मुस्ताङको घरपझोङ रिङरोड सडक विस्तार धमाधम (फोटो फिचर)
जोमसोम : मुस्ताङको घरपझोङ गाउँपालिकाअन्तर्गतका ५ वटै वडा जोड्ने रिङरोड सडक स्तरोन्नति अहिले धमाधम सुरु भएको छ । गण्डकी प्रदेश सरकारको 'एक निर्वाचन क्षेत्र एक रणनितिक महत्वको सडक'अन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ र तल्लो मुस्ताङको घरपझोङ गापामा दुई वटा रिङरोड सडक स्तरोन्नति भईरहेको छ।
जोमसोम देखि धार्मिक, सांस्कृतिक, कृषि र पर्यटकीय सम्भावना बोकेको ठिनी, ढुम्बाताल, छैरो, चिमाङ, मार्फा स्याङ गरी थाक ५ गाउँलाई जोड्ने ११ किमी सडक स्तरोन्नति भईरहेको छ । सम्झौता अवधि २ वर्ष रहेको घरपझोङ रिङरोड सडक स्तरोन्नति २०७६ साल असार २६ गतेदेखि सुरु गरिएको थियो ।
घरपझोङ रिङरोडको सम्झौता अवधि असार २६ गते सकेकाे हाे । तर भौतिक प्रगती भने २५ प्रतिशत मात्र भएको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ । कार्यालयका अनुसार बहुवर्षिय सडक आयोजनाअन्तर्गत घरपझोङ रिङरोड सडकको कुल लागत २१ करोड ४३ लाख छ । रिङरोडको ५ किमी दुरीको ढुम्बातालसम्म कालोपत्रे गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालय मुस्ताङका सूचना अधिकारी रविन चोख्यालले जानकारी दिए ।
पूर्वाधार विकास कार्यालय मुस्ताङले चालु आर्थिक वर्षभित्रै सडक निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कम्पनीलाई कार्यक्षेत्रमा परिचालन गरिएको उल्लेख गरेको छ । घरपझोङ रिङरोड सडकको सम्झौता अवधि सकिएकाले कार्यालयले म्याद थपको प्रक्रिया अघि बढाउन गत असार २५ गते प्रदेश सरकारलाई प्रस्ताव पेश गरेको छ ।
चालु आर्थिक वर्ष प्रदेश सरकारबाट घरपझोङ रिङरोडका लागि ३ करोड २५ लाख बिनियोजन भएको र नपुग थप बजेट प्रदेश सरकारमा माग गरिएको पूर्वाधार विकास कार्यालयको भनाई छ ।
घरपझोङ रिङरोड सडक स्तरोन्नतिको काम जलजला निर्माण सेवाले लिएको हो । गण्डकी प्रदेश सरकारको बहुवर्षिय योजनाअन्तर्गत सुरुवाती आर्थिक वर्ष २०७६-०७७ सालमा ५ करोड बजेट बिनियोजन गरिएको थियो। सो आर्थिक वर्ष कोरोना माहामारीका कारण रिङरोड सडकको ५ करोड बजेटमध्ये ३ करोड १४ लाख बजेट काम हुन नसकी फ्रिज भएको थियो ।
यस्तै, कोरोना कहरको दोश्रो आर्थिक वर्षमा भने रिङरोड सडकको सतप्रतिशत काम सम्पन्न भएको छ । सो वर्ष प्रदेश सरकारमार्फत बिनियोजित ३ करोड ८० लाख बजेट मध्ये ३ करोड ७६ लाख खर्च भएको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ ।
घरपझोङ रिङरोड कन्ट्रक्सनका साईट ईञ्चार्ज भुपराज खनालले सुरुवाती चरणको पहिलो वर्षमा कोरोना कहरको कारण काम हुन नसकेको बताए । उनले दोश्रो वर्ष सडक स्तरोन्नतिको काम भएको र बाँकी काम कन्ट्रक्सनले चालु आर्थिक वर्षभित्रै सक्नेगरी जनशक्ति र उपकरण कार्यक्षेत्रमा खटाईएको समेत बताए । उनका अनुसार रिङरोडको काममा आधा दर्जन उपकरण र १ सय ५० जना भन्दा बढी जनशक्ति परिचालन गरिएको छ ।
मुस्ताङको घरपझोङ रिङरोड सडक स्तरोन्नति सुरु गर्नुअघि साविक जिल्ला विकास समितिले जोमसोम ,ठिनी, ढुम्बाताल सम्म कच्ची सडक विस्तार गरेको थियो । सोही सडकलाई स्तरोन्नति गर्दै सडक चौडा गर्ने,ग्रेड मिलान गर्ने र सडक बेसका लागि ग्याबिन वाल लगाउने लगायतको काम भईरहेको छ ।
यस्तै रिङरोड सडकअन्तर्गत निर्माण कम्पनीले ६ किमी सडकमा नयाँ ट्याक खोल्ने काम गरिरहेको छ । जसअन्तर्गत घरपझोङ गापा मार्फाको कालगण्डकी पारीको भिरालो सतहमा करिव २ सय मिटर रक कटिङ गरी सडक ट्याक खोल्न बाँकी रहेको जनाईएको छ ।
रिङरोड सडक बिस्तारपछि थाक ५ गाउँअन्तर्गत, ठिनी, ढुम्बा, छैरो र चिमाङका स्थानीय किसान प्रत्यक्ष लाभान्वित हुने बताईएको छ । सो क्षेत्रका स्थानीय किसानले सडक पहुँच जोडिएमा स्थानीय कृषि उपजको बजारिकणमा सहज हुने बताईएको छ ।