कहिले खुल्ला मुक्तिनाथ मन्दिर ?
जोमसोम : कोरोना माहामारीको दुई वर्ष ६ महिनाको अवधिमा मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर जम्मा तीन महिना मात्र खुल्ला रह्यो ।कोरोना कहरकै कारण २०७७ साल चैत्र ११ गतेदेखि बन्द मुक्तिनाथ मन्दिर गतवर्षको पुस २१ गते खुल्ला गरिएको थियो ।कोरोना माहामारीको पहिलो लहरपछि विस्तारै लयमा आउन थालेको मुस्ताङको पर्यटन कोरोनाको दोस्रो भेरियन्टसँगै पुनः वैशाखदेखि ठप्पै बन्यो ।
कोरोना महामारीको पहिलो लहरको बेला मुस्ताङीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि निकै होसियारी र उच्च सजगता समेत अपनाएको पाइएको थियो ।तर, पहिलो लहरको जस्तो सावधानी दोस्रो लहरको अवस्थामा अपनाएको पाइएन ।
कोरोनाको दोस्रो लहर सुरु भइसकेपछि मुस्ताङमा झन्डै ५ सय भन्दा बढी नागरिक कोरोना संक्रमित बने भने १५ जनाले ज्यानै गुमाउन पुगे । स्तै,मुस्ताङमा उपचार हुन नसकी झन्डै २३ जनाको हेलिकोप्टरमार्फत उपचारका लागि पोखरा लगिएको थियो ।
कोरोनाको दोस्रो भेरियन्टसँगै बन्द भएको मुक्तिनाथ मन्दिर विगत ५ महिनादेखि यता सुनसान छ ।मुक्तिनाथ बन्द भएसँगै मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिती हुन सकेको छैन ।
मुस्ताङमा स्थानीय प्रशासनले गत वैशाखको पहिलो हप्ता कोरोना रोकथाम तथा नियन्त्रण गर्नुपर्ने भन्दै निषेधाज्ञा जारी गरेको थियो।स्थानीय प्रशासनले कोरोना कहरकै कारण पटक-पटक निषेधाज्ञा जारी गर्दै आइरहेको छ ।
धार्मिक,सामाजिक,सांस्कृतिक परम्परा अनुसार मन्दिर,गुम्बा,चैते,बिहार,चर्च, र मस्जिद लगायतमा लाग्ने मेला र भेला हुन रोक लगाउदै आईरहेको छ ।अनाआवश्यक मानिसहरुलाई घर बाहिर हिडडुल नर्गन अनुरोध गरिएको छ ।
नेपालमा कोरोनाको तेश्रो भेरियन्ट सुरु भएपनि मुस्ताङमा कोरोना संक्रमतिको संख्या घट्दै गईरहेको स्वास्थ्य कार्यालयको तथ्याङले देखाएको छ ।जिल्लामा संक्रमितको संख्या न्युनिकरण हुँदै गइरहेको अवस्थामा प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर खोल्नु पर्ने आवाज उठ्न थालेको छ ।
यसमा स्थानीय प्रशासन पनि मुक्तिनाथ मन्दिर खुल्ला गर्नुपर्छकी भन्ने पक्षमा छ । मुस्ताङमा निषेधाज्ञा जारी भएपनि लामो तथा छोटो दुरीका सवारी साधन चलेका छन् भने जिल्लाका ५ वटै स्थानीय तहका बिद्यालयले भौतिक रुपमै पठन/पाठन सञ्चालन गरेका छन् ।
निषेधाज्ञा जारी मुस्ताङमा स्थानीय प्रशासन यसमा मौन बसेको छ । मुस्ताङमा पछिल्लो समय जनजिवन सामान्य अवस्थामा फर्किन थालेको छ । कोरोनाको दोश्रो संक्रमणकालमा मुस्ताङमा १५ जनाले ज्यान गुमाउँदा वारागुङ मुक्तिक्षेत्र-१ मुक्तिनाथ रानीपौवाका ७ जना नागरिकले ज्यान गुमाएका थिए ।
यस्तै, सो गाउँका झन्डै ८० जना नागरिक संक्रमित बने ।कोरोनाले ज्यान गुमाएपछि अहिले मुक्तिनाथ रानीपौवासी सशंकित छन् । त्यहाका होटल तथा रेष्टुरेन्ट सबै बन्द छन् । उनीले महामारीको बेला सबै व्यवसाय बन्द गर्ने तर विद्यमान अवस्थामा मुक्तिनाथ मन्दिर खोल्न हुन्न भन्ने अडानमा छन् ।
कोरोनाको पहिलो लहरको बेला बन्द भएको मुक्तिनाथ मन्दिर २१ पुसमा सर्वसाधारणका लागि दर्शन खुल्ला गरिएको थियो । त्यससमय जिल्लाका निर्वाचित सांसद,मुक्तिनाथ विकास समिति,स्थानीय प्रशासन,वारागुङ मुक्तिक्षेत्र गापा,वडा तह,स्थानीय मुक्तिनाथ संरक्षण समिति,पत्रकार ,मन्दिरका पुजारी ,आनीझुमा र स्थानीय सरोकारवाला निकायको रोहबरमा मुक्तिनाथ मन्दिर खुल्ला गरिएको थियो ।
कोरोनाको दोस्रो लहरअघि मुक्तिनाथ मन्दिर खुलाउँदा स्थानीयबासी र सरोकारवालाबीच लिखित सम्झौता समेत भएको मुक्तिनाथ पुराङ रानीपौवाका गाउँ मुखिया कर्मछिरिङ गुरुङले उल्लेख गरे । मुक्तिनाथ मन्दिर खुल्ला गर्दा सरोकारवालाबीच शर्तसहित सहमति गरिएको उनले बताए ।
मुक्तिनाथक्षेत्र अन्तर्गतका गाउँहरु रानीपौवा,झारकोट,खिङ्गा र लुप्रा गाउँका बासिन्दालाई मुक्तिनाथ खुल्ला गरिएपछि यदी गाउँका कसैलाई कोरोना संक्रमण देखिएमा उपचारको व्यवस्था मिलाउने ,गम्भीर प्रकृतिका कोरोनाका बिरामीलाई पोखरा/ काठमाडौं लगेर उपचारका गर्नु परेमा हेलिकोप्टर व्यवस्था गरिनुपर्ने र कोरोना पीडित बिरामीको उपचार तथा हेलिकोप्टर चार्टरको खर्च मुक्तिनाथ विकास समितिको कोषबाट गर्ने सहमति भएको थियो ।
तर, त्यसको कार्यान्वयन नभएको मुखिया गुरुङको दु:खेसो छ । कोरोना कहरको बेला पीडित परिवारले उपचारका लागि लाखौं खर्च गर्नु परेको र कतिपय परिवारले मानवीय क्षति व्यवहोनु परेको मुखिया गुरुङको भनाइ छ ।
'मुक्तिनाथ खोल्दा स्थानीयलाई आश्वासनमा मात्र दिइयो, दु:खको घडीमा कसैले साथ दिएन,मुखिया गुरुङले थपे,'कोरोना हट स्पट भइरहँदा नत ,प्रशासन आयो ,नत पालिका आयो ,नत नेताहरु नै मलम लगाउन आए ,यसैले यसपल्ट पनि जोखिम मोलेर मन्दिर खोल्ने पक्षमा हामी छैनौं।’
कोरोना हटस्पट भइ नियन्त्रणमा आइसकेको मुक्तिनाथ रानीपौवासहित ४ गाउँका बासिन्दा अहिलेनै तत्कालको अवस्थामा मुक्तिनाथ मन्दिर खोल्ने मुडमा छैनन् । उनीहरुले स्थानीय प्रशासन र केही व्यवसायीको स्वार्थका कारण जबरजस्ती मुक्तिनाथ खुलाउँदा पहिलेको जस्तै मानवीय जोखिम सृजना हुने बताएका छन् ।अहिलकै अवस्थामा मुक्तिनाथ मन्दिर खोल्न गारो पर्ने मुक्तिनाथ रानीपौवाका पर्यटन ब्यवसायी सुरज गुरुङको भनाइ छ ।
विगतमा कोरोना जोखिमकै बेला स्थानीयलाई आश्वासन दिएर मन्दिर खोल्दा कोरोना संक्रमण बढेको बताउँदै पर्यटन व्यवसायी गुरुङले जबरजस्ती दबावको भरमा मुक्तिनाथ खोल्दा कोरोनाको स्वास्थ्य चुनौतीको सामाना गर्नुपर्ने उल्लेख गरे ।
मन्दिर खोल्नुअघि गरिएको सहमति पूरा नभएको र कोरोना पीडित परिवारलाई क्षतिपूर्ति समेत उपलब्ध नभएको बताए । उनले मुक्तिनाथ खोल्ने कुरा उठेमा ४ गाउँको बैठक बसेर उचित निर्णय लिने बताए ।
यता,कोरोना संक्रमण क्रमशः न्यूनिकरण हुन थालेको उल्लेख गर्दै मुस्ताङ उद्योग बाणिज्य संघले निषेधाज्ञाको अन्त्य र मुक्तिनाथ मन्दिर खोल्नु पर्ने पक्षमा उभिएको छ । संघका अध्यक्ष खगेन्द्र तुलाचनले मुक्तिननाथ मन्दिर खोल्न पहल भइरहेको जानकारी दिए ।
तर ,अध्यक्ष तुलाचनले स्थानीयबासीसँग राय सुझाव मागेको भएपनि त्यसमा सकारात्मक नरहेको पर्यटन व्यवसायी गुरुङले जानकारी दिए । मुस्ताङ उद्योग बाणिज्य संघका अध्यक्ष तुलाचनले मुक्तिनाथ मन्दिर खोल्न नसकेपनि कमसेकम मुस्ताङको कागबेनी सम्मको धार्मिक तथा पर्यटक स्थल खुल्ला गर्नुपर्ने प्रस्ताव राखेका छन् ।