महामारीमा फुटपाथ व्यापारीको दुख: जीवन धान्नै धौ-धौ
काठमाडौँ: “५ सयमा दुई जोर सुरुवाल, आउनुहोस् आउनुहोस् ! सस्तोमा मिलाएर लैजानूस् !” काभ्रेकी सानुमाया श्रेष्ठ दिउँसो २ बजेबाट यसै गरी चर्को स्वरमा ग्राहकलाई बोलाउने गर्छिन् ।
ग्वार्को चोकभित्र पुल नजिकै खाली जमिनमा उभिएरै सानुमाया कपडा बिक्री गर्छिन् । विवाहपछि गृहिणी बनेकी श्रेष्ठ कोरोना महामारीमा श्रीमानको काम रोकिएपछि व्यापार गर्न फुटपाथमा आइपुगेकी हुन् ।
४० हजार ऋण लिएर व्यापार सुरु गरेकी उनी काठमाडौँमा बस्न थालेको १० वर्ष भयो । सानुमायाका श्रीमान मूर्ति कुद्ने काम गर्थे । उनी चाहिँ बच्चाको हेरचाहमै व्यस्त हुन्थिन्। देशव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले लकडाउन जारी गरेपछि सानुमायाका श्रीमानको काम भने बन्द भयो ।
जसकारण सानुमाया यो व्यवसाय गर्न फुटपाथ आइपुगेकी हुन् । सुरुमा व्यापार गर्न अप्ठ्यारो लाग्ने रहेछ । तर अरु विकल्प नभएपछि फुटपाथमा व्यपार गर्न आउनु परेको सानुमाया सुनाउँछिन् । उनले यसरी व्यापार सुरु गरेको पनि झण्डै एक वर्ष भयो ।
'तर सोचे जस्तो नाफा भने नहुने रहेछ । फुटपाथ व्यापारमा पनि प्रतिस्पर्धा हुने रहेछ । प्रतिष्पर्धा त एउटा कुरा महानगरले नै धेरै दुख दिन्छ । हामी सानो व्यवसाय गर्नेहरुलाई काम गरेर खान पनि दिँदैन,' सानुमाया भन्छिन्, 'राम्रो व्यापार भए पनि कतिबेला महानगर पुलिस आउला भन्ने डर भइरहन्छ ।'
महामारीका बीच उनको आम्दानी पनि सोचे जस्तो छैन । दिनहुँ ३ सय नाफामै चित्त बुझाउनु परेको छ । बिहान ४ बजे होलसेल बजार गएर उनी १० बजे सामान किनेर ल्याउँछिन् । तैपनि नाफा थोरै नाफाका लागि यति धेरै दुख गर्न उनलाई सजिलो छैन । 'महानगर प्रहरीले सटरमा व्यापार राख्नू भनेर फुटपाथबाट लखेटिरहन्छ । सटरमा पसल राख्नलाई त भाडा पनि महंगै हुन्छ नि' सानुमायाको दुखेसो छ ।
सर्लाहीका रामनाथ रामले फुटपाथमा जुत्ता सिलाउने पेशा गर्न थालेको झण्डै २० वर्ष भयो । परिवारलाई गाउँमै छाडेर उनी भने गुजारा चलाउन काठमाडौँमै छन् । १ हजार लगानी गरेर जुत्ता सिलाउने पेशा गरेका उनले सुरुमा त मधेसी भनेर धेरैको अपमान सहनुपर्यो । १० रुपैयाँमा पनि बार्गेनिङ गर्ने ग्राहकको व्यवहारले उनलाई धेरै निराश पनि बनाउँथ्यो ।
तर एउटै पेशामा नियमित संघर्ष गर्दा गुजारा चलाउनसम्म पुगेको उनको अनुभव छ । गाउँमा खेतबारी नहुँदा ५ जनाको परिवार रामनाथकै आम्दानीमा निर्भर हुनु परेको छ । कोरोनाको कारण व्यापार व्यवसाय पनि बन्द भएपछि उनी गाउँ गएका थिए । पछिल्लो समय लकडाउन खुलेपछि काठमाडौँ आएको भने एक महिना भयो ।
तैपनि स्कुल, कलेज र अन्य कार्यालय पनि बन्द भएकाले उनको व्यवसाय राम्ररी फस्टाउन सकिरहेको छैन । अहिले त उनी घाटामै चल्नुपरेको अनुभव सुनाउँछन् । दिनमा हजार १२ सय आम्दानी गर्ने रामनाथलाई अहिले २/३ सय कमाउन पनि मुस्किल छ ।
'कोठा भाडा नै चार हजार तिर्नुपर्छ । अहिलेको कमाइले त बिहान बेलुका छार्क टार्न नै ठीक्क छ' रामनाथले भने । कोरोना नहुँदा महिनामा ३० हजार कमाउने रामनाथले अहिले १० हजार कमाउन पनि सकेका छैनन् । त्यसैमाथि भीडभाड गरेको भनेर प्रहरीले समेत व्यापार गर्न नदिने गुनासो गर्छन् उनी।
भारतको मोतीहारीबाट १० वर्षअघि नेपालको राजधानी छिरेका मदन साहको पनि महामारीमा यस्तै दुख छ । ३० वर्षको उमेरमा नेपाल आएका मदनले चटपट र पानीपुरी व्यापार सुरु गरे ।
२ हजार लगानीमा फुटपाथमा पानीपुरी बेच्न थालेका उनी महामारीअघि महिनामा २० हजार बचाउँथे । त्यति आम्दानीले परिवारको खर्च पनि चलेकै थियो । तर कोरोनाले उनको चटपट व्यापार चौपट बनाइदियो । व्यापारमा आधाभन्दा बढी घाटा लागेको पीडा सुनाउँछन् उनी ।
महामारीका कारण दशौँ हजार यस्तै साना व्यवसायीहरुको पेशा प्रभावित बनेको छ । फुटपाथमा व्यापार गरेरै गुजारा चलाउनेहरुको पेशा नै धरापमा परेको उनीहरुको गुनासो छ । सरकारले भने यस्ता साना व्यवसायीका लागि राहत सहयोग दिन सकेन । काठमाडौँ महानगरपालिकाले भने यस्ता व्यापारीलाई प्रतिबन्ध नै लगाएको छ । जसले गर्दा व्यवसायीहरु दैनिक गुजारा चलाउनै मुस्किल भएको गुनासो गर्न थालेका छन् ।
ठूला सपिङ मल खुला गराएर फुटपाथ व्यापार बन्द गराएकोमा सरकार आफूहरुप्रति पूर्वाग्रही बनेको साना व्यवसायीहरुको गुनासो छ । गर्ने अधिकांश व्यापारीहरु स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित रुपमा आफूहरुले पनि व्यापार गर्न पाउनुपर्ने माग गर्दैआएका छन् ।