बलान पुल कहिले सञ्चालनमा आउँला?

सिरहा : हुलाकी सडकअन्तर्गतको सिरहा-सप्तरी जोड्ने बलान नदीमा पुल निर्माण कार्य सम्पन्न भएपनि सञ्चालनमा अझै आउन सकेको छैन । पुल सञ्चालनमा नआउँदा स्थानीय वासीलाई आवतजावतमा कठिनाई भएको छ । सिरहा-सप्तरी वारिपारी गर्न दक्षिणी भेगका स्थानीय लामो दुरीको यात्रा गर्न बाध्य छन् ।
निर्माण सकेको दुई महिनाभन्दा बढी बित्दा पनि हस्तान्तरण र उद्घाटन भएको छैन । निर्माण कम्पनीले पुलको वारिपट्टि पाईप कल्भटको व्याकफिलिङ पनि अधुरो छोडेको छ । त्यही कारणले सवारी साधन आवागमन भइरहेको छैन् ।
सरकार र ठेकेदार पक्षको ढिला सुस्तीले बनेको पुलबाट सहज रुपमा आवतजावत गर्न नसकिएको भगवानपुर गाउँपालिका २ नहराका रविलाल पासमानले सुनाए । पुल बनेको छ तर सडक तथा पाईप कल्भटको काम अधुरै छ,’उनले भने, ‘पुल सञ्चालनमा ल्याइदिए हामी दक्षिणी भेगका नागरिकलाई सप्तरी-सिरहा वारिपारी गर्न सजिलो हुने थियो।’
भगवानपुर, नवराजपुर गाउँपालिकाबाट राजविराज हुलाकी सडकबाट २७किलो मिटर दुरी पर्दछ । तर, पुल सञ्चालनमा नआएकोले त्यहाँका नागरिकलाई पूर्व-पश्चिम राजमार्ग हुँदै ५५ किलो मिटर दुरी यात्रा गर्नुपरेको छ । यस्तै समय र खर्च पनि बढी लाग्ने गरेको छ।
‘कार्यालय, व्यापार र आफन्तको आउजाउ गर्न सिरहा–सप्तरी जानुपर्छ,’ सोही ठाउँका श्यामयादवले भने, 'वर्षौपछि पुलबन्यो तर, उपयोग गर्न अझै कती दिन लाग्ने अतोपतो छैन्।’ पुलवारि सवारी साधन राखेर वर्षामा पैदल हिडेर पारी जानुपरेको उनले सुनाए ।
सम्झौता अनुसार २०७८ असार १५ गते सम्ममा काम सम्पन्न गर्नुपर्ने थियो । काम सम्पन्न भएको दुई महिना बित्दा पनि सञ्चालनमा आउन सकेको छैन् । शर्मा एण्ड कम्पनी प्रा.लि. ले २४ करोड ६२ लाख ८३ हजारको लागतमा १२ स्पानको ४७० मिटर लम्बाई भएको उक्त पुल निर्माण गरेको हो ।
‘सयमसीमा भित्रै हामीले काम सम्पन्न गरिसकेका छौँ । पाईप कल्भर्टको व्याकफिलिङ मात्र बाँकी रहेका छ । हस्तान्तरणको प्रक्रियामा रहेको छ,’ निर्माण कम्पनीका आयोजना प्रवन्धक डि.पी. भुसालले भने । यो पुलको शिल्यानाश २०६८ सालमै भएको थियो ।
निर्माणका लागि सरकार र शर्मा पप्पु जेभीबीच सम्झौता २०६८ फाल्गुन १५ गते भएको थियो । सुरुमा पप्पु कन्सट्रक्सनले निर्माण गरेको थियो । ८ वर्ष सम्ममा पनि पुर्णता पाउन नसेकपछि ०७५ चैतमा पप्पु कन्सट्रक्सनको सट्टा लिड पार्टनर शर्मा एण्ड कम्पनीलाई जिम्मा दिइएकोमा कम्पनीले ०७८ असार १०गतेभित्रै काम सम्पन्न गरिसकेको भुषालले बताए ।
पुल निर्माण सम्पन्न भएपनि ‘लोडटेस्ट’ हुन बाँकी रहेको हुलाकी सडक आयोजना कार्यालय जनकपुरका साइट इन्जिनियर जयनाथ यादवले जानकारी दिए। लोडटेस्ट र पाईप कल्भर्टको व्याकफिलिङ सम्पन्न भएपछि हस्तान्तरण र उद्घाटन हुने उनले सुनाए । कार्यालयले पनि चाडैँ सञ्चालनमा ल्याउन प्रक्रिया बढाएको उनले सुनाए ।
प्रतिक्रिया दिनुहोस !
