गुम्बै गुम्बाले भरिएको मुस्ताङ
जोमसोम : उत्तरी छिमेकी देश चिनसँग सीमाना जोडिएको हिमाली जिल्ला मुस्ताङमा तिब्बती कला-सस्कृतिको प्रभाव बढी छ। मुस्ताङका अधिकांश मानिसले बौद्ध धर्ममा आस्था राख्ने गर्छन्। उपल्लो मुस्ताङमा तिब्बती भाषा, कला सस्कृति र रहनसहन करिव-करिव मिल्दोजुल्दो छ।
उपल्लो मुस्ताङको दुई स्थानीय तहमा बिष्ट, गुरुङ र लोहा समुदायका मानिसको बसोबास छ। मध्यमुस्ताङको वारागुङ मुक्ति क्षेत्रमा अधिकांश गुरुङ समुदायको बस्ती छ भने आशिंक दलित समुदाय बस्छन्। तल्लो मुस्ताङको घरपझोङ र थासाङमा थकाली, गुरुङ र दलित समुदायको मिश्रित बसोबास छ। झन्डै १३ हजार जनसंख्या रहेको हिमाली जिल्ला मुस्ताङमा यहाँका ९० प्रतिशत स्थानीयले बौद्ध धर्म मान्ने गरेका छन् ।
बौद्ध धर्मको प्रभुत्व रहेको हिमाली जिल्ला मुस्ताङ गुम्बै गुम्बाले भरिएको छ। मुस्ताङका ५ वटै स्थानीय तहका प्रत्येक वडामा गुम्बा छन्। मुस्ताङमा अवस्थित आधाजसो गुम्बा सदियौं वर्ष पुरानो हुन्। कतिपय गुम्बाहरु भने केही नयाँ छन्।
मुस्ताङका गुम्बामध्ये सबैभन्दा पहिलो र पुरानो गुम्बा हो, उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापा—१ मराङको 'घर' गुम्बा। यस गुम्बा लोघेकर गुम्बाको रुपमा पनि परिचित छ। यो गुम्बा ८ औं शताब्दीमा निर्माण भएको हो। तिब्बतमा राजा ठिस्रोङ धेचेनले राज्य गर्थे। त्यस समय राजा धेचेनले धार्मिक गुम्बाहरु निर्माण गर्ने क्रममा विभिन्न व्यवधान उत्पन्न भयो।
तिब्बतमा गुम्बा निर्माणमा विभिन्न अवरोध सृजना भएपछि गुरु रिम्पोर्छे (पद्यसम्भव) तिब्बत पुगेका थिए। गुम्बा निर्माणमा अवरोध पुर्याउनेलाई लखेट्दै लखेट्दै तिब्बतमा मुस्ताङ ल्याए। मुस्ताङ लखेटेकालाई फेरि तल्लो मुस्ताङबाट माथि-माथि धपाए। यसरी धार्मिक कार्यमा व्यवधान पर्याउनेलाई त्यससमय राक्षस भन्ने गरिन्थ्यो। पद्यसम्भवले मुस्ताङको मराङमा राक्षसको बध गरेको हुनाले पद्यसम्भवले त्यहाँ धार्मिक गुम्बा स्थापना गरेको भन्ने भनाइ छ। मुस्ताङको मराङमा गुम्बा स्थापना भएपछि जिल्लाको अन्य स्थानमा पनि गुम्बा स्थापनाकार्य सुरु भएको थियो।
हिमाली जिल्ला मुस्ताङमा झन्डै ३ दर्जन बढी गुम्बा छन्। जसमध्ये नाम चलेका गुम्बाहरु भने एक चौथाइ मात्र छ। विभिन्न श्रोतले दिएको जानकारी अनुसार उपल्लो मुस्ताङको लोमान्थाङमा ७ वटा, लोघेकर दामोदरकुण्डमा ६ वटा, वारागुङ मुक्तिक्षेत्रमा ७ वटा, घरपझोङमा ७ वटा र थासाङमा ५ वटा गुम्बा छन्। लोमान्थाङ—५ मा झ्याम्पा गुम्बा, थुक्छेन गुम्बा र छोदे गुम्बा छन्। लोमान्थाङको छोसेरमा निफुक गुम्बा र गर्फु गूम्बा छ भने नाम्ग्यालमा नाम्ग्याल गुम्बा छ।
लोमान्थाङ गापामा छोजुङ गुम्बा छ। छोजुङ गुम्बा बेवारिसे अवस्थामा रहेको लोमान्थाङ छोदे गुम्बाका लामा झ्याम्पा घ्याचो गुरुङले जानकारी दिए। उनले सो गुम्बामा लामाहरु बाह्रै महिना नबस्ने बताए। छोजुङ गुम्बा सदियौं वर्ष पुरानो रहेकाले जीर्ण हुँदै जान थालेको उनको भनाइ छ। सो गुम्बा मर्मतका लागि पालिकाले केही रकम बजेट दिएको थियो। लोमान्थाङको झ्याम्पा र थुक्छेन गुम्बाहरुको रेखदेख तथा पूजापाठ छोदे गुम्बाका लामाहरुले गर्ने गरेको लामा घ्याचो गुरुङले उल्लेख गरे।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापाको मराङ, चराङ, घमी, घिलिङ र सुर्खाङ लगायतका स्थानमा सदियौं पुराना गुम्बा छन्। जसमध्ये लुरी गुम्बा ,घर गुम्बा र चराङ गुम्बा मुख्य हुन्। यस्तै, वारागुङ मुक्तिक्षेत्रको कागबेनी, मुक्तिनाथ, तीरी र छुसाङमा गुम्बा छन्। मुक्तिनाथ परिसर भित्र चर्चित ज्वालामाई गुम्बा छ। यो गुम्बा २०७२ सालको महाभुकम्पले क्षति पुर्याएको थियो। पुरातत्व विभागले सो गुम्बा पूननिर्माण गरिरहेको जनाइएको छ।
मुस्ताङको घरपझोङमा ५ वटै वडामा गुम्बा छन्। जोमसोम, ठिनी, ढुम्बा, स्याङ, मार्फा र छैरोमा गुम्बा छन्। जसमध्ये जोमसोम गुम्बा केही वर्षअघि मात्र स्थापना भएको थियो भने अन्य गुम्बा सदियौं वर्ष पुराना गुम्बा हुन्। यस्तै मुस्ताङको थासाङ गापा अन्तर्गत टुकुचे, सौरु, कोवाङ, नाकुङ र ताक्लुङमा सदियौं वर्ष पुराना गुम्बा छन्। पछिल्लो समय थासाङको लेते र घाँसामा समेत नयाँ गुम्बा निर्माण भएका छन्। मुस्ताङमा अधिकांश सामुदायिक गुम्बा छन् भने केहीले निजी गुम्बा समेत निर्माण गरेको थासाङका स्थानीय सोजन हिराचनले जानकारी दिए। यस्तै मुस्ताङ झिना मसिना दर्जनौं गुम्बा छन् जुन चर्चामा छैनन्।
मुस्ताङमा ढुङ्गा र माटोले निर्माण भएका सदियौं वर्ष पुराना गुम्बाहरु वर्षाका कारण जीर्ण हुँदै गइरहेको हिराचनले बताए। उनले मुस्ताङका प्राचीन गुम्बाहरुलाई सरकारले बेवास्ता गरेको जनाए। तर मुस्ताङका केही गुम्बाहरुको पुननिर्माण तथा स्तरोन्नति विदेशी संघसंस्थाहरुको सहयोगले गरिएको छ।
मुस्ताङका अधिकांश गाउँहरुमा गुम्बा स्थापना भए पनि गुम्बामा पूजापाठ गर्ने लामाहरुको अभाव छ। केही वर्षअघि मुस्ताङमा घरको माइलो छोरालाई लामा गुम्बामा र माहिली छोरीलाई आनी गुम्बामा चढाउने चलन रहेको थियो। पछिल्लो समय मुस्ताङमा यो प्रचलन बिस्तारै हट्दै गइरहेको छ। पछिल्लो समय घरको स्वईच्क्षाले मात्र छोरीछोरीलाई गुम्बा राख्ने गरिएको छ। मुस्ताङका गुम्बामा बहुमुल्य मूर्तिहरु हुने भए पनि पछिल्लो समय सुरक्षाको दृष्टिकोणले निकै चुनौतीपूर्ण छ। पछिल्लो समय सडक सञ्जालले जोडिएसँगै मुस्ताङमा विभिन्न प्रकारका मानिसहरुको आउजाउ हुने भएकाले मुस्ताङका गुम्बाहरु असुरक्षित बन्दै गएका हुन्। विगतको इतिहासमा मुस्ताङका केही गुम्बा तथा व्यक्तिको घरमा राखिएका बुद्धको मूर्ति तथा अन्य बहुमुल्य खजाना हराउने गरेको स्थानीय बताउँछन्।