फिल्म 'लाइफ इन एलए'को गीत सार्वजनिक
काठमाडौँ: नेपाली फिल्म ‘लाइफ इन एलए’ को 'पागल प्रेमी' गीत सार्वजनिक भएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा गीत सार्वजनिक गरिएको हो ।
प्रताप दास र कविता श्रेष्ठको स्वरको उक्त गीतमा अलिस कार्कीको संगीत र कविराज गहतराजले कोरिओग्राफी गरेका हुन् । पोखराको विभिन्न ठाउँमा छयांकन गरिएको गीत त्रिकोणात्मक कथामा आधारित छ । यस फिल्मको गीतमा ब्यास बिस्सु, अकेशा बिस्ट र शिल्प मास्के एकै साथ देखिनेछन् ।
फिल्मको छायांकन सम्पन्न
अमेरिकामा रहेका नेपालीहरुको जीवनशैली चित्रण गर्दै 'लाइफ इन एलए’ नामको फिल्मको छायांकन सम्पन्न गरेका छन् । कोभिड महामारीका कारणले नेपाली फिल्म उद्योग थलिएको बेला उनीहरुले फिल्मको ७५ प्रतिशत छायांकन सम्पन्न गरेका हुन् ।
सूर्य श्रेष्ठको निर्देशन रहेको उक्त फिल्मको छायांकन अमेरिकाको लस एन्जलस, लास भेगास र सन् फ्रान्सिस्कोमा गरिएको थियो । बाँकी २५ प्रतिशत छायांकन नेपालको काठमाडौँ, तनहुँको भिमाद र पोखरामा गरिएको हो ।
हलिउडमा कार्यरत प्रविधिकहरुले पनि यस फिल्ममा काम गरेका छन् । निर्माण टीमले फिल्मलाई अमेरिकामा दशैँ-तिहारको अवसरमा प्रदर्शन गर्ने लक्ष्य राखेको ब्यास बिशुले जानकारी दिए । फिल्ममा शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकको साथै अमेरिकामै बसोबास गर्ने अकेशा बिष्ट, जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय छ ।
ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको यस फिल्म १८ वर्षदेखि लस एन्जलसमा बसोबास गरिरहेका बिशुले निर्माण गरेका छन् । बिशु पेशाले इन्जिनियर भए पनि लामो समयदेखि अमेरिकाका नेपाली समुदायलाई खेलकुद सहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएका छन् ।
फिल्म निर्माणमा नयाँ भए पनि उनले अमेरिकामा नेपाली फिल्महरु प्रदर्शन गर्ने, कलाकर्मी तथा खेलाडीहरुलाई अमेरिकामा हुने कार्यक्रममा सहभागी गराउने काम धेरै अघि देखि गर्दैआएका हुन् ।
उनले अमेरिकामा भविष्यमा नेपाली फिल्म निर्माण र प्रदर्शन गर्न सहज होस् भन्ने उद्देश्यले आफूले फिल्म निर्माणमा हात हालेको दाबी गरेका छन् । अमेरिकाको लागि फिल्मका निर्माता राजेन्द्र ठकुराठी हुन् । ठकुराठीले अमेरिकाको प्रतिष्ठित फिल्म स्कुल यूएससीबाट ग्र्याजुएशन गरेका छन् । साथै उनले केही हलिउड फिल्म समेत निर्देशन गरेका छन् ।
संसार अन्जान सुवेदी कार्यकारी निर्माता रहेको यस फिल्ममा तीन वटा गीत छन् । फिल्ममा एलिश कार्की र प्रतिक पौडेलको संगीत, प्रताप दास, प्रविशा अधिकारी, कविता श्रेठ, आर्यन पाठकले स्वर भरेका छन् । भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहने यस फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी, एलिश कार्कीको पार्श्व संगीत छ । प्रदीप आचार्य (नेपाल) र प्रविन खत्री (यूएसए) प्रोडक्सन म्यानेजर रहेको यस फिल्मका एसोसिएट निर्देशक दीपक वली छन् ।