सिन्धुलीमा बाढीमा बेपत्ता भएका अझै भेटिएनन्
सिन्धुली : सिन्धुलीमा लगातार वर्षाका कारण आएको बाढीले बगाउँदा वेपत्ता भएका पुरुष अझै भेटिएका छैनन्। शुक्रबार गोलन्जोर गाउँपालिका २ स्थित बितिजोर खोलामा आएको बाढीले बगाउँदा स्थानीय ५० वर्षीय पुण्यबहादुर कार्की बेपत्ता भएका थिए । तीन दिनदेखि स्थानीय र प्रहरीले लगातार खोजी गरिरहेको छ । तर उनी भेटिएको छैन।
कृषि औजारमा धार लगाएर घर फर्किदै गरेका कार्कीलाई शुक्रबार साँझ बितिजोर खोलाले बगाएको थियो । उता लगातार वर्षासँगै आएको बाढी र पहिरोले अवरुद्ध विपी राजमार्ग र मध्य पहाडी लोकमार्ग आइतबारबाट एकतर्फी सञ्चालनमा ल्याइएको सिन्धुलीका प्रहरी प्रवक्ता मनोज कुमार लामाले जानकारी दिए ।
‘सडक माथीबाट खसेको पहिरो सफा गर्ने कार्य भएपनि सानो पानी परेपछि खहरे र लेदोले सडक अवरुद्ध हुने गरेको छ । अहिले भने दुबै राजमार्गहरु एकतर्फी सञ्चालनमा ल्याएका छौं,’ उनले भने ।
यसैबीच अविरल वर्षाका कारण खसेको पहिरोले सिन्धुलीको कमलामाई नगरपालिका ११ फिटिङमा तीन घर पुरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता मनोज कुमार लामाका अनुसार सँगै जोडिएका अन्य ९ घर उच्च जोखिममा छन् । जोखिममा परेकाहरुलाई प्रहरीले सुरक्षित स्थानमा सारेका छन् ।
सिन्धुलीमाडी-चकमके सडकसमेत बगाउने गरी खसेको पहिरो कमलामाइकै ७ एकपाखेमा दुई घर जोखिममा परेका छन् । कमलामाई नगरपालिका ३ स्थित सोलाभन्ञ्याङ-मझुवा सडकमा पहिरो जाँदा त्यहाँ दर्जनौ घरहरु जोखिममा परेको स्थानीयले बताए ।
कमलामाई नगरपालिका ४ को चिसापानी झोरामा समेत पहिरो खस्दा ४ घर जोखिममा परेका छन् ।
बागमती, कमला, मरिण र चँदाहा खोलामा आएको बाढीले खेतियोग्य जमिन कटान गरिरहेको छ भने सुनकोशी लगायत नदी तटिय क्षेत्रमा रहेका बस्तिहरुमा बाढी र पहिरोको जोखिम बढेको छ ।