। जसले उनलाई पनि मुस्कुराउन प्रेरणा दिए। 

त्यही मेरो विश्वविख्यात ब्रान्ड सोनीले विश्वव्यापी पोर्टेट प्रतिस्पर्धाको आह्वान गर्‍यो। उनले बाबा लाल दासको एउटा फोटो श्याम स्वेत (ब्ल्याक एन्ड ह्वाइट) मा रूपान्तरण गरे। र, पठाइदिए। 

सत्तरी हजार वटा तस्बिरलाई पछारेर उनले खिचेको बाबा लालको अनुहार प्रथम भयो। ३५ हजार अमेरिकी डलर (झन्डै ४० लाख रुपैयाँ) का सोनीका उपकरण छानी–छानी लिन पाउने अवार्ड थियो त्यो। 

‘२० हजार डलरको त एउटै लेन्स ल्याएँ’, उनले भने, ‘अब धेरै टाढाबाट हिमाल खिच्न सक्ने भएँ।’ अवार्डसँगै उनको फोटोग्राफीको आयतन झन् बढेको छ।

‘कहाँ छन् बाबा लाल दास ?’ मैले सोधें।

‘शायद पशुपति क्षेत्रमै छन् होला’, उनले भने, ‘भेट्ने भए म पत्ता लगाउँछु।’ 

अर्को दिन जाँदा त्यही कुटीमा, उस्तै मुस्काइरहेका रहेछन् उनी। ८८ वर्षे बाबा उस्तै जोशिला रहेछन्।

तिनै बाबासँग मैले जीवन, जगत, राजनीति, माया–मोह, प्रेम, समाज, अर्थ आदिबारे भलाकुसारी गरें। उनको जीवन नियाल्ने कोसिस गरें। निकै रोचक ढंगले खुले उनी।

‘कुरा त गरौं’, सुरुमै उनले प्रस्ताव राखे, ‘तर मलाई पनि मन पर्ने हुनुपर्छ, हाहाहा...।’ 
---

तपाईंको खास नाम के हो ?
आमा–बुवाले सानोमा साइँला, साइँला भन्थे। एक दिन मलाई पनि भगवान्ले साथ दियो कि कसले साथ दियो, मेरो जन्मको नाम के हो मुमा–आमा भनेर सोधें। के मेरो नाम साइँला नै राखेको छ ? कि अरू केही छ ? भनेर सोध्दा आमाले ‘तेरो नाम त लालबहादुर राखेको छ’ भनेर त्यति खुसुक्क भन्दियाथे। मलाई त्यही ख्याल आयो। पछि अरुञ्चल (भारतको अरुणाञ्चल) प्रदेश गएर ग्रिप कम्पनीमा भर्ती भएँ, ठेक्केदारमा। नाम सोधे। मेलै नाम निकालेर मेरो लालबहादुर भनेँ। त्यहाँदेखि मेरो नाम लालबहादुर। पछि बाबाजीमा आएँ। बाबाजीमा आएपछि दास भएँ। ल मेरो यत्ति हो परिचय।

अहिलेको नाम नि त ?
अहिले त्यही हो।

तस्बिर : एक्सेल हाइपकेपावा

लालबहादुर दास ?
होइन, लाल दास हो। लाल दास। बुवाको मोक्तान र आमाको घिसिङ हो।

बुवा–आमाको नाम ?
बुवाको नाम मोक्तान, आमाको घिसिङ भनेँ त। 

आमाले मलाई बिहे गर्न ठिक्क पार्नुभएछ, अर्काकी स्वास्नी। ह्या, यो बिहे गर्नुभन्दा बरु बाहिरै जान्छु भनेर एकमानो कोदोको पीठो बोकेर इन्ड्यातिर गएँ।  

यो नाम हो कि थर ?
नाम भने पनि, थर भने पनि यही हो।

घर कहाँ थियो ? 
दोलखाको माकादेउराली। 

सैलुङतिर पर्‍यो यो ठाउँ ? 
सैलुङकै फेदी पर्‍यो। 

अनि, घर किन छोड्नुभयो ? 
मेरो जन्म नब्बे (१९९०) सालको हो। म २२ वर्ष जत्तिको हुँदा बाउ बित्यो। बुवाको किरियाकाज गरेँ। सैलुङको मानेमा गएर शीला जलाइदिएँ। मलाई जन्म दिने मुमा थियो, मेरो भाग्यअनुसार मलाई बिहे गर्छु भनेर केटी मागेछ। अर्काको स्वास्नी।

माग्ने चैं को ?
मेरो आमाले मागेको रहिछ। मुमाले भन्नुभयो, ‘छोरा अब तैंले बिहे गर्नुपर्छ, कहीँ नजा। त्यतिखेर म बाहिर–बाहिर हिड्थेँ भारी बोकेर। कस्तो बिहे गर्ने भनेर हेरेको त अर्काको बुढी रहेछ। ह्या, यो बिहे गर्नुभन्दा बरु बाहिरै जान्छु भनेर आमासित एकमानो कोदोको पीठो मागेँ। यस्तो एउटा धोती लगाएर लौ आजदेखि तपाईं मरे पनि भेट भए हुम्ला, म मरे पनि के भो र ? तपाईंको हातबाट यति पाएँ, यति भिक्षा गेर म बाहिर जाँदैछु भनेर त्यहाँबाट डाइरेक्ट ०१७ सालमा निस्केर अरुञ्चल प्रदेश पुगेँ।

इन्डिया ?
हो, इन्डिया। 

कति दिन लगाएर पुग्नुभयो ?
त्यतिखेर हजुर आफ्नै तामाङ भाषा बोल्थें। त्यहाँ जाँदा हिन्दीमा बात गर्दा हिन्दी बुझिएन। सिक्तै सिक्तै सिक्तै ०४० सालमा मेघालयबाट शरणार्थीको हुलमा परेर यहाँ आयो। भनेपछि अब कुरो बुझ्यो ?

भनेपछि लखेटे ?
लखेटेको पनि होइन।

यत्रो बुढा भइसक्यो, मेरो नागरिक्त छैन। ७० हजार तस्बिरलाई ओझेलमा पार्दै प्रथम हुँदा पाएको प्रमाणपत्र लाल दासको साथमा देखाउँदै एक्सेल हाइपकेपावा।

लखेटिनुपर्‍यो ?
लखेटिनुपर्‍यो। त्यहाँ त डिष्ट्रिक काउसिन्लको अधिकार हुन्छ। तपाईंहरू अहिले कहीँ गएर बस्नुस्, पिच्छे राम्रो भएपछि फर्किउँला भन्ने शब्द लिएर म यहाँ आयो। अरू कहाँ गयो, बहुत ज्यादा। मचाहिँ यहीं आएर यो भेष (बाबाजी) लिएको हो हजुर। मेरा लास यही हो। 

अनि मायामोह, दायामाया सबै त्याग्नुभयो ?
मायामोह छैन त भन्नु भएन। झुठो त बोल्नुभएन। मलाई पनि माथि भगवान्ले सराप्छ। कहिलेकाहीँ लसपस भइयो। त्यति लसपसमा परिवार, छोराछोरी भएन। त्यति मात्रै हो मेरो।

बिहे चैं गर्नुभो ?
बिहे पनि गरेन। त्यसै, यस्तैको घुम्दै फिर्दैमा लसपसमा परियो कहिलेकाहीँ।

उहिल्यै, उत्तिबेलै ? 
यही भेष (बाबाजी) मा परेको। 

यस्तो भेषमा पनि ?
हाहाहाहाहा... एउटा आईमाई आयो। दुःख देखायो। लौ गरेर खाऊ न भनेर सानो दोकान पनि निकालिदियो। 

तपाईंले निकालिदिनुभयो ?
अँ, दोकान पनि राखिदियो। च्या (चिया) पनि बिक्री गर्‍यो। अब भयो कि भएन मलाई थाहा छ। अरूलाई थाहा हुन्न। ल यो बाबाजी भएर पनि स्वास्नी राख्न थाल्यो भनेर हल्ला गरिदियो। अनि मैले पनि पुग्द्यो। 

सँगै पनि राख्नुभयो ?
राखियो पनि।

कति समय ?
यो झुप्रो तोडेको त्यही कारणले। यही रूख मुनि झुप्रो बनाको थिएँ नि मैले। तोडेको त्यही कारणले। अब कुरा आफैं बुभ्mनुस्।

कति समय सँगै बस्नुभयो ?
बसेँ एक–दुई वर्ष।

छोड्दिँदाखेरी माया लागेन ?
मैले छोडेको पनि होइन।

हामी बाहिर निस्कियौं भने ‘बालबच्चा लुट्नु आको हो यिनीहरू, लात्ताले गोदेर पठाइदे’ भन्छन्। 

के भयो त ?

अर्कैसँग पनि लागेकी रै’छे। कुरा सिद्धयो। 

अघि भारतबाट लखेटिएको कुरा गर्नुभएको थियो, कसरी त्यस्तो भयो ?
मेघालय र दार्जिलिङबाट सुभास घिसिङले उठाको। कालीझोडाको कालोझन्डाको प्वालमा परेको। 

दार्जिलिङचाहिँ कसरी पुग्नुभयो ? 
म मेघालयमा कोइला खानीमा थिएँ। त्यहाँ हाम्रो जंगबहादुरको शीला पनि रछ। त्यहाँ जंगबहादुरले राज्य चलाको रछ।  त्यो शीला देखेर मैले जंगबहादुरको बखान गरेँं। त्यहाँबाट निकाल्दिए। त्यसपछि दार्जिलिङ आएर २ महिना मैले कम्पनीमा काम गरेँ।

के कम्पनीमा काम गर्नुभयो ?
रोड कम्पनीमा। दुई महिनाको पाँच सोै रुपैयाँ दिए। मैले कोइलाखानीबाट हजार रुपैयाँ लिएर आ’को थिएँ। अरू पैसा उतैको मान्छेले खाइदिए। 

यो कति सालको कुरो हो ?
यो ४० सालको कुरा हो। त्यही १५ सौ लिएर आको थिएँ। त्यो पनि गौशालातिर बाटामा सुत्ता कल्ले खायो, कल्ले खायो। 

दार्जिलिङबाट तपाईंलाई कसरी निकाले  ?
कम्पनीको काम सकियो। कालीझोडाबाट हामीलाई निकाल्यो। 

मेघालयबाट नेपालीलाई लखेटेको काण्डमा पर्नुभएको हो ? 
हो, त्यही बेलामा हो। पुरानो–पुरानो १२ पुस्तासम्मकालाई त निकालदियो। हामी त पुस्ता भाको थिएन।

अहिलेको सरकार भनेको नेपाल सरकार भन्ने कि प्रचण्ड सरकार भन्ने त ?

तपाईंसँग अरू कति जना दार्जिलिङ आएका थिए ?
मसित त एक्लै थियो। मान्छे त कति आए, कति आए। गिन्ति त गर्नुसकिएन। तर, आउनुचाहिँ म एक्लै हो। र, यहाँ आएर यो भेष लिएको। भयो ? 

यहाँ कसले ल्यायो, कसरी आउनुभयो ?
भगवान्ले मलाई बाटो देखायो। पशुपतिनाथले।

कुन बाटो कसरी आउनुभयो ?
गुहाटीबाट काक्रेभित्तो (काँकरभिट्टा), त्यहाँबाट सिधै बसपारक। गाडी भाडा कति थियो भने ९० रुप्पेँ। 

भेष कुन प्रेरणाले बदल्नुभयो ?
भेष बदल्न मैले गुरु खोजेर हिंडेँ। पहिला यो अखडाको महन्थ रहेछ। रामशरण दास ‘उदासी’ भन्ने। लौ महराज मलाई पनि यसो चेला बनाइदिनुस् न भनेँ। नाम त राखिदियो दास। तर, पक्का चेला स्वीकार्दिएन। नस्वीकारेपछि म इन्डियाको उत्तरप्रदेश गएँ। त्यहाँ डन्ठेवाला भन्नेसँग बसेँ। धेरै बसिनँ। एक महिना बसेँ। उनले पनि एउटा कन्ठी दिए। मेरो पानी चलाइदिए। ऊ कहाँ जान्छ, मलाई घरगृस्थीमा लगाइदियो। अनि मैले त्यहाँ पनि त्यागदिए। त्यहाँबाट फेरि पशुपतिमै आएँ। यहाँ आएर दूधधारी बाबाकोमा बसेँ। सेवक त धेरै गरिनँ। उनैलाई यसो गुरु मानेर मनमुख्यले स्वीकारिदियो। मैले पनि पालन गरिराखेकेको छु । मेरो सही थाई गुरु छैन। 

त्यत्रो हजारौं फौज दरबारमा छ, वीरेन्द्र सरकार कसरी मर्‍यो त ?

यहाँ बस्दा कस्तो देखिँदो रहेछ ? 

मैले यहाँ बसेर के देखे भने हिन्दु हिन्दु भन्छ। के रहेछ भनेर हिन्दुको परीक्षा लिएको हो। 

तपाईंले ?
हो। परीक्षा लिएको अनुसार अहिले सही धर्म हो त्यो। तर, मानव छ तर दानवको कर्म गरिरहेछ। कर्म चैं मानवको हुनु पर्‍यो नि ! मैले पनि त गर्न सक्या छैन। कर्मचाहिँ मैले गर्‍या’छु दानवको, भाषण भने सुना’छु म मानव हो भनेर मात्रै भो र ?

यसमा दोष त मान्छेको हो, धर्मको होइन नि !
हो नि ! कुरा यत्ति हो। लास्ट। 

मान्छे बिग्रे..., होइन ?
हो। ल हेर्नुहोस्, त्यत्रो हजारौं फौज दरबारमा छ। वीरेन्द्र सरकार कसरी मर्‍यो त ? भरे फुक्ने बेलामा त आफ्नै छोराले मार्‍यो भन्यो होइन ? 

तपाईंलाई के लाग्छ, कसले मार्‍यो होला ? 
मलाई पनि शंखा त त्यही हो। त्यत्रो, यत्रो राजाको दरबारमा त्यत्रो आर्मी, पुलिस हरेक सीआईडी कर्मचारी रहे होला नि त। राजारानी त मार्दो रहेछ। हामी जस्तोलाई के भर ? हामी त के हो ? न हाम्रो गार्ड छ, न केही छ। कसैले प्वाक्क हिर्कायो भने मरिहाल्छ। त्यसको बदला कालम्, अकालम्। कालले मारेको मान्छे अलि तर्ला। अकालले मरेको मान्छे त्यही भूत, पिचास, डौंडा, वायु। विचार गर्नुस्। तपाईंको ज्ञानले।

धेरै कुरा थाहा छ तपाईंलाई। तपाईं भनेको खासमा इतिहास हो नि, होइन ?
यो त मेरो भाग, भोग हो। मैले कति भोग्नु पर्‍या छ, पर्‍या छ । यसको कुरा असली अलिअलि बुझेको। अर्को जन्म भएन भने भेट हुन मुस्किलै रहेछ। अर्को जन्म आयो भने हाम्रो भेट भइहाल्छ। तर, चिन्दैन।

मान्छे कुन बाटोमा छजस्तो लाग्छ ?  
मान्छेले भागवत् पढ्यो, भाव पढेन। 

भाव किन नपढेको होला त ?
भाव चिनेकै छैन। भाव त अज्ञान हो। त्यो भावलाई जाग्राम गर्ने भागवम्, किताब हो। संस्कृति भनेर ब्राहमणहरूले पढ्यो। भोटे लामाहरूले के पढ्यो ? ऊँ माने पेमे हुँ भनेर पढ्यो। मुस्लिमले अल्लाह... पढ्यो।  क्रिस्चियनले ईसु जिसु क्राइस भनेर पढ्यो। भाव कसले पढ्यो त ? हो कि होइन ? 

तपाईंले कतिवटा धर्मग्रन्थ पढ्नु भा’छ त ?
मैले पढ्या छैन। मैले त भरखर सिक्या हो।

लेख्ने पढ्ने पनि गर्नुहुन्छ ?
म गर्दिनँ।

स्कुल पढ्नुभएको छ कि छैन ? 
पहिला बाउले कखसम्मन् सिकाको।

फेरि अलिक फरक कुरा गरौँ है। कुटीभित्रबाट हेर्दा मान्छेको जीवन के रहेछ ?
मान्छेको जीवन सही सत्य रहेछ। सत्यमा बस्ने हो भने यस्तो जीवन पाउन गाह्रो रहेछ। 

तपाईंको जिन्दगी सफल छ कि छैन, कस्तो लाग्छ ?
मेरो जिन्दगी अब दुईटै कुरा छ। म अहिले समाधिमा बसेको छु। मेरो समाधिलाई सोधेको छु, म अब अजन्ममा जानु सक्छु किभन्दा जन्मलाई कोसिस गर्छु । म जन्मलाई कोसिस गर्छु। मेरो कर्म गर्दै जान्छु। मेरो कर्मले जहाँ लाग्छ, उहीँ प्रकट हुन्छु। मैले जे कर्म गर्‍याछु यो शरीर अग्निमा जान्छ। यो मन हावा बनेर उडेर जान्छ।

त्यो मनलाई बाँध्न सकिन्छ कि सकिँदैन ?
सकिन्न। यो जीवको हावा छ नि, हराएर जान्छ। बान्नु सकिन्छ, शरीर हुनजेलसम्म मात्रै हो।

राजनीतिमा कतिको चासो राख्नुहुन्छ ?
राजनीतिकमा ? राजनीतिक खोलेर बोल्यो भने... तपाईंको आफ्नो सीमाना छोडेर अर्काको सीमानामा जान मिल्छ ? अर्काको सीमानामा हस्तक्षेप गर्नु हुन्न। आफ्नो सीमाना जोगाउनुपर्छ। बोली त मैले भन्यो, तर म राजनीतिमा लाग्या छैन।

तपाईं नेता हुनुपर्ने मान्छे  हो नि, यति मीठो भाषण गर्ने।
म नेतामा नजाने।

किन ?
म अब यही भेषमा जाने 

यही भेषमा नेता हुँदा पनि हुन्छ नि !
हुँदैन। हुँदैन। 

किन ?
यो भेषमा हुँदैन। हामीहरूको यो भेषमा मान महन्थसम्म हुन सक्छ। मान महन्थ भइसकेपछि आफ्नो अखडा जति छ, त्यतिलाई आफूले कन्ट्रोल गर्न सक्नुपर्छ। आफ्नो अखडा भित्रको जिमिनजग्गा कति छ ? त्योसहित कन्ट्रोल गरी ल्यानुपर्छ। अनि मात्रै बोल्नु पाउँछ, नत्र पाउँदैन। यो कुरा बोलेर पनि साध्य छैन। जस्तो कि अहिले त हामी सीमाना बेगरका भ्रष्टाचारी छौं । महन्थको अधिकार पाइसकेपछि आफ्नो अखडा बाहिर हस्तक्षेप गर्नुहुँदैन। यो पनि राजनीतिक जस्तो रहेछ। म नमस्ते हजुर हो, म त यत्तिकै। भिखारी बन्ने, खाने, हिड्ने। ३५ वर्षमा मैले यति जानेको। 

नेपालमा अहिले कुन शासन छ , तपाईंलाई थाहा छ ?
शासन त के भन्नु ? पहिला गाउँ राजा रहेछ। गाउँ—गाउँमा आफ्नो–आफ्नो राजा रहेछ। सबै जातको। जति जात थियो, सबैको राजा थियो। आफ्नो–आफ्नो राज्य चलाउँदो रहेछ। त्यो राज्यलाई एककठ्ठा पारेको पृथ्वीनारायणले हो। अब त्यो बताउनलाई हामीसँग इतिहास छैन। त्यसको जानकार छैन।

अहिले प्रधानमन्त्री को छ,  तपाईंलाई थाहा छ ?
अहिलेको प्रधानमन्त्री... असली गिरजा गइगो। अब संविधानसभाको प्रचण्ड छ। संविधानसभाको दुई वर्षमा संविधान खडा गर्छु भनेर छे सौ एक सांसद राखेको छ। प्रचण्डको आवाजबाट छ। अब प्रचण्डलाई के भन्नुहुन्छ त ?

प्रचण्डलाई कसरी चिन्नहुहुन्छ ?
मैले त आवाजबाट चिनेको। शरीरबाट चिनेको छैन।

प्रचण्ड कस्ता व्यक्ति हुन् ? 
ऊ कस्तो रहेछ भने... पहिला अंग्रेजमा गएर पढेको रहेछ बाबुराम। उहीं पनि नोकरी पाइराखेको रहेछ। त्यहाँको नोकरी छोडेर यहाँ आको रहेछ। त्यो हाम्रो अनुभवले भनेको हो।

माओवादी युद्धकाबारे थाहा पाउनुभयो ?
त्यो सबैलाई थाहा छ। मलाई मात्रै होइन ।

केपी ओलीलाई चिन्नुहुन्छ ?
चिन्छु।

अनि शेरबहादु देउवालाई ?
शेरबहादुर देउवा त नेपालको प्रधानमन्त्री हो। 

सरकारले के गर्दै छ त ?
तपाईंहरू जनगणनामा छ कि छैन ? जनगणनाले भनेको कुरा हो। 

जनगणनाले के भनेको छ ?
जनगणनाले नयाँ नेपाल बन्छ भनेको छ। शासन पुरानै भए पनि त्यसअनुसार ऐन, कानुन सबै जोडेर आफ्नो–आफ्नो धर्म बचाउनु भनेको छ। केलाउनुपर्छ धेरै, नकेलाइकन हुँदैन। अनि, अहिलेको सरकार भनेको नेपाल सरकार भन्ने कि प्रचण्ड सरकार भन्ने त ? भन्दा खेरी अब देउवा र प्रचण्डको सवाल हो।

नेपालबाट राजा हटेको यहाँलाई थाहा छ ?
(हाँस्दै) राजालाई हटाएकै प्रचण्डले त हो नि !

अहिले राजको ठाउँमा को छ त ?
वीरेन्द्रपछि ज्ञानेन्द्र आएको थियो नि ! पहिला–पहिला राजाको नाउँ कसरी पुकाथिर्यो भने, ‘श्री ५ वीरविक्रम शाहदेव आजु पशुपतिनाथमा आइबस्किनुहुन्छ रे। तपाईंहरूले अलिकति बाटो छोडदिनुपर्छ।’ भनेर भन्थें। अहिले, ‘ज्ञानेन्द्र आउँछ रे, बाटो छोडदिनु रे’ भन्छ। सुनेको क्या। 

अरूलाई चाहिँ के भन्छन् त ?
अरू त त्यस्तै हो, प्रचण्डले देश बिगारो भन्छ।

कसरी ?
नाइँ, बिगारेकै हो। अहिले कसरी बिग्रया हो भने चाइनाले ठ्याक्कै टिब्बेट खायो। तराई खायो इन्ड्याले। बिग्रियो कि बिग्रिएन ? 

राजाको ठाउँमा देशमा अहिले को छ त ?
अहिले त मैले तपाईंहरूलाई पक्का भन्नु पर्दा त त्यही हो– प्रचण्ड र देउवा।  

प्रचण्ड र देउवा ?
हो, हो।

विद्यादेवी भण्डारीबारे थाहा छैन ?
विद्या भण्डारी त अब राष्ट्रपति भो। यता प्रधानमन्त्रीमा उनीहरू (देउवा र प्रचण्ड) भो। 

कुटीमा बस्नु भएको छ। बाहिर ठूला–ठूला, अग्ला–अग्ला घरहरू, चिल्ला–चिल्ला गाडीहरू छन्। यहाँबाट चाहिँ कस्तो देख्नुहुन्छ ?
अहिले बाहिर हेर्दा खेरी रात पनि उज्यालो दिन पनि उज्यालो देखिन्छ। दिनरात बराबर छ। दिन पनि अध्यारो छैन, रात पनि अध्यारो छैन। त्यहाँदेखि के चाहियो त ? 

तपाईंलाई यो कुटी छाडेर बाहिर गएर भेष बदल्न मन लाग्दैन ?
भेष बदल्यो भने पुलिसले मलाई लाठी लगाइहाल्छ नि !

किन ?
ह्या। 

ह्या ? 
तपाईंले नीतिखुती सोध्दा म नीतिखुती बताइदिन्छु। अब मलाई अहिले त्यहाँ बाहिर निस्कियो भने तपाईंले नै भन्नु होला, ‘यो मुला कहाँबाट आएछ खाते। भेष फेर्‍यो, काम गर्नेको दुःखले, साधु बन्यो।’ भन्नुहुन्छ कि भन्नुहुन्न ?

म त भन्दिनँ। 
नभन्ने कुरै छैन। मैले न्यो भोगी–भोगी कन सिकेको। 

सबैले कहाँ भन्छ ?
भन्छ। यो त पर्वते भाषामा भयो। हाम्रै तामाङ भाषामा जाँड–रक्सी खाएर हुहू गर्छ र भन्छ– ‘बालबच्चा लुट्नु आको हो यिनीहरू, लात्ताले गोदेर पठाइदे।’ 

तपाईंलाई कति भाषा आउँछ ?
त्यति आउँदैन। सक्दिनँ। राष्ट्रिय गीत आउँदैन। (उनले तामाङ भाषामा दुइटा गीत सुनाए।) 

साह्रो राम्रो स्वर रहेछ नि ! गायक बन्नुपर्नेजस्तो। 
अब त सक्दिनँ। मेरो रोगले खाइसक्यो। 

पहिला गीत पनि गाउनुभयो ?
पहिला गाउन खोजेको हो। तर, मैले नगाको हो। मैले यही भेषमा अलिअलि सिकेको हो। तपाईंहरूको क्षत्री भाषामा असारे गीत गाउँछ नि– 
(भाका हालेर गाउँछन्) 

छुपुमा छुपु धानै रोप्ने खेत आली धानेर
बाउसेले हली गर्‍यो गोरु नारेर

भन्छ कि भन्दैन ? 

तपाईंलाई अहिले आफ्नो भेषमा बाबा हुनु ठीक लाग्छ कि बाहिर हिँड्नेहरूको जिन्दगी रमाइलो पाउनुहुन्छ ?
नाइँ, नाइँ। काहीँं पनि गए पनि  कुनै भेष पनि राम्रै हो। जस्तो हामीले असली जान्नु पर्ने वेदको लाइन रहेछ। चार वेद अठार पुराण जानियो भने केही न केही कुरो जान्दो रहेछ। यहाँ त त्यही बेदमा बली चढ्दो रहेछ। त्यही वेदले बलीको प्रार्थना गर्दो रहेछ। मनोरञ्जनले गर्दाखेरी सबै राम्रो हो। आफ्नो बसोबास सिमा हिसाबले त अलग अलगै हो। हेर्नुस् जस्तो आफ्नो कुलदेवता छोड्न सक्दैन। नेपालमा अंश र  वंश चाहिन्छ। अरु देशमा अंश वंश छैन। विदेशमा छोरीको अधिकारमा हुन्छ। हाम्रो यहाँचाहिँ लोग्ने मान्छेको अधिकारमा हुन्छ। हो कि होइन ? अतिले त छोरीले पनि अधिकार खोजेको हुनाले सपै काम चलेको छ नि। अहिले छोरीचेलीहरूले गोरु जोतिसक्यो। घाटमा मलामी भएर लास पोलिसक्यो। पहिला छुनु दिन्न थिए। 

नागरिकता बनाउनुभयो त ?
मेरो पहिलो प्रश्न, मेरो नागरिक्त (नागरिकता) बनाइदेन। यहाँको नागरिक्त नै छैन। म यत्रो बुढा भइसक्यो, मेरो नागरिक्त छैन। 

बनाउन जानुभएन ?
गएर, भोट दिएर पनि पाएन। यही वडामा भोट दिएको छु। सुवर्णको पार्टीलाई।

सुवर्णको पार्टीलाई रे ?
हो, जनगणना पार्टीमा।  

के चिह्न थियो ?
चिह्न त उनीहरूले राख्ने। के चिह्न मलाई के थाहा ? मलाई भोटपत्र दिएन। त्यहाँ भोट हाल्न पनि दिएन। अनि टोलीले उठाको भोटपत्रमा भोट परेको छ। 

तपाईंलाई भोट हाल्न दिएन ?
मलाई भोट हाल्न पनि दिएन। मलाई भोटपत्र पनि दिएन। जसोतसो गरेर नागरिक्तका लागि कोसिस गरेको थिएँ। नागरिक्त पनि बनिसकेका थिए। तर, भरे सचिवले हटाइदिए।

के भनेर हटाइदिए ?
हुँदैन भनेर।।

किन हुँदैन भने ?
भरे उनीहरूलाई असिलो पर्ला कि भनेर। मेरो पनि त ठेगान नभको खासगरी। मेरो पार्मेन (प्रमाण) नभको। पार्मेन त भको, तर सबै नभको। 

तपाईंको यहाँ (पशुपति) ठेगाना छ नि !
मेरो त जन्म ठेगाना छ नि !

तपाईंका दाजुभाइ दिदीबहिनी कति जना हुनुहुन्थ्यो ?
दुई दिदीबहिनी थिए। चार भाइ दाजुभाइमा म छुट्टिहालेँ। अब तीन भाइ कता छ कता, थाहै छैन।

आमा हुनुहुन्छ कि हुनुहुन्न ?
बुवा त सत्र सालअगाडि नै बिते। मुमा त जिन्दै थे, मैले छोडेर जाँदा। कहिले बिते, कहिले बिते।

आमाको बारेमा थाहै छैन ?
छैन। उहाँ सिलोङगबाट चिठी पठाको। मेरो त मामाहरू पर्छ। आमाको त दाजुभाइ पर्छ। उनीहरूले मैले तेरो आमा त भन्दियो। पैसा पठाउन सकेको थिएन। त्यसैले ढाँटेको हो कि। 

यो कुटीमा कहाँबाट खाना आउँछ ? कहाँबाट आर्जन हुन्छ ? कसरी गुजारा हुन्छ ? 
तपाईंहरू जस्तोले कुइरेहरू ल्याउँथे। पर्यटनहरू आउँछ। अनि, ऊ त्यस्तै फोटो खिच्नेले अलिअलि पैसा दिन्छ। हजार र पाँच सौ भनेको चाहिँ आकाशको फल आँखातरि मर। सौउ—पच्चास त सधैं भइराख्छ। मलाई त्यसैले पनि पुगिराखेको छ।

समाधिमा जानुभन्दा पहिले जिन्दगीमा के गर्न पाए हुन्छ जस्तो लाग्छ ?
मलाई त अब केही पनि लाग्दैन। मलाई त यो समाधि सम्हालेर म भूत भए पनि, प्रेत भए पनि, चेत भए पनि... तर्‍यो भन्ने लाग्छ। यो शरीरमा भोग्नै परिहाल्यो। उसै भोग्नै परिहाल्यो। 

यतिञ्जेलसम्म पाप गरेंजस्तो लाग्छ कि धर्म ? 
त्यो त मैले दुवै कुरा बराबर गरेको छु। कोई ठाउँमा पाप पनि गरेँ होला, कोई ठाउँमा धर्म पनि। तर, हातले गरिनँ। आँखा र बोलीले गरेँ। तपाईंहरू विद्वान्ले सोधेको कुराको मैले प्रस्ट दिएँ। अब तपाईंहरू के भन्नुहुन्छ त ? मेरो हात र खुट्टाले पाप गरिनँ। यो आँखा र यो बोलीले त गर्‍यो। 

कसरी ?
मेरो आँखाले त तपाईंको दुलही राम्रो देख्छ। हो क्या ! मुखले कति राम्रो भन्न थाल्छु। तर, त्यहाँ नजिक जान त सक्दिनँ। नजिक गए त हिर्काइहाल्छ। त्यो पनि डर लाग्छ। हत्तेरी, अर्काको स्वास्नीले भरे के गर्ला, के गर्ला भन्ने हुन्छ। अनि, त्यस्तो झुकझुकमा मैले तपाईंलाई बोली खोलेर बोलिदिएको छु। हाहाहा....। यस्तो गरी बोल्ने बोली कसैको पाउन पनि मुश्किल छ। 

त्यही भएर त हामी कुरा गर्न आएको नि !
त्यसकारणले दोषी भनेको मन पापी आँखा लोभि हो। यो दुइटाले हामीलाई कहिले छोड्दैन। अनि गर्छु भन्ने काम पनि गर्न सक्दैन। लोभ चैं लागिरहन्छ  नि ! हो त्यस कारणले मलाई पनि त्यसैमा दोष लागेको हो। किनभने ४० सालमा पनि आफ्नो लेनादेनाले आफैंले झन्डै ज्यान फाल्नु परेको। अहिले यो रूपमा त्यस्तैै भइराख्या छ। तर, मलाई  डर छैन। मर्नै परिहाल्छ एक दिन। भगवान्ले जन्म दिएको छ... काल अकाल मात्रै हो। कालमा मृत्यु भयो भने अर्कै हुन्छ, अकालमा भए अर्कै हुन्छ। त्यति मात्रै हो। 

विशेष धन्यवाद : दीपेन्द्र भण्डारी/राजकरण महतो


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.